के नेपाल प्राकृतिक ग्यासबाट मालामाल हुँदैछ ?

नेपालसँग ५६० वर्षलाई धान्ने २ सय ६२ खर्बको ग्यास, आफैं उपभोग गर्न यस्ता छन् चुनौती

6.4k
Shares

काठमाडौं । असार पहिलो साता नेपाली जनताको लागि एउटा सुखद खबर आयो । त्यो थियो, नेपालमै ठूलो परिमाणमा प्राकृतिक ग्यासको भण्डार पाइयो ।

दैलेखको जलजलेमा लामो समयदेखि अध्ययन गरिरहेको चिनियाँ विज्ञ टोलीले असार ४ गते सुखद् खबरसहित सरकारलाई प्रतिवेदन समेत बुझायो ।

यो प्रतिवेदनको निष्कर्ष थियो, पेट्रोलियम पदार्थ खोजी गर्ने क्रममा दैलेखको ४ कुवामध्ये एउटा कुवा (एनडीपी वान) मा ११२.१ अर्ब घनमिटर (७ करोड ९२ लाख १२ हजार ३ सय २७ मेट्रिक टन) प्राकृतिक मिथेन ग्यास (सीएच फोर) पाइएको थियो ।

खानी तथा भू-गर्भ विभागले पहिलो कुवामा यो हाराहारीमा ९० प्रतिशतभन्दा बढी परिमाणमा प्राकृतिक ग्यास पाइएको पुष्टि गरेको छ ।

अर्कोतर्फ एनडीपी वान कुवावाहेक अन्य तीनवटा कुवाको प्रारम्भिक चरणको प्रतिवेदनअनुसार ति तीनवटा कुवामा ३१७.९ घनमिटर प्राकृतिक ग्यासको भण्डार छ । तर यसको विस्तृत अन्तिम प्रतिवेदन आगामी डिसेम्बरसम्म मात्रै आउनेछ ।

यसरी हेर्दा चारवटा कुवामा गरी ४३० अर्ब घनमिटर (३० करोड ३३ लाख ४३ हजार मेट्रिक टन) प्राकृतिक मिथेन ग्यास रहेको प्रारम्भिक अनुमान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तृत अध्ययन प्रतिवेदन नआउँदै, प्रशोधन प्लान्ट स्थापना नहुँदै हतारिएर आगामी मंसिर महिनादेखि परीक्षण उत्पादन गर्न र अर्को वर्षदेखि व्यवसायीकरुपमा उत्पादन गर्न सरोकारवाला निकायलाई निर्देशनसमेत दिई सकेका छन् ।

पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख तथा खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक दिनेशकुमार नापितका अनुसार यो अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न भएको अन्वेषण परियोजना हो । यसमा मिथेन ग्यासको मात्रा ९० प्रतिशतभन्दा बढी परिमाणमा पाइएको छ ।

‘अहिले प्रारम्भिक चरणको प्रतिवेदन मात्रै आएको छ, विस्तृत अन्तिम प्रतिवेदन आएपछि अझै बढी परिमाणमा प्राकृतिक ग्यास भेटिन सक्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘ग्यासको गुणस्तरसँगै व्यावसायीक उत्पादनको सम्भाव्यता र आर्थिक लाभका विषयमा अझ विस्तृत परीक्षण भइरहेको छ । चिनियाँ कम्पनीले यहि वर्षको डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिने बताएको छ । त्यसपछि मात्रै व्यवसायीकरुपमा उत्पादनको विषयमा आवश्यक गृहकार्य सुरु गर्छौ ।’

नापितका अनुसार अहिले तत्कालै यतिउति परिमाणमा प्राकृतिक ग्यास निस्किन्छ भनेर ठोकुवा साथ भन्नु केहि हतार हुने हुनेछ । किनभने अहिले सम्पूर्ण रुपमा परीक्षण गर्नै बाँकी छ । यो परीक्षण गर्न पनि ठूलो लगानी आवश्यक पर्छ ।

