नेपालले ९ हजार बढी वस्तुमा शून्य भन्सार सुविधा पाए पनि किन बढेन चीनमा निर्यात ?

770
Shares

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई निर्यातका लागि ९ हजार ३० वटा नेपाली वस्तुलाई शून्य भन्सार दरको सुविधा उपलब्ध गराएको छ ।

चीनले नेपाललाई २०६३ सालदेखि यस्तो सुविधा दिन सुरु गरेको थियो । यो क्रममा २०७२ मंसिर २४ देखि चीनले तेस्रो पटक सुविधा थप गर्दै नेपालबाट त्यो मुलुकमा निर्यात हुने ९०३० वटा वस्तुमा शून्य भन्सार दरको सुविधा उपलब्ध गराएको थियो ।

चीनले पहिलो पटक २०६३ सालमा ४ हजार ७ सय २१ वटा नेपाली वस्तुहरुलाई शून्य भन्सार दरमा आफ्नो मुलुक प्रवेशको सुविधा दिएको थियो । त्यसपछि २०६७ सालमा संख्या थप गरी त्यो संख्या ७ हजार ७ सय ८७ पुर्‍याएको थियो ।

यसवाहेक नेपाल र चीनबीच २०७२ चैतमा भएको पारवहन सम्झौता र यातायात तथा पारवहन प्रोटोकल सम्झौताका बाबजुद पनि नेपालले निर्यातजन्य व्यापारमा लाभ लिन सकेको छैन । यस्ता सम्झौतालाई अक्षरश पालना गर्न ति दुवै मुलुक कुटनीतिक रुपमा अग्रसर नहुँदा त्यसको प्रभाव पछिल्लो समयमा द्विपक्षीय व्यापारमा परेको व्यापार विज्ञहरुको भनाइ छ ।

यो सम्झौताअनुसार नेपाल र चीनबीच ६ नाकाबाट व्यापार हुने उल्लेख गरिएको थियो । तातोपानी, केरुङ, किमाथांका, कोरला, यारी र ओलाङचुङगोला नाका प्रयोगमा ल्याउने सहमति भए पनि हालसम्म तुलनात्मक रुपमा तातोपानी र केरुङ (रसुवा) बाट मात्रै झिनो रुपमा आयात निर्यात भइरहेको छ ।

नेपाल–चीन सीमा सन्धिदेखि लिएर, बीआरआई, पारवहन, जलविद्युत, केनेक्टीभिटी, यातायात, काल संस्कृति, खेलकुद, कृषिलगायत विभिन्न सम्झौता भए पनि सरकारको कार्यान्वयन पक्ष फितलो भएका कारण ति सन्धि सम्झौताअनुसार नेपालले लाभ लिन नसकेको व्यापार बिज्ञहरुले औल्याएका छन् ।

नेपालबाट चीनले घाँस र अम्लिय जातको फलफूल(जुनार, कागतीलगायत) लैजाने भन्ने सम्झौता भएको बर्षौं बित्दा पनि कार्यान्वयनमा आएको छैन ।

पछिल्लो समयमा चीनले नेपालबाट प्रसोस्ड कुक्ड बफेलो मिट लाने भनेर पनि सम्झौता गरेको छ । पहिले नै भएका सम्झौता कार्यान्वनयमा आउन नसकेको अवस्थामा पछिल्लो समयमा सम्झौता कार्यान्वनयमा आउने विषयमा विज्ञहरुले आशंका व्यक्त गरेका छन् ।

पेस्टीसाइड र रोगकिराको संक्रमण नेपालको कृषिजन्य वस्तुमा अत्यधिक भएकाले चीनले सम्झौता गरेर पनि त्यस्ता वस्तु आफ्नो मुलुकमा लैजान हच्किरहेका छन् । कारण हो, नेपालमा फितलो कार्यान्वयन र अनुगमन ।

कृषि पशुपन्छीजन्य वस्तु निर्यात गर्नका लागि नेपालले हालसम्म पेस्टीसाइड जोन र रोगकिरा मुक्त क्षेत्र घोषणा गरी त्यो अनुसारको पर्याप्त परिमाणमा उत्पादन वृद्धि गर्न चासो नदेखाउँदा नेपालबाट चीनमा कृषि र पशुपन्छीजन्य वस्तुको निर्यातमा पनि ठूलो समस्या आइरहेको छ ।

छिमेकी चीनभन्दा टाढाको मुलुकमा बढी निर्यात

चीनले नेपाललाई विभिन्न प्रकारका सुविधा उपलब्ध गराएपनि नेपालबाट अन्ततः चीनमा हुने निर्यातको दर निक्कै झिनो छ । अर्कोतर्फ पछिल्लो समयमा कुनै सुविधा नपाएको निक्कै टाढाको जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलियालगायतका मुलुकमा निर्यातको हिस्सा बढ्दै गएको पाइएको छ ।

