विश्वकपमा मेस्सीका १८ मध्ये १४ गोल बायाँ खुट्टाले, अरु के के बने रेकर्ड


एजेन्सी । विश्व फुटबलका महान खेलाडी लियोनेल मेस्सीले फेरि एक पटक इतिहास रचेका छन् ।

अस्ट्रियाविरुद्ध दुई गोल गर्दै अर्जेन्टिनाका कप्तान मेस्सीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएका छन् । यससँगै उनले लामो समयसम्म १६ गोलसहित विश्वकपका सर्वाधिक गोलकर्ता रहेका जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान तोडेका छन् ।

३८ वर्षका मेस्सीले अब इतिहासलाई पछ्याइरहेका छैनन्, बरु नयाँ इतिहास लेखिरहेका छन्। उनको यो उपलब्धिले विश्व फुटबलमा अर्को अविस्मरणीय अध्याय थपेको छ ।

मेस्सीका यी १८ गोलले उनको महानता झल्काउँछन् । तर ती गोल गर्ने शैली पनि त्यत्तिकै विशेष छ। तथ्यांकअनुसार उनले विश्वकपमा अहिलेसम्म एउटा पनि गोल हेडमार्फत गरेका छैनन् । उनका १८ गोलमध्ये १४ गोल बायाँ खुट्टाले र ४ गोल दायाँ खुट्टाले गरेका छन्। यसले उनको खेल शारीरिक शक्तिभन्दा पनि उत्कृष्ट नियन्त्रण, सन्तुलन र सटिक फिनिसिङमा आधारित रहेको देखाउँछ।

मेस्सीले सन् २००६ को जर्मनी विश्वकपमा सर्बिया र मोन्टेनेग्रोविरुद्ध पहिलो विश्वकप गोल गरेका थिए । त्यसपछि २०१४ को ब्राजिल विश्वकपमा बोस्निया–हर्जेगोभिना, इरान र नाइजेरियाविरुद्ध चार गोल गरे। २०१८ को रुस विश्वकपमा उनले नाइजेरियाविरुद्ध एक गोल थपे ।

सन् २०२२ को कतार विश्वकपमा मेस्सीले साउदी अरेबिया, मेक्सिको, अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसिया र फाइनलमा फ्रान्सविरुद्ध दुई गोलसहित कुल सात गोल गरे । अहिले जारी २०२६ विश्वकपमा उनले अल्जेरियाविरुद्ध ह्याट्रिक र अस्ट्रियाविरुद्ध दुई गोल गर्दै आफ्नो कुल गोल संख्या १८ पुर्‍याएका हुन् ।

यससँगै मेस्सी विश्वकपका ६ संस्करण खेल्ने इतिहासकै पहिलो खेलाडी पनि बनेका छन् । अर्जेन्टिना नकआउट चरण नजिक पुगेको छ भने मेस्सीले पहिलो दुई खेलमै पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रता लिएका छन् ।

अब अर्जेन्टिनाले खेल्ने प्रत्येक खेलसँगै मेस्सीसँग आफ्नो नयाँ कीर्तिमान अझै अगाडि बढाउने अवसर हुनेछ । केही वर्षअघि असम्भव जस्तो देखिएको १८ गोलको कीर्तिमान आज यथार्थ बनेको छ। अब उनी कहाँसम्म पुग्छन् भन्ने प्रतीक्षा मात्र बाँकी छ।

Skip This