चाडपर्वको मुखमा चीनसँगका दुवै नाका ध्वस्त: आयाततर्फ कम्तिमा दुई अर्बको क्षति

७० प्रतिशतभन्दा बढी रसुवा नाकामार्फत चीनसँग व्यापार

1.3k
Shares

काठमाडौं । भूकम्पपछि तातोपानी नाकाको बिकल्पमा गुलजार बनेको रसुवा नाकाको आर्थिक गति उत्सर्गमा पुग्न नपाउँदै मंगलबार आएको भीषण बाढीले तहस नहस पार्‍यो।

चाडपर्वको मुखमा रसुवा नाका ध्वस्त हुँदा यो वर्ष नेपालीको चाडवाड खल्लो हुनुका साथै चीनबाट आयात हुने उपभोग्य वस्तु तुलनात्मक रुपमा महँगोमा खरिद गर्नुपर्ने अवस्था बनेको छ । बाढी आउनुअघि कन्टेनर कार्गोमा लोड भएका र बाटोमा भएका अधिकांश सामान चाडपर्व लक्षित थियो ।

पछिल्लो समयमा तातोपानी नाकाको तुलनामा झण्डै दोब्बर परिमाणमा आयात निर्यात हुने यो नाका एक पटक फेरी प्राकृतिक चपेटाको कारण तहसनहस भएको छ ।

पछिल्लो समयमा नेपाल–चीनबीच हुने कूल द्विपक्षीय व्यापारमध्ये झण्डै ७० प्रतिशतभन्दा बढी रसुवा नाकामार्फत भइरहेको थियो ।

मंगलबार बिहान तिब्बतको ल्हेन्दे खोलामा आएको बाढीले रसुवाको केरुङ नाका ध्वस्त मात्रै होइन, चीनसँग आयात निर्यात हुने बाटो मात्र होइन नेपाल-चीनबीचको मितेरी पुलसमेत बाढीले बगाएको छ । यस्तै निर्माणको अन्तिम चरणमा पुगेको टिमुरेस्थित सुक्खा बन्दरगाहको भौतिक संरचनामा पनि ६० प्रतिशत क्षति पुगेको छ ।

अब फेरी पहिलेकै हाराहारीमा यो क्षेत्र चलायमान र गुलजार बन्न केही वर्ष कुर्नै पर्ने बाध्यता आएको छ । नेपाल–चीन सीमा जोड्ने मितेरी पुल र बाटोसमेत बाढीको भेलले बगाएको थियो ।

यसले गर्दा यो रुट पूर्णरुपमा तत्कालका लागि सम्पर्क विच्छेद भएको छ । चिनियाँ सरकारले उक्त पुल र सडक निर्माण नगर्दासम्म र नेपालतर्फको क्षतिग्रस्त सडक, पार्किङ्ग स्थल र अन्य भौतिक पूर्वाधार निर्माण नहुँदासम्म सहजरुपमा यो नाका सञ्चालन हुने अवस्था नरहेको व्यवसायीहरुले औल्याएका छन् ।

चीनसँग सम्पर्क बिच्छेद भएको यो व्यापारिक मार्गका कारण सबैभन्दा ठूलो घाटा व्यापारीहरुलाई भएको छ, जसले चीनसँग द्विपक्षीय व्यापार गर्दैआएका थिए र नेपालको बजार चलायमान बनाउन ठूलो सहयोग गर्दैआएका थिए ।

हिमालय सीमापार व्यापार संघका पूर्व अध्यक्ष अशोक श्रेष्ठले रसुवा नाका क्षतिग्रस्त हुँदा व्यवसायीले ठूलो क्षति व्यहोर्न बाध्य भएको जानकारी दिए । रसुवा नाकामार्फत विस्तारै बजार चलायमान र गुलजारमय बनिरहेको अवस्थामा सोमबार बिहान आएको बाढीले व्यवसायीमाथी ठूलो बज्रपात परेको उनले जानकारी दिए ।

चाडपर्वलाई लक्षित गरेर मालसामान आइरहेको समयमा बाढीका कारण करिब डेढ अर्बभन्दा बढी मूल्यबराबरको क्षति व्यवसायीले व्यहोर्न बाध्य भएको उनको भनाइ छ ।

उनका अनुसार तातोपानी नाकाको बैकल्पिक मार्ग बनेको रसुवा नाका मालसामान ओसारपसारको लागि मात्रै उपयुक्त मार्ग थिएन । पछिल्लो समयमा यो मार्ग कैलाश मानसरोवर जाने तिर्थालुका लागि पनि यो मार्ग निक्कै लोकप्रिय बनेको थियो ।

उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका अनुसार तातोपानी नाकातर्फको भौगौलिक अवस्था उपयुक्त नभएकाले स–सानो वर्षात हुँदा पहिरो गएर बाटो अवरुद्ध भइरहने भएकाले चीनसँग द्विपक्षीय व्यापारको लागि सबैभन्दा भरपर्दो र सुरक्षित नाकाको रुपमा रसुवालाई मानिएको थियो ।

रसुवा नाका क्षतिग्रस्त बनिरहँदा बैकल्पिक नाकाको रुपमा देखिएको तातोपानी नाकासमेत बिहिबार बिहानदेखि अवरुद्ध भएको छ । यो नाकासमेत अवरुद्ध हुँदा व्यापारीलाई थप पीडा थपिएको छ ।

भोटेकोशी गाउँपालिका–२ स्थित इकु भन्ने स्थानमा पहिरो खसेर अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

माथिबाट पहिरो खसेको र सडक तलपट्टी भोटेकोशी नदीले कटान गरेकाले सडक पूर्ण रूपमा भासिएको छ । तलपट्टि माटो थेग्ने पर्खाल नहुँदा सडक खुलाउन समस्या भएको प्रशासनको भनाइ छ ।

सडक बन्द भएपछि तातोपानी नाका हुँदै काठमाडौं जान लागेका मालबाहक कन्टेनरहरू भन्सार क्षेत्रमै रोकिएका छन् भने यात्रुबाहक बस, एम्बुलेन्स र अन्य सवारीसाधन समेत बीच बाटोमै रोकिएका छन् ।

‘व्यवसायीहरुले चाडपर्वको मुखमा ठूलो क्षति व्यहोर्न बाध्य भएका छन्, बाढीका कारण कतिपय व्यवसायी उठ्नै नसक्ने गरी ढल्नुभएको छ, हाम्रो लागि यो निक्कै ठूलो अपुरणीय क्षति हो, रसुवाको विकल्पमा तातोपानी नाकाले यो क्षतिलाई न्यूनीकरण गर्न सक्दैन,’ क्लिकमान्डुसँग श्रेष्ठले भने,‘पहिरो गएर अरनिको राजमार्ग अवरुद्ध हुँदा कन्टेनरमा लोड भइसकेका मालसामान नेपाल ल्याउन तत्कालको लागि सम्भव देख्दिन ।’

रसुवाको विकल्पमा तत्कालका लागि देखिएको तातोपानी नाकाको सम्पर्क मार्ग अरनिको राजमार्गको पहिरो पन्छाउन सरकारले तत्कालै पहल गर्नुपर्ने उनको सुझाव छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख विपिन आचार्यकाअनुसार पहिलो चरणमा बाढीका कारण भएको क्षतिलाई दृष्टिगत गरि पहिलो चरणमा उद्धार कार्यलाई अघि बढाइएको छ । त्यसपछि दोस्रो चरणमा नाका सुचारुको बिषयलाई अघि बढाइएको छ ।

जसअनुसार नेपाल–चीन सम्पर्क पुन सुरू गर्नका लागि तत्कालीन उपायतर्फ रसुवास्थित चीनको सीमातर्फको मितेरी पुलको बैकल्पिक उपायका साथै क्षतिग्रस्त सडक पुनर्निमार्णको लागि चिनियाँ पक्षसँग कुटनीतिक रुपमा छलफल भइरहेको जानकारी दिए।

‘दुई मुलुकबीचको सडकमार्ग हुने सम्पर्कको रुपमा भरपर्दो माध्यम रसुवा नाका थियो, यो नाका नै सम्पर्क विच्छेद भएपनि व्यापारिक रुपमा ठूलो नोक्सानी भएको छ,’ आचार्यले भने,‘बैकल्पिक उपायहरु अपनाएर सकेसम्म चाँडै सम्पर्क मार्ग तयार गरी सडक सुचारु गर्ने बिषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृहमन्त्रालयबीच छलफल हुनुका साथै चीनियाँ पक्षसँग पनि कुटनीतिक रुपमा छलफल भइरहेको छ ।’

मन्त्रालयका अनुसार चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा २०७७ सालमा मितेरी पुलको पुर्ननिर्माण भएको थियो ।

कम्तिमा दुई अर्बको क्षति

बाढीले आयततर्फमात्र कम्तिमा दुई अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

