
काठमाडौं । आठ पटक मन्त्री बनेका र ५ पटक अर्थ मन्त्रालय हाँकेका विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार पक्राउ गरेर अनुसन्धान थालेको छ ।
नेकपा एमालेका प्रभावशाली नेता एवं उपाध्यक्ष पौडेललाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारको निर्देशनमा विभागले पक्राउ गरेको स्रोतको दाबी छ ।
पौडेलले यसअघि व्यवसायी दीपक भट्टलाई लाभ हुने गरी निर्णय गरेको र उनीसँगको साझेदारीको विषय जोडिएपछि पक्राउ परेका हुन् ।
नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रका शीर्ष नेताहरूसँग व्यवसायी दीपक भट्टको तस्बिरसमेत यतिबेला भइरल बनेका छन् । एमाले र माओवादीबीच एकता र एमाले माओवादी गठबन्धन सरकार बन्दाको निर्णयमा भट्टकोसमेत उपस्थित रहेको तस्बिरहरू सार्वजनिक भएका हुन् ।

पौडेलले विवादास्पद व्यवसायीसँगको मिलेमतोमा अवैधरुपमा सम्पत्ति जोडेको आशंकामा सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरीले पक्राउ गरेको हो।
आफ्नो नाममा जग्गाजमिन र सम्पत्ति नभए पनि अरूको नाममा सम्पत्ति व्यवस्थापन गरेर लाभ लिएको प्रमाण फेला परेको सम्पत्ति शुद्धीकरण विभाग स्रोतको दाबी छ ।
यसअघि व्यवसायी दीपक भट्ट प्रकरण र उनीसँगको बयानबाट केही संकेत पाएकोले त्यसैका आधारमा पौडेल पक्राउ परेको स्रोतको भनाइ छ ।
पौडेललाई सम्पत्ति शुद्धीकरण र व्यावसायिक लाभको आरोपमा विभागले सोमबार सुर्खेतबाट पक्राउ गरेको हो ।
पार्टीको कार्यक्रममा रहेको बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा प्रहरीले सुर्खेतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएर मंगलबार दिउँसो विभागलाई जिम्मा लगाएको छ ।
नेपालको राजनीतिमा पावर ब्रोकर र आर्थिक नीति निर्माणमा प्रभावशाली मानिने पौडेलमाथि राज्यसत्ताको दुरुपयोग गरी विभिन्न व्यापारिक समूहलाई अनुचित लाभ दिलाएको र त्यसबापत आर्थिक लाभ लिएको भन्ने गम्भीर आरोप लागेको छ । यही आरोपका आधारमा पौडेललाई पक्राउ गरेरै अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले थालिसकेको छ ।
व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन शक्तिको दुरुपयोग गरेको आरोप पौडेलमाथि छ । पौडेलले भट्टको कम्पनीलाई सस्तो मूल्यमा सेयर बेच्न दबाब दिएको दाबी गरिएको छ ।
त्यो सेयर सस्तोमा बिक्री गरेबापत पौडेलले ती व्यापारीलाई चार वटा नीतिगत फाइदा गरिदिने आश्वासन दिएको र आफू अर्थमन्त्री हुँदा तीमध्ये केही काम सम्पन्न समेत गरेको स्रोतको दाबी छ ।
विभागले पौडेलले विभिन्न व्यक्तिको नाममा आफ्नो सम्पत्ति पार्किङ गरेको (लुकाएको) हुनसक्ने आशंकामा पनि अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।
विभागले पौडेलको नाममा तथा परिवारका सदस्यका नाममा रहेका सम्पत्ति, लगानी र सेयर कारोबारको स्रोतमाथि केन्द्रित रहेर अध्ययन हुने जानकारी दिएको छ ।
विभागका अनुसार ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा छापा मारी केही महत्त्वपूर्ण कागजात समेत नियन्त्रणमा लिइएको छ ।
सरकारले हालै शंकर समूहका अग्रवालहरू, इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट र हिमालयन रि–इन्स्योरेन्सका सञ्चालकहरूविरुद्ध धितोपत्र, बिमा र सम्पत्ति शुद्धीकरणका मुद्दा दायर गरेको छ । ‘अनुसन्धानका क्रममा व्यवसायीहरूको बयानबाट पौडेलको बिचौलिया भूमिका खुलेपछि उनलाई पक्राउ गरिएको हो,’ स्रोतले भन्यो ।
पौडेल गत २०८२ को फागुन २१ मा भएको निर्वाचनमा रूपन्देही-२ बाट उम्मेदवार थिए । उनी उक्त निर्वाचनमा रास्वपाका उम्मेदवारसँग पराजित भएका थिए ।
उनको दल नेकपा एमालेले भने पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै भर्त्सना गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेरै सरकार अधिनायकवादतर्फ उन्मुख भएको र विपक्षी दलका नेताहरूमाथि शृङ्खलाबद्ध प्रहार भइरहेको आरोप लगाएका छन् । पौडेल पक्राउको विषयमा छलफल गर्न एमालेले एमालेले सचिवालय र संसदीय दलको बैठक समेत बोलाएको छ ।
८ पटक मन्त्री
८ पटक मन्त्री बन्दा उनले ५औं पटक अर्थ मन्त्रालयको बागडोर सम्हालेका थिए ।
पौडेल पहिलो पटक २०७२ कात्तिक, दोस्रो पटक २०७७ असोज, तेस्रो पटक २०७८ जेठ, चौथो पकट २०७९ पुसमा उपप्रधान तथा अर्थमन्त्री बनेका थिए।
उनी अर्थमन्त्री बन्नुअघि २०५३ चैत १२ देखि २०५४ असोज १० सम्म युवा खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए । २०६५ भदौ ५ देखि २०६६ जेठ ७ सम्म जलस्रोत मन्त्री बनेका पौडेल २०६७ देखि २०६८ भदौ ११ गतेसम्म रक्षामन्त्री बनेका थिए ।








प्रतिक्रिया