नेपालबाट सबैभन्दा बढी दक्षिणी मुलुक भारतका साथै उत्तरी छिमेकी मुलुक चीनमा निर्यात हुँदै आएकोमा पछिल्लो समयमा यो ट्रेन्ड परिवर्तन हुँदै गएको छ ।

शून्य भन्सार दरको सुविधा पाएको नेपालले चीनमा निर्यात बढाउन नसक्दा निर्यातको सूचीमा पछिल्लो समयमा चीन पाँचौ नम्बरदेखि ८ औं नम्बरमा पर्न लागेको छ ।

पछिल्लो आर्थिक बर्ष २०७६/७७ देखि चालु आर्थिक बर्ष २०८१/८२ सम्मको अवधीमा नेपालबाट निर्यात हुने प्रमुख मुलुकको सूचीमा चीन एक पटक मात्रै दोश्रो नम्बरमा परेको छ । आर्थिक बर्ष २०७८/७९ मा नेपालबाट निर्यात हुने टप टेन मुलुकको सूचीमा चीन दोश्रो नम्बरमा पुगेको थियो ।

त्यसअघि र पछिका बर्षहरुमा भने निर्यात हुने टप टेन मुलुकको सूचीमा चीन ५ औं नम्बरदेखि ८ औं नम्बरमा पुगेको पाइएको छ ।

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मलुक चीनमा नेपालले खाद्यान्नदेखि घरेलु उत्पादनहरु निर्यात गर्दै आएको छ । चीनमा अगरबत्ती, हस्तकला, कपाल, पश्मिना, छाला, औषधि, म्युजिकल उपकरण तथा उपकरण, चाउचाउ, तयारी पोशाक, रुद्राक्ष, चिया, तरकारी, पिठो, उनी गलैंचालगायतका वस्तुहरु निर्यात हुँदै आएको छ ।

नेपालले चालु आर्थिक बर्ष २०८१/८२ को पछिल्लो सात महिनाको अवधीमा करिब साढे १ खर्ब रुपैयाँबराबरको विभिन्न बस्तु निर्यात गरेको छ ।

भन्सार विभागको तथ्याँकअनुसार चालु आर्थिक बर्षको साउनदेखि माघसम्मको अवधीमा नेपालबाट विभिन्न मुलुकमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँबराबरको नेपाली वस्तु निर्यात भएको हो ।

अघिल्लो आर्थिक बर्षको यहि अवधीको तुलनामा पछिल्लो सात महिनामा निर्यात करिब ४६.५० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक बर्षको यहि अवधीमा भने ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको थियो ।

करिब डेढ खर्ब रुपैयाँबराबरको निर्यात हुँदा पनि चालु आर्थिक बर्षको सात महिनामा नेपालले ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

पछिल्लो सात महिनाको आंकडाअनुसार सबैभन्दा बढी भारतमै नेपाली वस्तु निर्यात भएको छ । यस्तै दोश्रोमा अमेरिका, तेश्रोमा जर्मनी, चौथोमा चीन र पाँचौंमा युकेमा नेपाली वस्तु निर्यात भएको छ ।

उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई विभिन्न सुविधा प्रदान गरेपनि पछिल्लो सात महिनाको अवधीमा चीनभन्दा जर्मनीमा बढी वस्तु निर्यात भएको छ ।

भन्सार विभागको तथ्याँकअनुसार नेपालबाट भारतमा ९८ अर्ब रुपैयाँको विभिन्न वस्तु निर्यात भएको छ । यस्तै अमेरिकामा १० अर्ब २९ लाख, जर्मनीमा २ अर्ब ५१ करोड ८४ लाख, चीनमा २ अर्ब १ करोड ४१ लाख र युकेमा १ अर्ब ८७ करोड १५ लाख रुपैयाँबराबरको विभिन्न वस्तु निर्यात भएको हो ।

कुन मुलुकमा के भयो प्रमुख पाँच वस्तुको निर्यात ?

सात महिनाको अवधीमा भारतमा सबैभन्दा बढी ३२ अर्ब ४१ करोड ५७ लाख रुपैयाँबराबरको सोयाविन आयल निर्यात भएको छ ।

यस्तै दोश्रोमा ६ अर्ब ५७ करोड ६७ लाख रुपैयाँबराबरको सनफ्लावर आयल, ५ अर्ब ३८ करोड ८० लाख रुपैयाँको ठूलो अलैंची, ३ अर्ब १० करोड १० लाख रुपैयाँको पोलिस्टर एकल धागो र ३ अर्ब ११ लाख रुपैयाँबराबरको कालो चिया निर्यात भएको छ ।

भारतबाट नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँबराबरको विभिन्न प्रकारको सामान आयात गरेको थियो । भारतसँग मात्रै सात महिनाको अवधीमा नेपालले ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ।

