नेपालमा मेट्रोरेलमा लगानीबारे बेलायतका लगानीकर्तासँग छलफल


काठमाडौं । नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपालमा मेट्रो रेल सञ्चालन गर्नका लागि बेलायत र जर्मनीका लगानीकर्ता समन्वय गर्नुपर्ने बताएका छन् ।

नेपालमा मेट्रो रेलमा लगानी परिचालन गर्ने बिषयमा लन्डनमा आयोजित एक कार्यक्रममा सहभागी भएका कुँवरले यस्तो जानकारी दिएका हुन् ।

नेपाली राजदूतावास यूके लन्डन र सोसाइटी अफ नेपलिज ईन्जिनियर्स यूकेले संयुक्त रूपमा आयोजित बीटुबी मिटिङमा अध्यक्ष कुँवरले मेट्रो रेल सञ्चालनका लागि बेलायत र जर्मनीका लगानीकर्तासँग छलफल गरी सहकार्य गर्नुपर्ने औल्याए ।

नेपालको तर्फबाट उक्त विशेष बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले भाग लिएका थिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा यातायात पूर्वाधारमा धेरै सम्भावना भएको प्रस्ट पार्दै नेपालमा मेट्रो रेलमा लगानी गर्न आग्रह गरेका थिए । यसका लागि नेपाल जर्मन उद्योग वाणिज्य संघ साथै यूकेका लगानीकर्ताहरुलाई संयुक्त रूपमा लगानी जुटाई अगाडि बढ्न अनुरोध गर्दै ज्ञवालीले लगानी बोर्डले यसमा पूर्णरुपमा लगानीको सुरक्षाको प्रत्याभूति दिने प्रस्ट पारेका थिए ।

ज्ञवालीले लगानीका प्रावधानबारे प्रष्ट पार्दै नेपालमा अहिले राम्रो लगानीको वातावरण भएको र राम्रो प्रतिफलको पनि सम्भावना रहेको बताए।

सोसाइटी अफ नेपलिज ईन्जिनियर्स यूकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रो रेलको पूरा खाका साथै आफ्नो अनुभव सुनाउँदै लगानीको प्रसस्त सम्भावना भएको जानकारी दिए ।

बेलायतको लागि नेपाली राजदुत चन्द्र घिमिरेले नेपालमा मेट्रो रेलमा लगानी गर्ने ठूलो अवसर भएको बताए । आयोजकको तर्फबाट बोल्दै उनले विभिन्न लगानीकर्ताहरुले लगानी गर्न र यसको प्रतिफल लिन अनुरोध गर्दै नेपालमा व्यवसायिक बाताबरण राम्रो भएको कुरा प्रस्ट पारे ।