‘हाम्रो आफ्नो पनि लगानी धेरै ठूलो नभएकाले परीक्षणजस्ता प्राविधिक सहयोगका लागि चीन सरकारसँग सहयोग माग्ने बिषयमा पनि छलफल भइरहेको छ,’ नापितले भने,‘व्यवसायिक रुपमा उक्त प्राकृतिक ग्यास हामीले आफै सदुपयोग गर्न ठुलो लगानीको आवश्यकता पर्छ । उत्पादन गर्न लाग्ने लगानी नेपालले स्वयम गर्न सक्छ वा विदेशी लगानीकर्ता वा दातृ निकाय गुहार्नु पर्छ, त्यो बिषयमा सरकारले योजना बनाएर गृहकार्य गर्छ ।’

कति मूल्यको ग्यासको भण्डार ?

प्राकृतिक ग्यासलाई अन्तर्राष्ट्रिय बजारमा एमएमबीटीयु (मिलियन ब्रिटिस थर्मल युनिट) को इकाइमा मापन गरिन्छ । पहिलो कुवामा ११२.१ अर्ब घनमिटर (७ करोड ९२ लाख १२ हजार ३ सय २७ मेट्रिक टन) अर्थात ३ अर्ब ९६ करोड ६ लाख १६ हजार ३ सय ६८ एमएमबीटीयुको हाराहारीमा ग्यास पाइएको हो ।

अमेरिकी संस्था हेनरी हवको अन्तर्राष्ट्रिय मूल्यको आधारमा यसलाई हिसाब गर्ने हो भने ११२.१ अर्ब घनमिटर ग्यासको मूल्य ६८ खर्ब ४८ अर्ब १ करोड ८४ लाख ८९ हजार ४ सय ३७ रुपैयाँ पर्छ । यो मूल्य एसियन मूल्यको आधारमा हो । यो मूल्य गत सोमबारको अन्तर्राष्ट्रिय मूल्यमा आधारित छ ।

अमेरिकन बजार मूल्य अनुसार यो ग्यासको मूल्य १९ खर्ब १९ अर्ब १८ करोड ९८ लाख ९५ हजार १ सय २८ रुपैयाँ पर्छ । यसैगरी युरोपियन बजार मूल्यअनुसार यसको मूल्य ६३ खर्ब ५७ अर्ब ३१ करोड ६५ लाख २७ हजार ६ सय १४ रुपैयाँबराबरको उक्त ग्यास हो ।

अन्तर्राष्ट्रिय बजारमा प्राकृतिक ग्यासको तीन थरी मूल्य तोकिएका छन् । अमेरिकन, युरोपियन र एशिएन मुलुकको आधारमा यसको मूल्य तोकिएको हो । जसअनुसार अमेरिकन बजारमा प्रतिएमएमबीटीयु प्राकृतिक ग्यासको मूल्य पछिल्लो समयमा ३.५२ अमेरिकन डलर थियो । यस्तै युरोपियन बजारमा प्रतिएमएमबीटीयु ११.६६ अमेरिकन डलर थियो भने सबैभन्दा बढी एशियाली बजारमा प्रतिएमएमबीटीयु १२.५६ अमेरिकन डलर थियो ।

तीनवटै बजारको मूल्यको आधारमा ११२.१ अर्ब घनमिटर प्राकृतिक ग्यासको बजार मूल्य निकालिएको हो ।

यस्तै चारवटै कुवामा रहेको भनेर प्रारम्भिक प्रक्षेपण गरिएको ४३० घनमिटर (३० करोड ३३ लाख ४३ हजार मेट्रिक टन) अर्थात १५ अर्ब १६ करोड ७१ लाख ५० हजार एमएमबीटीयु प्राकृतिक ग्यासको बजार मूल्यअनुसार विश्लेषण गर्दा यसको मूल्य २ सय ६२ खर्ब २७ अर्ब ४० करोड ५४ लाख ९४ हजार ४ सय ४८ रुपैयाँबराबर छ । यो मूल्य एशियन बजारमा रहेको मूल्यको आधारमा निकालिएको हो । अर्थात नेपालको चारवटै कुवाबाट ४३० अर्ब घनमिटर प्राकृतिक ग्यास पाइयो भने त्यो परिमाणको प्राकृतिक ग्यासतर्फ मात्रै नेपाल २ सय ६२ खर्ब २७ अर्ब ४० करोड रुपैयाँले धनी हुनेछ ।