श्रेष्ठका अनुसार अहिलेसम्म २५ देखि ३० कन्टेनर हराएको र क्षतविक्षत भएको छ । कन्टेनरको मात्रै मूल्य जोड्दा करिब २५ करोड हुन आउँछ ।

त्यसपछि सानो ट्रक पनि हराएको र केहि क्षत विक्षत अवस्थामा पुगेका छन्, यसको खर्च पनि न्यूनतम ५ करोड हुन आउँछ । त्यसपछि ति कन्टेनरमा राखिएका सामानहरुको मूल्य पनि राखेर हेर्दा समग्रमा डेढ अर्बभन्दा बढी मूल्यबराबरको क्षति भएको उनको प्रारम्भिक अनुमान छ । त्यस्तै बन्दरगाहमा रहेका ३५ वटा नयाँ विद्युतीय सवारीसाधनसमेत बाढीले बगाएको छ । यसको कम्तिमा १३ करोड रुपैयाँ पर्न जान्छ ।

अधिकांश कन्टेनर र ट्रकमा चाडपर्वलाई लक्षित गरी रेडिमेड लत्ताकपडा, जुत्ता, फलफूलका साथै मेसिनरी उपकरणलगायतका सामग्रीहरु थिए । कन्टेनर र ट्रकहरु डुवानमा पर्दा त्यसभित्र रहेका मालसामानसमेत बिग्रेर नष्ट भएको उनको भनाइ छ ।

क्षतिको यो विवरण प्रारम्भिक मात्रै हो । नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्व अध्यक्ष नरेश कटुवालकाअनुसार रसुवा नाकामार्फत चीनसँग द्विपक्षीय कारोबार गर्दैआएका व्यवसायी, कन्टेनर र ट्रक सञ्चालकहरुको बुधबार बसेको बैठकले बाढीबाट मानवीय र आर्थिक रुपमा व्यहोरेको क्षतिको बारेमा विवरण संकलन गर्ने निर्णय गरेका छन् ।

‘रसुवा नाकामार्फत चीनसँग द्विपक्षीय कारोबार गर्र्दैआएका हामी व्यवसायी, कन्टेनर, ट्रक व्यवसायी र अन्य सरोकारवाला निकायले बाढीका कारण के कति क्षति भयो, त्यो बिषयमा विस्तृत रुपमा जानकारी लिन सम्पूर्ण विवरण संकलन गर्ने बिषयलाई टुङ्गो लगाएका छौं,’ क्लिकमाण्डुसँग कुरा गर्दै उनले भने,‘बिहिबारदेखि हामी जति सक्छौं विवरण संकलन गर्न लागेका छौं ।’

कटुवालले पनि चाडपर्वको मुखमा आएको यो बाढीका कारण व्यवसायीहरुको मुखको गाँसको माध्यम नै खोसिएको जानकारी दिए । उनका अनुसार अधिकाँश व्यवसायी बैंकबाट ऋण उठाएर चीनबाट सामान ल्याउने गर्छन । यसरी आइपुगेर बाढिले बगाएको र डुवानमा परेर बिग्रिएको सामानका कारण व्यवसायीलाई ठूलो घाटा एको छ ।

‘बजारमा सामान जानुअगावै बाढीले बगाउँदा अब बैंकबाट लिइएको ऋणको व्याज र साँबा कसरी तिर्ने बिषयमा व्यवसायीहरुबीच ठूलो समस्या आइपरेको छ,’ कटुवालले भने,‘बीमा पनि सबै व्यवसायीहरुले गरेका हुँदैनन, ठूलो पूँजी भएका केहि व्यवसायीले बीमा गरेपनि अधिकाँश साना व्यवसायीहरुले बीमा गरेका हुँदैनन । यसले गर्दा व्यवसायीहरु झन मारमा परेका छन् ।’

बाढीले चीनको सीमातर्फ मितेरी पुलका साथै सडकको ट्रयाकसहित नेपालतर्फको थुप्रै सडक खण्डहरु क्षतविक्षत बनाएको उनको भनाई छ । कटुवालका अनुसार रसुवादेखि स्याफ्रुबेंसी सडक खण्डको एक दर्जन बढी स्थानमा सडक भत्केका छन ।

सरकारले तत्कालै माटो र ढुङ्गाले पुरिएका सडक खण्डहरु क्लियर गरेर अल्पकालिन र दीर्घकालिन रुपमा सडक तथा नाका सुचारु गराउन आवश्यक पहल गर्नुपर्ने उनको सुझाव छ ।

