प्रभु बैंकको सञ्चालक समिति अध्य कार्कीले शपथ, सम्हाले कार्यभार


काठमाडौं । प्रभु बैंकक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीले शपथ लिएका छन् । अध्यक्ष कार्कीले आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

शपथग्रहण कार्यक्रम राष्ट्र बैंकको वालुवाटारस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो । उक्त अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना, बमबहादुर मिश्र, बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावल, प्रभु बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो ।

कार्की २०८१ सालको वार्षिक साधारणसभाबाट सर्वसाधारण समूहका प्रतिनिधिका रूपमा सञ्चालकमा निर्वाचित भएका थिए। त्यसपछिको २०८२ असार १९ गते बसेको बैंकको ३८०औं सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको थियो। उनले आज बसेको ३८१औं बैठकमा अध्यक्षको रूपमा पहिलोपटक अध्यक्षता पनि गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका कार्की लामो समय सरकारी सेवामा कार्यरत रहे । उनले लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, र सामान्य प्रशासन मन्त्रालयमा सहसचिवको रूपमा काम गरिसकेका छन् ।

त्यस्तै, निजामति किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकका रूपमा कार्यसम्भालिसकेका उनी नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद, र कृषि अनुसन्धान कोषको सञ्चालक समितिमा समेत आबद्ध रहिसकेका छन् ।