माउन्टेनले नयाँ हेलिकप्टर थपेसँगै तीनवटा पुग्यो, सडकबाट ल्याइएको हेली कहिले आइपुग्छ काठमाडौं ?

भन्सार महसुल ‍चार करोड रुपैयाँभन्दा धेरै

560
Shares

काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी माउन्टेन हेलिकप्टर्सले नयाँ हेली थप गरेको छ ।

माउन्टेनले एयरवस कम्पनीको एएस३५० बीथ्री सिरिजको हेलिकप्टर भित्र्याएको हो । माउन्टेनले थप गरेको हेली चीनमा भएकोले तातोपानी नाका हुँदै ल्याइएको छ । नेपालमा स्थलमार्ग हुँदै पहिलोपटक हेलिकप्टर आयात गरिएको हो ।

उक्त हेलीको आजै भन्सार क्लियरेन्सको काम सक्ने र सर्वेक्षणसहितको उडान अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गर्ने माउन्टेन हेलिकप्टरका महाप्रवन्धक दिलबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार हाल २ वटा हेलिकप्टर सञ्चालन गरिरहेको माउन्टेसँग यससँगै अब तीनवटा हेली भएको छ । यो हेलीको आवश्यक प्रक्रिया पूरा गरेर तातोपानीबाटै उडाएर काठमाडौं ल्याउने तयारी भएको उनले जानकारी दिए ।

यसअघि हवाईजहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मै ल्याउने गरिएको जहाज एसेम्बल गर्ने र प्राधिकरणबाट उडान अनुमति लिने काम सँगसँगै गर्ने गरिएको थियो ।

यो हेलिकप्टर चीनबाट ट्रान्स सिल्क ट्रान्सपोर्टमार्फत ल्याइएको हो । हेलिकप्टरको भन्सार महसुल करिब चार करोडभन्दा बढी पर्नेछ ।

यसपटक हेलिकप्टर चीनमा रहेको र तातोपानीसम्म ओपन ट्रेलरमा ल्याउन सहज भएकाले स्थलमार्गबाट ल्याइएको उनको भनाइ छ । त्यहाँबाट बाटोको कारण ल्याउन असम्भव भएकोले कस्टम क्लियरेन्स र प्राधिकरणसँग उडान अनुमतिको काम गर्नुपर्ने उनले बताए । आजै भन्सार क्लियरेन्स गरेर उडानको लागि प्राधिकरणमा प्रक्रिया अगाडि बढाउने र तीन/चारदिनमा हेलिकप्टर काठमाडौं ल्याइने उनले जानकारी दिए । ‍

नेपालमा हाल १२ कम्पनीका करिब ३५ हेलिकप्टर रहेका छन् ।