नयाँ गभर्नरबाट निजी क्षेत्रले धेरै आशा गरेको छ, संयमित मौद्रिक नीति ल्याउनु होला: वर्षमान


काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले वित्त नीति संकुचित भएकाले मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्ने बताएका छन् ।

बुधवार अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले पछिल्लो समय वित्त नीतिमा आएको संकुचनका कारणले आवधिक योजनामा राखिएको लक्ष्यभन्दा पनि बजेट कम हुँदै आएको बताए । उनले नयाँ गभर्नर आएपछि निजी क्षेत्रले ठूलो आशा गरेको र डिपार्चर होस् भन्ने चाहेको बताए । डिपार्चर हुनपर्ने तर संयमता गुमाउन नहुने उनको भनाइ छ ।

‘नयाँ गभर्नरबाट निजी क्षेत्रले आशा धेरै गरेको छ । मौद्रिक नीति ल्याउँदै हुनुहुनछ संयमित खालको ल्याउनुहोला । बढी लचिलो नहोस् । विगतमा लचिलो ल्याइएका कारण अहिलेसम्म असर परिरहेको छ,’ उनले भने, ‘ मौद्रिक नीतिले नियमनको पक्षलाई जोड दिओस् । सरकारले स्टार्टअपलाई जोड दिँदै आएको छ मौद्रिक नीतिले त्यता फोकस गरोस् ।’

मौद्रिक नीतिले सरकारका नीतिहरुलाई सर्पोर्ट गर्नुपर्ने उनले बताए । मुद्रास्फीति कम भए पनि मजदुर गृहणीले महशुस गर्न नपाएको अवस्था रहेको भन्दै उनले त्यसतर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

मौद्रिक नीति खुकुलो, सन्तुलित, समग्र अर्थतन्त्रलाई चलायमन गर्ने खालको आउनुपर्ने उनले बताए ।

संघीयतामा मुलुक गए पनि वित्तीय संस्था अझै सोही अनुकुलका हुन नसकेकोले त्यसतर्फ आगामी मौद्रिक नीतिले ध्यान दिन सक्नुपर्ने उनले बताए ।