कटुवालका अनुसार नेपाल–चीनबीच भएको एक सहमतिअनुसार सन् २०१७ मा रसुवा नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरिएको थियो । त्यसपछि तातोपानी नाकाको बिकल्पमा यो नाकामा द्विपक्षीय आर्थिक गतिविधी अत्यधिक बढेको थियो ।

ल्हासा बाणिज्यदूतले भने: दुई सय पर्यटक नेपाल फर्काइयो, बाटो सुचारु गर्न वैकल्पिक उपाय खोजिँदै

चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले रसुवा नाकामा आएको बाढीका कारण भएको मानवीय क्षतिलाई बिचार गरी पहिलो चरणमा उद्धार कार्यलाई प्राथमिकतामा राखेर चीनियाँ सरकारको सहयोगमा उद्धार गर्ने काम भइरहेको टेलिफोनमार्फत क्लिकमान्डुलाईलाई जानकारी दिए ।

उनका अनुसार उद्धार कार्यअन्तर्गत पहिलो चरणमा रसुवा नाकामार्फत कैलाश मानसरोबर घुम्न गएका २२ नेपालीसहित भारतीय र अन्य मुलुकका २ सय पर्यटकलाई चीनको विभिन्न स्थानबाट उद्दार गरी तातोपानी नाकातर्फ पठाइएको छ ।

‘उनीहरु चीनको क्षेत्रमा छिर्दा रसुवा नाकामार्फत रुट परमिट लिएर त्यही रुटबाट फर्किने अनुमति लिएका थिए, तर रसुवा नाका क्षतिग्रस्त भएपछि रुट परिवर्तन गरी तातोपानी नाका बनाएर नेपालीसहित अन्य मुलुकका २ सय पर्यटकलाई त्यहि रुटबाट फर्काउने व्यवस्था गरेर फर्काएका छौं,’ महावाणिज्यदूत निरौलाले भने ।

यस्तै रसुवा नाका अवरुद्ध हुँदा कन्टेनरसहित चीनको विभिन्न सडक खण्डमा करिब ८० देखि ९० जना नेपाली चालक, सहचालक र कामदारहरु अलपत्र परेका थिए । उनीहरुलाई पनि उद्धार गरी चीनको राम्रो होटेलमा बस्ने सुविधा उपलब्ध गराइएको छ ।

‘उहाँहरु अहिले यतै बस्न इच्छा देखाउनु भएकाले यतै सुरक्षित रुपमा बस्नु भएको छ, नेपाल फर्कन इच्छा देखाउनु भएमा तातोपानी नाकामार्फत रिरुट गरेर फर्काउने व्यवस्था गर्दैछौं ।’

महावाणिज्यदूत निरौलाका अनुसार रसुवाको विकल्पमा तातोपानी नाका भएपनि कोदारी राजमार्ग, अरनिको राजमार्ग, तातोपानी भन्सार र मितेरी पुल वरपर स सानो बर्षाका कारण पनि पहिरो जाने र सडकको जगबाटै बाटो वग्ने समस्या आइरहेकाले यो बाटोसमेत तत्कालका लागि भरपर्दो र सुरक्षित छैनन् ।

अर्कोतर्फ केरुङ्ग–रसुवा रुटबाट सहज रुपमा जाने ठूलो क्षमताको कन्टेनर कार्गो तातोपानी नाकाबाट जान नसक्ने अवस्था भएकाले द्विपक्षीय व्यापारका लागि एकमात्र उपयुक्त रुट रसुवा मात्रै छ । यो रुट सुचारु गर्नका लागि प्रधानमन्त्री केपी ओलीले कुटनीतिक रुपमा चीनियाँ पक्षसँग छलफल गरिरहेको ल्हासास्थित नेपाली महावाणिज्यदूत कार्यालयले जनाएको छ ।

एक उच्च अधिकारीका अनुसार रसुवास्थित मितेरी पुलमा तत्कालै पक्की पुल निर्माण गर्न निक्कै समय लाग्ने भएकाले दुवै मुलुकबीच सम्पर्क जोड्नका लागि बेलिब्रीज तत्काल जडान गर्ने बिषय करिब अन्तिममा पुगेको छ ।

‘भौगोलिक र प्राकृतिक प्रकोपका कारण तातोपानी नाका निक्कै असहज भएकाले रसुवा नाकालाई पुनः तत्कालै सञ्चालनमा ल्याउन चीन सरकार पनि साकारात्मक भएको छ, नेपाल सरकारले पनि त्यहाँ बेलिब्रीज जडान गरेर सञ्चालन गर्नुपर्ने भनेर कुटनीतिक रुपमा पहल गरेकाले चीनले सकेसम्म चाँडै त्यहाँ बेलिब्रीज निर्माण गर्ने प्रक्रिया अघि बढाउने गृहकार्यमा जुटेको जानकारी प्राप्त भएको छ,’ ति अधिकारीले भने ।

रिरुट कतिको सहज ?

