
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठले यस वर्षको एसईई परीक्षामा उल्लेखनीय सफलता प्राप्त गर्दै ४ जीपीए हासिल गरेकी थिइन् ।
सञ्चारमाध्यममा गोमाको संघर्षपूर्ण जीवन र उत्कृष्ट नतिजाबारे समाचार सार्वजनिक भएपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले गोमाको सम्पूर्ण शैक्षिक यात्राको जिम्मा लिने घोषणा गरेका छन् ।
गुरुङ दम्पतीले बिहीबार गोमालाई भाटभटेनीको कार्यालयमा सम्मान गर्दै एक लाख रुपैयाँ नगद, एक थान ल्यापटप र सम्मानपत्र प्रदान गरेका छन् ।

सो अवसरमा अध्यक्ष गुरुङले गोमालाई कक्षा ११ र १२ को अध्ययनका लागि माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा भर्ना गराइ सम्पूर्ण खर्च बेहोर्ने बताएका छन् । साथै, उनले भविष्यमा एमबीबीएस तहसम्मको सम्पूर्ण अध्ययन खर्च पनि आफैंले व्यहोर्ने बचन दिएका छन् ।
चाँगुनारायण नगरपालिका–८, सुडालस्थित इँटाभट्टामा बसोबास गर्दै आएकी गोमाले बिहान बेलुकी इँटा सुकाउने काममा आमाबुबालाई सहयोग गर्दै पढाइ अगाडि बढाएकी थिइन् । उनले एसईईको नतिजा धान रोपाइँबाट मेला फर्किएपछि थाहा पाएकी थिइन्।








प्रतिक्रिया