ग्यास पत्ता लागेर स्रोतको रुपमा बाहिर निकालिएपछि तत्कालीन समयमा अमेरिकी मुद्रामा आउने थपघटले मूल्य थपघट हुन सक्नेछ ।

यस्तै युरोपियन मुलुकको मूल्यको आधारमा १५ अर्ब १६ करोड ७१ लाख ५० हजार एमएमबीटीयु ग्यासको बजार मूल्य २ सय ४३ खर्ब ४८ अर्ब ५ करोड ३१ लाख ८९ हजार ९ सय ९ रुपैयाँ मूल्य पर्न आउछ । त्यसैगरी अमेरिकी बजारको मूल्यको आधारमा यसको मूल्य ७३ खर्ब ५० अर्ब ३५ करोड ५६ लाख ७९ हजार ९ सय ७२ रुपैयाँ मूल्य पर्छ ।

कति समयलाई पुग्छ ?

जसरी पहिलो कुवामा प्राकृतिक ग्यासको मात्रा पुष्टी भएको छ र बाँकी तीनवटा कुवाको बारेमा प्रारम्भिक प्रक्षेपण गरिएको छ । त्यसलाई मुलुकको खाना पकाउने ग्यासको मागसँग जोडेर तुलनात्मक विश्लेषण गर्दा यो ग्यासलाई नेपाली जनताले कम्तिमा ६ सय वर्षसम्म खाना पकाउने ग्यासको रुपमा उपभोग गर्न पाउने छन् ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार नेपालमा हाल वार्षिक ५ लाख ४० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यासको माग र खपत भइरहेको छ । यसमध्ये झण्डै करिब ४० प्रतिशतका दरले काठमाडौं उपत्यका र ६० प्रतिशत उपत्यकाबाहिर खपत हुन्छ । एलपी ग्यासको सबैभन्दा ठूलो उपभोगकर्ता उपत्यकाकै तीन जिल्ला छ ।

अहिलेकै अन्तर्राष्ट्रिय बजारको मूल्यको आधारमा नेपालका सरदर वार्षिक ५३ अर्बदेखि ६० अर्ब रुपैयाँबराबरको खाना पकाउने ग्यास आयात भइरहेको छ । निगमले यो ग्यास प्रतिसिलिण्डर २५० रुपैयाँहाराहारीमा घाटा व्यहोरेर उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

यसले गर्दा यो ग्यास बिक्री गर्दा निगमले वार्षिक रुपमा १० अर्ब रुपैयाँबराबरको घाटा व्यहोर्दैआएको छ । नेपालमा मासिक ३० लाख सिलिण्डरको खपत हुन्छ ।

पहिलो कुवामा पाइएको ११२.१ अर्ब घनमिटर ग्यासलाई अहिलेकै विद्यमान मागअनुसार खाना पकाउने ग्यासको रुपमा विश्लेषण गर्दा १ सय ४६ वर्षसम्मलाई उपभोग गर्न मिल्छ । तर खाना पकाउने ग्यासको माग बढ्दै गएपछि उपभोग अवधि भने केहि घट्न सक्छ ।

बढ्दो शहरीकरणका कारण पछिल्लो समयमा नेपालमा एलपी ग्यासको खपत दर बढ्दै गएको छ । दाउरा र गोबर गुँइठा प्रयोगकर्ता विस्तारै एलपी ग्यासतर्फ आकर्षित हुँदै गएपछि एलपी ग्यासको खपत दर बढ्दै गएको हो ।

