
एजेन्सी । इजरायलले गरेको हवाई आक्रमणमा मृत्यु भयो भनिएका इरानका उच्च अधिकृत अली शामखानी जिउँदै भेटिएका छन् ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीका निकट सहयोगी पूर्व रक्षामन्त्री शामखानी शनिवार आयोजित राजकीय शोक सभामा उपस्थित भएका थिए ।
जुन १३ मा इजरायलले इरानमाथि आक्रमण गरेपछि शामखानी लगायतका उच्च अधिकृतहरूको मृत्यु भएको खबर इजरायली र पश्चिमी सञ्चारमाध्यमहरूले दिएका थिए ।
तर शुक्रवार आईआरएनए, तासनिम र फार्स लयागतका इरानी सञ्चारमाध्यमले शामखानीको मृत्यु नभएको र उनी गम्भीर घाइते भएर अस्पतालमा उपचार गराइरहेको खबर दिएका थिए ।
इजरायलसँगको १२ दिने युद्धमा मारिएका व्यक्तिहरूको अन्तिम संस्कार समारोहमा शामखानी पुगेका थिए ।
त्यही दिन इरानको सरकारी समाचार संस्था आईआरआईबीले शामखानीको टेलिभिजन अन्तर्वार्ता प्रसारण गरेको थियो ।
अन्तर्वार्तामा शामखानीले लट्ठी टेकेको र श्वास लिनका लागि सहयोग गर्ने उपकरण उपयोग गरेको देखिएको छ । उनले इजरायली आक्रमणका कारण घर भत्किएर तीन घन्टासम्म भग्नावशेषमा पुरिन परेको बताए ।
त्यही भग्नावशेषमा आफूले फज्र (बिहानीको प्रार्थना) गरेको पनि उनले बताए ।
आईआरआईबीले शामखानीको भत्केको घरको फूटेज पनि देखाएको छ ।
आफूलाई भित्री चोट लागेको र मेरुदण्डको हाड भाँचिएको उनले बताए ।








प्रतिक्रिया