यस्तै अमेरिकामा ३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँबराबरको कार्पेट, १ अर्ब ८३ करोड ३९ लाख रुपैयाँको कुकुर र विरालोले खाने खाना, ९५ करोड रुपैयाँको फेल्ट, ३६ करोड ३३ लाख रुपैयाँको महिलाले लगाउने ट्राउजर र ३१ करोड रुपैयाँबराबरको शल, स्कार्फ र मफलर निर्यात भएको छ ।

अमेरिकाबाट नेपालले सात महिनाको अवधीमा १४ अर्ब ५८ करोड १८ लाख रुपैयाँबराबरको विभिन्न वस्तु आयात गरेको थियो । यो अवधीमा नेपालले अमेरिकासँग वैदेशिक व्यापार गर्दा ४ अर्ब ५५ करोड २६ लाख रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ।

यसैगरी जर्मनीमा सबैभन्दा बढी ५८ करोड ६० लाखको शल, स्कार्फ र मफलर, ३८ करोड ९१ लाखको कार्पेट, ३२ करोड १६ लाखको फेल्ट, २७ करोड ५० लाखको जर्सी र १४ करोड १६ लाख रुपैयाँबराबरको महिलाले लगाउने ट्राउजर निर्यात भएको छ।

सात महिनाको अवधिमा जर्मनीबाट नेपालले ३ अर्ब ८१ करोड ४७ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । यो अवधीमा नेपालले जर्मनीसँग १ अर्ब २९ करोड ६२ लाख रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ ।

उत्तरी छिमेकी मुलुक चीनमा सबैभन्दा बढी ८० करोड ७५ लाख रुपैयाँबराबरको कार्पेट निर्यात भएको छ । ३३ करोड १८ लाख रुपैयाँको किचेन टेबल सामग्री, १० करोड ४३ लाख रुपैयाँको धातुको मुर्ति, १० करोड ४१ लाखको फेल्ट र ८ करोड ७१ लाख रुपैयाँबराबरको टे«सिङ कपडा निर्यात भएको छ ।

चीनबाट नेपालले सात महिनाको अवधीमा १ खर्ब ९२ अर्ब ४५ करोड ४६ लाख रुपैयाँको बस्तु आयात गरेको छ । सात महिनाकै अवधीमा नेपालले चीनबाट १ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँबराबरको व्यापार घाटा उठाएको छ ।

यस्तै निर्यात हुने सुचीमा पाँचौं नम्बरमा रहेको युकेमा सबैभन्दा बढी ३३ करोड ४२ लाख रुपैयाँको फेल्ट, २९ करोड ९१ लाखको जर्सी, २९ करोड ८७ लाखको कार्पेट, १६ करोड ३५ लाखको महिला ट्राउजर र १६ करोड ३३ लाख रुपैयाँबराबरको शल, स्कार्फ र मफलर निर्यात भएको छ ।

युकेबाट सात महिनाको अवधीमा नेपालमा ३ अर्ब १५ करोड ७२ लाख रुपैयाँबराबरको सामान आयात हुँदा उक्त मुलुकसँग नेपालले १ अर्ब २८ करोड ५७ लाख रुपैयाँबराबरको घाटा कमाएको छ ।

किन बढेन चीनमा निर्यातको हिस्सा ?

क्वालिटी र क्वान्टिटी उत्पादन भएन: पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा

चीनले हामीलाई करिब ९ हजारभन्दा बढी वस्तु निर्यातमा शून्य भन्सार शुल्कको सुविधा प्रदान गरेपनि हामीले त्यो सुविधाको उपभोग गर्न सकेनौं ।

चीन आफै पनि विश्वको हरेक वस्तुको सबैभन्दा ठूलो उत्पादक मुलुक हो । त्यो मुलुकमा निर्यात गर्न हामीसँग त्यही परिमाणमा उनीहरुले गुणस्तरसम्बन्धि तोकेको प्रोटोकलअनुसारको गुणस्तरीय वस्तु चाहिन्छ ।

उनीहरुको प्रोटोकल अनुसार हामीले वस्तु उत्पादन गरेनौं भने हामी कहिले पनि दीर्घकालिन रुपमा निर्यात गर्न सक्दैनौं ।

चीनमा निर्यात गर्न अर्को ठूलो चुनौती भनेको गैर भन्सार अवरोध पनि अर्को कारक तत्व हो । यो बिषयमा सरकारले कुटनीतिक छलफलको माध्यमबाट समाधान गर्नुपर्छ ।

हामीले अहिलेसम्म निर्वाहमुखि रुपमा थोरथोरै परिमाणमा उत्पादन गरी निर्यात गर्दैआएका छौं । यो रवैयाले कहिले पनि व्यापार घाटा कम गर्न सक्दैनौं ।

