
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट विनियोजित एक करोड रुपैयाँको अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा सेजनलाई सञ्चालन अनुदानका रूपमा एक करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त निर्णयबारे जानकारी प्राप्त भएपछि सेजनले असार १७ गते बसेको बैठकमार्फत चार बुँदे कारणसहित उक्त अनुदान नस्वीकार्ने निर्णय लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
सेजनले सरकारको सदाशयता र विश्वासप्रति धन्यवाद व्यक्त गरे पनि संस्थाको नीतिगत अडान, पत्रकारिताको धर्म र संस्थागत स्वतन्त्रता कायम राख्न अनुदान अस्वीकार गरिएको स्पष्ट पारेको छ।
सेजनका अनुसार अनुदान अस्वीकार गर्नुका कारण यस्तो
१. सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको ।
२. सेजनले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको ।
३. सेजन र यसका सदस्यहरुले बजेट अनुशासन एवम् वित्तीय स्रोत उपयोगको प्रभावकारिताबारे सरकार र यसका निकायहरुमाथि निरन्तर खबरदारी गर्दै आएका छौं/ छन् । यस परिप्रेक्ष्यमा एक करोड रुपैयाँको निःशर्त अनुदान स्वीकार गर्नु सेजनको आफ्नै विरासत र संस्थागत मौलिकताको समेत विपरित हुने देखिएको ।
४. यसै पनि वित्तीय स्रोतको अभाव झेलिरहेको हाम्रो सरकारका लागि नागरिकको आधारभूत आवश्यकता र जीवन रक्षामा ठूलो लगानी गर्नुपर्ने आवश्यकता छ। जनताको करबाट प्राप्त स्रोतको नागरिक हितमा अधिकतम उपयोग गर्न सक्ने विकल्प छाडेर जिम्मेवार पत्रकारहरुको छाता संस्थाले बजेट उपयोग गर्नु हाम्रो पेशागत धर्म र मर्यादाको समेत खिलाफ हुने देखिएको ।







प्रतिक्रिया