चिनियाँ अध्ययन टोलीले अध्ययन पश्चात् प्रक्षेपण गरेअनुसार ४ वटै कुवाबाट ४३० अर्ब घनमिटर (३० करोड ३३ लाख ४३ हजार मेट्रिक टन) प्राकृतिक ग्यास प्राप्त हुनेछ । यसलाई अहिलेको मागको आधारमा हिसाव गर्दा ५ सय ६२ वर्षसम्म खाना पकाउने ग्यासको रुपमा उपभोग गर्न सकिनेछ ।

यसरी हेर्दा अन्तर्राष्ट्रिय बजारको मूल्य र खाना पकाउने ग्यासको रुपमा प्रयोगको आधारमा नेपाल आगामी समयमा प्राकृतिक ग्यासका कारण निक्कै धनी हुन सक्ने केमिकल इन्जिनियर तथा नेपाल आयल निगमका पूर्वनायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

‘जसरी अहिले प्रारम्भिक चरणको प्रतिवेदन बाहिरिएको छ, त्यसको तथ्यहरुलाई विश्लेषण गर्दा खाना पकाउने ग्यासको रुपमा मात्रै प्रयोग गर्दा हामीसँग अहिले दैलेखमा भएको ग्यासले १ हजार वर्षलाई पुग्ने देखिन्छ,’ केमिकल इन्जिनियर भट्टराईले क्लिकमान्डुसँग भने, ‘तर पछिल्लो समयमा खाना पकाउने ग्यासको मागको वृद्धि दर पनि बिस्तारै बढ्दै गएको छ । त्यो माग वृद्धिको आधारमा हिसाब गर्ने हो भने ५ सयदेखि ६ सय वर्षसम्मका माग धान्न सक्ने गरी ग्यास छ ।’

नेपालमा यो परिमाणमा प्राकृतिक ग्यास पाइएपछि प्रमुख भारतीय सञ्चारमाध्यमहरुले पनि ‘प्राकृतिक ग्याससे नेपाल मालामाल’ शीर्षकमा प्राथमिकताका साथ समाचार प्रकाशित गरेका थिए ।

प्राकृतिक ग्यास उपभोग गर्न कति छ सहज ?
– सुशील भट्टराई, केमिकल इन्जिनियर तथा पूर्वनायव कार्यकारी निर्देशक, नेपाल आयल निगम

दैलेखमा पाइएको प्राकृतिक ग्यासलाई प्रशोधन गरी वा नगरेर पनि खाना पकाउने ग्यासको रुपमा उपभोग गर्न सक्छौं । तर प्राकृतिक ग्यास पाइयो भन्दै कुबेरको खजाना नै पाए भनेर सतही रुपमा अहिले नै टिप्पणी गर्न मिल्दैन ।

अध्ययनको क्रममा धेरै ठूलो परिमाणमा प्राकृतिक ग्यासको भण्डार छ भनेर पुष्टि त भयो । तर त्यो ग्यास एकैपटक भान्छाघरमा ल्याएर प्रयोग गर्न सक्दैनौं । यो प्रयोग गर्न निक्कै ठूलो महाभारत छ । जसरी हाम्रो मुखमा एकै पटक भात पाकेर जाँदैन । त्यो भातको सिता मुखमा जानु अघिसम्म थुप्रै चरणवद्ध रुपमा प्रक्रियाहरु सम्पन्न भएका हुन्छन् । त्यस्तै ग्यास पाइयो भन्दैमा सोझै भान्छामा बाल्न सकिँदैन ।

यसलाई हाम्रो भान्छा घरसम्म पुर्‍याउनका लागि निक्कै ठूलो लगानी चाहिन्छ । जुन हाम्रो जस्तो मुलुकको लागि निक्कै ठूलो चुनौती छ । यो प्राकृतिक ग्यासलाई प्रशोधन गरेर उपभोगयोग्य बनाउन नै अर्को हामीलाई करिब डेढ खर्बको लगानी चाहिन्छ । त्यसपछि मात्रै प्रशोधन गरेर उपभोग गर्न सम्भव हुन्छ ।