रसुवा नाकास्थित मितेरी पुल बाढीले बगाउँदा केरुङ्ग रुटबाट आइरहेका सयौं संख्याका कन्टेनर कार्गो अहिले अलपत्र परेका छन् । उता बिहिबार बिहान कोदारी राजमार्गमा आएको पहिरोका कारण तातोपानी नाकामार्फत पनि सामान ओहोरदोहर गर्न समस्या खडा भएको छ ।

हिमालय सीमापार व्यापार संघका पूर्वअध्यक्ष अशोक श्रेष्ठका अनुसार रसुवामा आएको बाढीका कारण मितेरी पुल बगेपछि रसुवा जाने क्रममा अलपत्र परेका कन्टेनर कार्गो चीनको विभिन्न सडक खण्डमा अलपत्र परेका छन् ।

मालसामानसहितको ति कन्टेनर कार्गोलाई नेपाल पुर्याउनका लागि रिरुट गरेर तत्कालका लागि तातोपानी नाका भएपनि चीनको खासा सडक खण्ड पनि अहिले क्षतिग्रस्त बनेको छ । खासाबजारमाथि भएको कुदी(न्यालम) भन्ने स्थानमा खोलाले बाटो वगालेर लगेको हुँदा त्यो अलपत्र परेका कन्टेनर कार्गोलाई तातोपानी नाका ल्याउन ठूलो कठिनाई भएको जानकारी दिए ।

कुदीस्थित खोलामा आएको बाढीले बाटो बगाउनुका साथै पहिरोसमेत परेको छ । यो स्थानमा करिब तीन चारदेखि अवरुद्ध भएको छ । यो बाटो पुनः सुचारु भएपनि ठूलो कन्टेनर कार्गो तातोपानी नाका ल्याउन कठिनाई हुने उनले जानकारी दिए ।

‘तर केरुङ्गबाट रिरुट गरेर अलपत्र परेका सबै कन्टेनर कार्गो ल्याउन ढुवानी लागत खर्च निक्कै बढ्छ, यसरी हेर्दा प्रति किलोमिटरमा ६० देखि एक सय रुपैयाँसम्म लागत खर्च बढ्न जान्छ,’ श्रेष्ठले भने,‘यसरी रिरुट भएर आउने सामानको मूल्य पनि बढ्ने अत्यधिक सम्भावना छ । यो वर्ष चाडपर्वको मुखमा आइपुग्ने यो सामानको मूल्य तुलनात्मक रुपमा केहि बढ्न सक्छ ।’

तातोपानीभन्दा रसुवा नाकाबाट बढी व्यापार

पछिल्लो समयमा तातोपानी नाकाको तुलनामा रसुवा नाकामार्फत बढी द्विपक्षीय व्यापार भएको पाइएको छ ।

चालु आर्थिक वर्षको एघार महिनाको तथ्याँकअनुसार तातोपानी नाकाको तुलनामा झण्डै दोब्बर रुपैयाँबराबरको मालसामान रसुवा नाकाबाट नेपालमा भित्रिएको थियो । यस्तै यो एघार महिनामा तातोपानी नाकाबाट नेपालबाट निर्यात शून्य हुँदा रसुवा नाकाबाट भने थोरै भएपनि निर्यात भएको पाइएको छ ।

चालु आर्थिक वर्षको एघार महिनामा रसुवा नाकामार्फत ८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँबराबरको विभिन्न मालसामान चीनबाट आयात भएको छ भने १ अर्ब ९६ करोड १४ लाख रुपैयाँबराबरको विभिन्न सामान नेपालबाट चीनमा निर्यात भएको छ ।

यहि अवधिमा तातोपानी नाकाबाट भने ४६ अर्ब ८९ करोड ३५ लाख रुपैयाँबराबरको विभिन्न सामान भित्रिँदा नेपालबाट भने त्यो नाकामार्फत एक रुपैयाँबराबरको पनि वस्तु निर्यात भएको छैन ।