
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका लागि देशभरबाट भेला भएका प्रतिनिधिहरूबीच यतिबेला चितवनको राजनीतिक वातावरण उम्मेदवारहरूको चर्चा र समीकरणले तातेको छ । नेतृत्व चयनदेखि भावी शक्ति सन्तुलनसम्मका बहसहरू चलिरहँदा प्रतिनिधिहरूको चासोको केन्द्रमा भने प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सचिवालयसँग जोडिएका केही अनुहार परेका छन् ।
पार्टी समायोजनको चरणदेखि सरकार सञ्चालन, नीति निर्माण, प्रशासनिक व्यवस्थापन र सुशासनका एजेन्डालाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका प्रधानमन्त्री सचिवालयका सदस्यहरू महाधिवेशनमा कस्तो भूमिकामा देखिनेछन् भन्ने विषय अहिले प्रतिनिधिहरूको छलफलको प्रमुख मुद्दा बनेको छ ।
तीमध्ये प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालको चर्चा सबैभन्दा बढी सुनिन्छ । पार्टी समायोजनदेखि सरकारको सुशासन यात्रासम्म नेपथ्यबाट सक्रिय भूमिका खेलेका ढकालले केन्द्रीय सदस्य (खुला)तर्फ उम्मेदवारी दिएका छन् ।
यस्तै मुस्लिम क्लस्टरबाट प्रधानमन्त्री वालेन्द्र शाहका राजनितीक सल्लाहकार असिम साह पनि केन्द्रिय सदस्यमा जाने पक्का भएको छ ।
त्यसैगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुबास शर्मा पनि महाधिवेशन परिसरमा चर्चाको अर्को केन्द्र बनेका छन् । सिंहदरबारका राजनीतिक तथा प्रशासनिक गतिविधिमा प्रभावशाली भूमिका खेल्दै आएका शर्मा सार्वजनिक रूपमा उम्मेदवारीको दौडमा नदेखिए पनि महाधिवेशनको अंकगणित र शक्ति सन्तुलनलाई नजिकबाट नियालिरहेका पात्रका रूपमा प्रतिनिधिहरूले चर्चा गरिरहेका छन् ।
केन्द्रीय सदस्यको आकांक्षी सूचीमा प्रधानमन्त्रीका स्वकीय सहसचिव सञ्जीव पाण्डे र स्वकीय उपसचिवहरु विशाल अधिकारी र प्रकृति ढकालको नाम पनि उत्तिकै चर्चामा छ । उम्मेदवारी घोषणा गरिसकेकी प्रकृति ढकाल प्रतिनिधिहरूमाझ सक्रिय रूपमा पुगेर आफ्नो पक्षमा समर्थन जुटाउन व्यस्त देखिएकी छन् । विभिन्न समूह र उपसमूहहरूसँग निरन्तर संवाद गरिरहेकी ढकाललाई युवा पुस्ताको प्रतिनिधित्व गर्ने अनुहारका रूपमा समेत हेरिएको छ ।
रास्वपाको आन्तरिक राजनीतिलाई नजिकबाट बुझेका विशाल अधिकारी भने उम्मेदवारभन्दा बढी रणनीतिकारका रूपमा सक्रिय देखिएका छन् । महाधिवेशनको व्यवस्थापन, समूहगत समन्वय र नेतृत्वबीचको संवादमा उनको उपस्थिति उल्लेखनीय रहेको सहभागीहरू बताउँछन् ।
यता प्रधानमन्त्रीका विश्वासपात्र मानिने सञ्जीव पाण्डे पनि महाधिवेशनकै क्रममा प्रतिनिधिहरूसँग सरकारका उपलब्धि, सुशासनका पहल र जनतामा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमबारे संवाद गर्न व्यस्त छन् । उम्मेदवारी दिने वा नदिने विषयमा उनले स्पष्ट संकेत नदिए पनि उनको नाम सम्भावित आकांक्षीको सूचीमा निरन्तर चर्चामा छ ।
प्रधानमन्त्री सचिवालयका यी पाँच अनुहारमध्ये सुदीप ढकाल र प्रकृति ढकाल प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने लगभग निश्चित मानिएका छन् । तर सुबास शर्मा, सञ्जीव पाण्डे र विशाल अधिकारी चुनावी मैदानमा होमिने हुन् वा मनोनयनमार्फत नेतृत्व तहमा आउने हुन् भन्ने विषय अझै प्रतिनिधिहरूको चासो र चर्चाको केन्द्रमै छ ।
महाधिवेशनस्थलमा सुनिने बहसहरूको निष्कर्ष एउटै छ । सरकार सञ्चालनको नेपथ्यमा देखिएका यी अनुहारहरू अब पार्टी संगठनको औपचारिक नेतृत्वमा कति बलियो उपस्थितिसहित देखिन्छन् भन्ने प्रश्नको जवाफ महाधिवेशनले दिनेछ । चितवनमा चलिरहेको यही चर्चा अहिले प्रतिनिधिहरूदेखि राजनीतिक वृत्तसम्मको प्रमुख आकर्षण बनेको छ ।








प्रतिक्रिया