अहिले हामीले भान्छा घरमा खाना पकाउन प्रयोग गर्दैआएको एलपीजी (लिक्विइफाइड पेट्रोलियम ग्यास) को रुपमा प्राकृतिक ग्यासलाई उपभोग गर्न सक्छौं । तर कसरी गर्ने, कुन रुपमा र कुन माध्यमबाट खपत गर्ने ? प्रश्न यहाँनिर खडा छ ।

जुन रुप र माध्यमबाट खपत गर्ने हो, त्यसको लागि थप अर्बौं रुपैयाँबराबरको अर्को पूर्वाधार संरचना पनि आवश्यक पर्छ । त्यो लगानीबेगर पाइएको ग्यासलाई भान्छाघरमा उपभोग गर्न सकिन्न ।

यसै पनि खानी तथा खनिज पदार्थ ऐन २०४२ आएको झण्डै ४० वर्षपछि नेपालमा पनि प्राकृतिक ग्यास छ भनेर खोज पडताल गरी पुष्टि गर्न सफल भयौं । तर त्यो खोज पडताल पनि हाम्रो बलबुता र आर्थिक लगानीले सम्भव नभएर चीन सरकारको जिओलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक अनुदान सहयोगमा भएको छ ।

यसको प्रारम्भिक लागत अनुमानित खर्च २ खर्ब ५० करोड छ । हामी आर्थिक रुपमा सबल भएको भए ग्यास छ भनेर मात्रै पत्ता लगाउन ४० वर्ष कुर्नु पर्थ्यो र ?

यस्तो अवस्थामा पाइएको ग्यास भान्छा घरसम्म पुर्याउन लाग्ने लगानी हामीसँग छ त ? यस्ता दर्जनौं चुनौतिपूर्ण प्रश्न छन् । त्यसलाई न केलाएसम्म अहिले नै हामी निक्कै हौसिनु उपयुक्त हुन्न् ।

एलपी ग्यासको मागलाई यसले टोटली रिप्लेस गर्न सक्छ भनेर जसरी बाहिर कुरा आएको हो, त्यो होइन । त्यो सैद्धान्तिक बिषय मात्रै हुन्छ । व्यवहारिक हिसालले भन्नुपर्दा अहिले जे जसरी एलपी ग्यास वितरण भइरहेको छ । खपत भइरहेको छ । त्यसरी नै यो प्राकृतिक ग्यासलाई पुर्याउन सक्छौं त ? अहम प्रश्न नै यहि हो ।

अहिले उपभोक्ताको भान्छादेखि होटेल, रेष्टुँरा, अस्पताललगायतमा १६ किलो तौल भएको सिलिण्डरमा १४ किलो एलपी ग्यास भरिएको सिलिण्डर उपभोग भइरहेको छ । त्यही सिलिण्डरमा यो प्राकृतिक (मिथेन) ग्यासलाई प्रयोग गर्न सम्भव छैन ।
अहिलेकै १६ किलोको सिलिण्डरमा १४ किलो भरिएको एलपी ग्यासको तुलनामा १० किलो मिथेन ग्यास राख्ने हो भने कम्तिमा ६५ किलोको सिलिण्डर चाहिन्छ । किनभने मिथेन ग्यास हाइ प्रेसर भएको ग्यास र गहुँङ्गो हुन्छ ।

मिथेन ग्यास उपभोगको लागि फुली सेफ्टी र सेक्योर्ड अर्को सिलिण्डर भाँडो नै तयार गर्नुपर्छ । के यसको लागि हामी तयार छौं? तर यो अहिले तत्कालै व्यवहारिक हुन्न ।

१० किलो मिथेन राखेर ६५ किलोको सिलिण्डर घरघरमा ओहोर दोहोर गर्न कति व्यवहारिक हुन्छ होला आफै बिचार गर्न सकिन्छ । कुकिङ्ग ग्यासको रुपमा मिथेन ग्यासलाई उपभोग गर्ने हो भने अर्को विकल्प भनेको उत्पादन स्थलदेखि शहरी क्षेत्रको घर घरमा पाइपलाइन डिस्ट्रिव्युसन लाइन जडान गर्न सकिन्छ । तर उत्पादनस्थलदेखि शहरी क्षेत्रको घरसम्म पाइपलाइन डिस्ट्रिव्युसन लाइन जडान गर्न हाम्रो भगौलिक अवस्थाले पनि सहयोग गर्दैन । र यो निक्कै खर्चिलो पनि हुन आउँछ ।

