
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग सम्बन्धित भनिएको अडियो प्रकरणको छानबिनको माग गरेको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपाका सांसद सुमना श्रेष्ठले मन्त्री गुप्तामाथि उठेको अडियो काण्ड गम्भीर भएको भन्दै छानबिनको माग राखिन् ।
‘मन्त्रिमण्डलको अर्को काण्ड कास्कीको मालपोत कार्यालयमा कसलाई पठाउने भन्ने सेटिङ, जिल्लाको भूमि आयोगमा सेटिङ, भूमि विधेयकलाई फास्ट ट्रयाकबाट पास गराउन खोजिएको कुरा तपाईंहरूले बुझ्नु भएकै छ होला,’ श्रेष्ठले भनिन्, ‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन, एउटा मन्त्रीले अर्को मन्त्रीलाई नै पोलेको अवस्था छ। यसको निष्पक्ष छानबिन हुनुपर्छ।’
श्रेष्ठले अडियोमा उल्लेख गरिएका प्रसङ्गप्रति प्रश्न उठाउँदै भनिन्, ‘अडियोमा भनिएको ‘बा’ को हुन्? ‘दुई तिहाइ’ भन्नुको अर्थ के हो- मिलिजुली भाग खानलाई हो? यो कुन संस्कार हो? कस्को तागत चलिरहेको हो? वर्षौंदेखि के फरक आयो? जनताले के पाए?’
उनले सत्ता संरचनाभित्र गम्भीर सेटिङको संकेत गर्दै त्यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्नुपर्ने आवश्यकता औंल्याइन् ।








प्रतिक्रिया