चीनको बजारमा कुन वस्तुको दीर्घकालिन रुपमा अत्यधिक माग छ ? तर त्यहाँ ति वस्तुको उत्पादन निक्कै कम छ । यो विषयमा अध्ययन गरी हामीले रणनीति बनाएर ति वस्तुको उत्पादनमा ध्यान पुर्याउन आवश्यक छ । हामी अहिले पनि उहि परम्परागत रुपमा बर्षाैदेखि सिमित वस्तु निर्यात गर्न खोज्दैछौं ।

चीनतर्फ सामान निर्यात गर्दा कृषि तथा औद्योगिकजन्य वस्तुको गुणस्तर प्रमाणीकरण, क्वारेन्टाइन, उत्पत्तिको प्रमाणलगायत बिषयमा चीनले कडाइ गरेकाले निर्यात बढ्न नसकेको अवस्था छ ।

यस्तै अर्को समस्या भनेको चीनसँग हाम्रो यातायात सञ्जालको कनेक्टीभिटी निक्कै खराव छ । सडकमार्गबाट आयात निर्यात गर्नुपर्छ । तातोपानी होस् वा रसुवागढी, ति दुवै सडक खण्ड सुविधासम्पन्न छैनन । १२ महिना बिना अवरोध सञ्चालन गर्न सकिदैंन । भन्सार सुविधा पनि प्रभावकारी छैन । यसले गर्दा पनि चीनतर्फ सोचेअनुसारको निर्यात हुन सकेको छैन ।

चीनसँग व्यापार गर्न अर्को ठूलो चुनौती भनेको भाषाको समस्या पनि हो । हाम्रो भाषा उनीहरुले नबुझ्ने, उनीहरुको भाषा हामीले नबुझ्ने, अंग्रेजी भाषा हाम्रा व्यवसायीले पनि नबुझ्ने, उताकोले पनि नबुझने अवस्था छ ।

हामी बिचौलिया व्यवसायी भयौं: अर्थविद् केशव आचार्य

चीनले नेपाललाई सुविधा दिएपनि हामीले उनीहरुको प्रोटोकलअनुसार वस्तुको पर्याप्त परिमाणमा उत्पादन गर्न सकेनौं ।

चीनले हात्ति माग्दा हामी जिराभन्दा सानो आकारमा अगरवत्ति, ह्यान्डी क्राफ्टलगायतका वस्तु निर्यात गरेर बसेका छौं ।

चीनले पनि समय समयमा अवरोधहरु गरिराखेका छन, यो सवालमा हाम्रो सरकारले पनि कुटनीतिक छलफलमार्फत समस्याको समाधान गर्नु पर्छ ।

अर्कोतर्फ हाम्रो उद्योगी र व्यवसायी बिचौलिया भए । हाम्रा निर्यातकर्तामा दीर्घकालिन आम्दानीको स्रोतको बाटो बनाउनुभन्दा रातारात छोटो समयमै धनी बन्ने होडबाजी राखेर निर्यात गरिराखेको सोच पलाएको छ । यसले गर्दा पनि निर्यात दर बढ्न नसकेको हो ।

अहिले नै उदाहरणको लागि हेरौं भारतमा कुनै वस्तु महँगो हुँदा चीनबाट आयात गरी राम्रो मुनाफा लिएर भारततर्फ लसुन निर्यात गर्दैआएका छन् ।

त्यो कच्चा पाम आयल, सनफलावर आयल र सोयाविन आयल ल्याएर कति दिनसम्म निर्यात धान्न सक्छौं । आयात निर्यातको खाडल कम गर्न त् दीर्घकालिन रुपमा गुणस्तरीय वस्तुको सधै एक नासले निर्यात गर्नुपर्ला नि ।

चीनको चाहनाअनुसार निर्यात गर्नुपर्यो: पूर्वसहसचिव तथा व्यापारविज्ञ रविशंकर सैजु

चीनको यङ पोपुलेसनले अब परम्परागत वस्तुभन्दा अत्याधुनिक र प्रिमियम क्वालिटीको चिज खोजिरहेका छन । त्यो अनुसार हामीले गुणस्तरीय उत्पादनमा ध्यान नै दिन सकेनौं ।

उनीहरुको आम्दानी बढेका कारण परम्परागतभन्दा गुणस्तरीय वस्तु रोज्न थालेका छन् ।

उनीहरुले जुन गुणस्तरको वस्तु खोजेका छन्, हामीले त्यो गुणस्तरको ठूलो परिमाणमा उनीहरुलाई दिन चुकिरहेका छौं ।

हामीमा कस्तो सोच पलायो भने जस्तोसुकै क्वालिटीको भए पनि छोटो समयको लागि निर्यात गरेर धनी बन्ने, यो सोच परिवर्तन नहुँदासम्म निर्यातको परिमाण बढाउन सम्भव छैन ।