अहिले नै भारतबाट पाइपलाइनबाट पेट्रोल, डिजेल र मटिटतेल आयात भइरहेको छ । त्यो पाइपाइन भारतले आफ्नो अनुदानमा निर्माण गरिदिएको हो । यसको लागि कि त् उत्पादनस्थलदेखि शहरी क्षेत्रसम्म यो ग्यास लानको लागि ठूलाठूला कन्टेनर आकारको गाडीमा त्यहि साइजको क्यारी ट्रंक ट्रान्सपोर्टेशन चाहिन्छ । तर त्यो भाडोमा अघि भनिएजस्तै १० किलो अटाउन कम्तिमा ६५ किलोको भाडा चाहिएजस्तै एउटा शहरी क्षेत्रको मागअनुसार यो ग्यास पुर्याउन कत्रो आकारको ट्रंक ट्रान्सपोर्टेशन चाहिएला, यो विषयमा पनि गम्भीर भएर सोच्न आवश्यक छ ।

यस्तो ट्रंक ट्रान्सपोर्टेशनबाट उत्पादनस्थलबाट मिथेन ग्यास लोड गरेर शहरी क्षेत्रको एउटा निश्चित तोकिएको स्थानमा अनलोड गर्ने र त्यहाँबाट पाइपलाइनमार्फत घरघरमा खाना पकाउने ग्यासको रुपमा प्रयोग गर्न सकिन्छ । यो प्रविधि पनि आर्थिकरुपमा कतिको व्यवहारिक हुन सक्छ, यो विषयमा पनि सोच्न आवश्यक छ ।

दैलेखनजिक करिब १०० किलोमिटरको वरिपरीमा सुर्खेत पर्छ । सुर्खेतबाट नेपालगञ्ज नजिक पर्छ । पहिले नमुनाको रुपमा दैलेखबाट सुर्खेत र सुर्खेतबाट नेपालगञ्जसम्म पाइपलाइनबाट मिथेन ग्यास घर-घर पुर्‍याउन कति खर्च लाग्दो रहेछ, त्यो आर्थिक लागत खर्चको बारेमा अध्ययन गर्नुपर्छ ।

यसमा अहिले खपत हुँदै आएको एलपी ग्यासको तुलनामा मिथेन ग्यास सस्तो पर्न आउँछ वा एलपी ग्यास आयात गरेर सस्तो पर्छ भन्ने बिषयमा पनि अध्ययन गर्नुपर्छ ।

अर्को विषय नेपालमा एकीकृत बस्ती छैन । गाउँ गाउँमा एउटा घर एउटा कुनामा छ भने अर्को घर अर्को कुनामा छ, यस्ता चुनौतीहरु पनि छन्। यस्ता विषयमा अध्ययनपछि पाइपलाइनबाट कसरी कुन प्रक्रियाबाट वितरण गर्न सकिन्छ भने टुङ्गोमा पुग्न सकिन्छ । ग्यास पाइनुले आफैंमा धेरै ठूलो महत्व राख्छ । तर त्यो ग्यासलाई खाना पकाउने ऊर्जाको रुपमा कसरी प्रयोग गर्ने, कसरी ट्रान्सपोर्टेशन गर्ने विषय पनि निक्कै गम्भीर छ ।

एलपी ग्यासको तुलनामा मिथेन ग्यासलाई उच्चतम प्रेसर चाहिन्छ । एलपी ग्यासको सिलिण्डरमा ६ बार (किलो) बराबरको प्रेसर(दबाब) हुन्छ भने मिथेन ग्यासको प्रेसर २ सयदेखि २५० बारसम्मको हुन्छ । यसले गर्दा अहिले नेपालीले प्रयोग गर्ने सिलिण्डरमा मिथेन ग्यासलाई राखियो भने प्रेसर थेग्न नसकेर तत्कालै सिलिण्डर ब्रस्ट हुने जोखिम हुन्छ ।

