
एजेन्सी । प्रविधिको क्षेत्रमा अमेरिकाविरुद्ध अब्बल ठहरिनका लागि चीनले ५० अर्ब डलर लगानी गर्ने भएको छ ।
चाइना नेशनल इन्टिग्रेटेड सर्किट इन्भेस्टमेन्ट फन्डले लिथोग्राफी र चिप डिजाइन टूल लगायतका क्षेत्रमा जोड दिँदै उक्त लगानी गर्न लागेको ब्लूमबर्ग सञ्चारमाध्यमले खबर दिएको छ ।
‘चाइनाज ५० बिलियन डलर चिप फन्ड स्विचेज ट्याक टु फाइट यूएस कर्ब्स’ शीर्षकको समाचारमा चिनियाँ लगानी तेस्रो चरणमा प्रवेश गरेको र यसअघिका दुई चरणको भन्दा बढी पैसा खर्च गर्न लागिएको उल्लेख छ ।
सेमीकन्डक्टर क्षेत्रमा चीनको स्वायत्तता सुनिश्चित गर्नका लागि राष्ट्रपति सी चिनपिङले सन् २०१४ मा सुरु गरेको उक्त लगानीले चीनलाई चिपमा आत्मनिर्भर बनाउने प्रयास गरेको थियो ।
त्यसको केही समयपछि अमेरिका र चीनबीच व्यापारयुद्ध सुरु भयो र अमेरिकाले चीनलाई उच्च प्रविधिमा पहुँच दिन रोक लगायो ।
विशेषगरी, तत्कालीन राष्ट्रपति जो बाइडनले सन् २०२२ मा चीनको सेमीकन्डक्टर उद्योगलाई बन्द गराउने लक्ष्यका साथ निर्यात प्रतिबन्ध लगाएका थिए र बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई निरन्तरता दिएका छन् ।
तर, त्यसले चीनलाई प्रविधि विकास गर्नबाट रोक्न सकेन ।
चीनलाई सेमीकन्डक्टर उत्पादनमा थप अब्बल बनाउनका लागि सरकारले ३४४ अर्ब युआन अर्थात् करिब ५० अर्ब डलर खर्च गर्न लागेको हो ।
यस्तो किसिमको नगद प्रवाहले शाङ्हाई चाङच्याङ हाई टेक पार्क डिभलपमेन्ट कम्पनी र ह्वावे जस्ता चिप उत्पादन कम्पनीहरूलाई लाभ पु¥याउने ब्लूमबर्गले अनुमान गरेको छ । उदीयमान चिप डिजाइन सफ्टवेयर कम्पनी इम्पाइरियन टेक्नोलोजीले पनि यसबाट फाइदा उठाउन सक्छ ।








प्रतिक्रिया