अहिलेको १६ किलोको एलपी ग्यास सिलिण्डरमा यो मिथेन ग्यास दुई सयदेखि ३ सय ग्रामसम्म मात्रै हाल्न मिल्छ । बढी राखियो भने तत्कालै ब्रस्ट हुने खतरा हुन्छ । एलपीभन्दा मिथेन ग्यास झण्डै ५० प्रतिशतभन्दा बढी सस्तो पर्छ ।

हामीले १ वर्षदेखि ५ वर्षभित्रै देशैभरी एलपी ग्यास विस्थापित गरेर घरघरमा यो ग्यास उपभोगमा ल्याउन सक्छौं भनेर सोच्दैंछौं भने यो हाम्रो मुर्खयाई हुन सक्छ । यसमा जानको लागि ठूलो लगानी र लामो समय लाग्छ । त्यो ठूलो लगानी गर्न हामी कति सक्षम छौं ? त्यो पनि विचार गर्न आवश्यक छ ।

एलपी ग्यासको तुलनामा मिथेन ग्यास वातावरणमैत्री पनि मानिन्छ ।

भविष्यको ग्यास भनेकै यो प्राकृतिक ग्यास हो, यसमा दुई मत छैन । तर यसलाई ह्याण्डलिङ्ग कसरी गर्ने प्रमुख मुद्दा त्यो हो । सबैभन्दा राम्रो र उत्तम तरिका भनेको यसलाई दैलेखमै एलपी ग्यास (लिक्वीफाइड ग्यास) मा रुपान्तर गर्नु पर्छ ।

६ सय लिटर मिथेन ग्यास खाँदेर १ लिटर लिक्वीड(लिक्वीफायर ग्यास) बनाउन सकिन्छ । तयार भएको लिक्वीफाइड ग्यासलाई अहिले जसरी हामी भारतबाट बुलेटमा एलपी ग्यास आयात गरिरहेका छौं । त्यसरी नै दैलेखबाट ट्रान्सपोर्टेशन गरी सिलिण्डर उद्योगसम्म पुर्‍याउने वा घर घरमा पाइपलाइनबाट वितरण गर्ने । यो प्रक्रियामा जान सकिन्छ ।

तर लिक्वीफायर ग्यास प्रविधि, स्टोरेज प्रक्रिया, ट्रान्पोर्टेशन (ट्रायोजनिक भेहिकल र ट्याँकर) प्रविधि निक्कै खर्चिलो हुन्छ । यसको लागि पनि ठूलो लगानी आवश्यक पर्छ, हामी त्यत्रो लगानी गर्न कति सक्षम छौं ? ६०० सय लिटर प्राकृतिक ग्यासलाई लिक्वीडमा परिणत गर्दा १ लिटर हुन्छ । लिक्वीड बनाएर ढुवानी गर्दा सहज हुन्छ ।

यस्तै प्राकृतिक ग्यासबाट विभिन्न प्रक्रियामार्फत कम्प्रेस्ड नेचुरल ग्यास(सीएनजी), लिक्वीफायड नेचुरल ग्यास(एलएनजी), लिक्वीफायड पेट्रोलियम ग्यास(एलपीजी), हाइड्रोजन फ्युल सेल समेत तयार गर्न सकिन्छ । यसबाहेक यसबाट पेट्रोल र डिजेलका साथै बिजुली पनि उत्पादन गर्न सकिन्छ, तर शर्त एउटै हो, लगानी कसले गर्ने ?

प्राकृतिक ग्यासको सहयोगमा हामीले स्वदेशमै युरिया मलको कारखानासमेत निर्माण गर्न सक्छौं । यसअघि हामीले भैरहवामा भारतबाट प्राकृतिक ग्यासको पाइपलाइन ल्याएर युरिया मल कारखाना स्थापना गर्ने भनेर पटक पटक गृहकार्य पनि गरेकै छौं । मिथेन ग्यासको सहउत्पादनबाट विभिन्न प्रकारका प्लास्टिकका वस्तु पनि उत्पादन गर्न सकिन्छ ।

हामीले मुख्यगरी कति परिमाणमा मिथेन ग्यास छ, कति वर्षसम्मलाई पुग्ने छ, पाइललाइन र सिलिण्डरबाट वितरण गर्दा कति खर्च लाग्छ ? लिक्वीफायड रुपमा परिणत गरेर वितरण गर्दा कति खर्च पर्छ, भारतबाट आयात गर्दा कति खर्च परेको छ ? यि तमाम विषयमा गहिरो अध्ययन गरेर मात्रै कुनमा जाँदा तुलनात्मक रुपमा उपभोक्तालाई सस्तो पर्न आउँछ र मुलुकको हितमा छ निक्र्यौल गरी त्यो प्रविधि र बाटोमा जानुपर्छ ।

मिथेन ग्यास अन्य मुलुकलाई बिक्री गरेर यसबाट आर्जन हुने नाफाबाट एलपी ग्यासमा अनुदान पनि दिन सकिन्छ । यसको मल्टिपल बेनेफिट छ । २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको खोजी कार्यको क्रममा २०८० वैशाखदेखि सुरु भएको पहिलो ड्रिलिङ कार्य ४०१३ मिटर गहिराइमा पुर्‍याइएको थियो । ड्रिलिङपछि पहिलो कुवाबाट संकलन गरिएका नमुनाको परीक्षणको क्रममा १ अर्ब १२ करोड घनमिटर (७ करोड ९२ लाख १२ हजार ३ सय २७ मेट्रिक टन) मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको थियो ।

ड्रिलिङ्ग गर्ने क्रममा जमिनमुनिबाट निस्केको चट्टानबाट ग्यासको गन्ध आएपछि त्यसको नमूना परीक्षणको लागि चीन पठाइएको थियो ।

चीनबाट परीक्षण प्रतिवेदन आएपछि चिनियाँ अध्ययन टोलीले उक्त क्षेत्रमा प्राकृतिक ग्यासको ठूलो भण्डार रहेको पुष्टि गरेको हो । उक्त कुवामा ९० प्रतिशतसम्म प्राकृतिक ग्यासको मात्रा रहेको निष्कर्ष निकालिएको थियो ।

अध्ययन टोलीले पहिलो कुवाको ग्यासयुक्त तहको वेल लाँगिङ्गमा गरेको अध्ययन प्रतिवेदनअनुसार जमिनमुनी २२७१. मिटरदेखि ३९७४.७ मिटरको गहिराईसम्ममा चार तहको गहिराईमा ग्यासको तह भेटिएको छ ।

विभिन्न गहिराईमा रहेको चट्टान र छिद्रहरुमा ग्यास घुलिरहेको अवस्थामा पाइएको हो ।

जसअनुसार २२७६.० मिटरदेखि २२७९.४ मिटरसम्मको दूरीमा ३.४ मिटर मोटाई भएको तहमा ४२.९६ प्रतिशत घुलिरहेको ग्यासको मात्रा पाइएको छ । यस्तै २५००.४ मिटरदेखि २५०२.६ मिटरसम्मको दूरीमा २.२ मिटरको मोटाई भएकोे तहमा ५८.०८ प्रतिशत घुलिरहेको ग्यासको मात्रा पाइएको छ ।

त्यस्तै २५०४.४ मिटरदेखि २५०५.४ मिटरसम्मको दूरीमा १ मिटर मोटाई भएको तहमा ३४.४७ प्रतिशत र २५१०.२. देखि २५१३.५ मिटरसम्मको दूरीमा ३.३ मिटर मोटाई भएको तहमा ३३.७४ प्रतिशत घुलिरहेको ग्यासको मात्रा पाइएको छ ।

खानी तथा भू गर्भ विभागले ४ वटै कुवामा गरेर ४३० घनमिटर (३० करोड ३३ लाख ४३ हजार मेट्रिक टन) प्राकृतिक ग्यासको भण्डार रहेको जनाएको छ ।