रुससँग कारोबार गर्ने मुलुकविरुद्ध आयातकर लगाउन अमेरिकी सांसदले गरे पहल


एजेन्सी । रुससँग कारोबार गर्ने मुलुकहरूमाथि ५०० प्रतिशत आयातकर लगाउनका लागि अमेरिकी सिनेटर लिन्डसे ग्राहमले विधेयक पेश गरेका छन् ।

ती मुलुकहरूले रुससँग कारोबार गरेर युक्रेन युद्ध लम्ब्याउन भूमिका खेलेको ग्राहमको तर्क छ ।

यस विधेयकले चीन र भारत जस्ता मुलुकलाई मात्र नभई टर्की, दक्षिण कोरिया, जापान र युरोपेली संघका कतिपय मुलुकहरूलाई पनि असर पार्नेछ ।

द वाशिङटन पोस्टमा जिम गेराग्टीले प्रकाशित गरेको लेख ‘ए वेल इन्टेशन्ड सिनेट मुभ अगेन्स्ट रसिया इज होपलेस्ली मेस्सी’ मा तर्क गरिएअनुसार, यो विधेयक पारित भएमा अमेरिकाले विशाल स्तरको व्यापारयुद्ध गर्नुपर्ने हुन्छ ।

सन् २०२४ मा युरोपेली संघले रुसबाट २३ अर्ब डलर बराबरको जीवाष्म इन्धन आयात गरेको थियो । त्यो एक वर्षमा युरोपेली संघले युक्रेनलाई पठाएको आर्थिक सहायताभन्दा यो बढी रकम हो ।

भारत र टर्कीले सक्रिय रूपमा रुसी कच्चा तेल खरिद गरिरहेका छन् । भारतले सन् २०२४ मा ४९ अर्ब युरो बराबरको र टर्कीले त्यही वर्ष रुसको कुल तेल निर्यातको २१ प्रतिशत आयात गरेको तथ्यांक छ ।

उता दक्षिण कोरिया र ताइवानले रुसी कोइला आयात गरिरहेका छन् भने जापानले एलएनजी ग्यास आयात गरिरहेको छ । अमेरिकाले पनि रुससँग आणविक इन्धन किन्ने गरेको छ ।

यस्तो स्थितिमा रुससँग कारोबार गर्ने मुलुकमाथि चर्को आयातकर लगाउँदा त्यसले ती देशहरूसँग अमेरिकाको व्यापारयुद्ध बढाउनेछ । पहिले नै सबै मुलुकसँग व्यापारयुद्ध गरिरहेको अमेरिकालाई यस कदमले अर्थतन्त्रमा ठूलो झड्का दिने गेराग्टीको तर्क छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सबक सिकाउने हुँदा अमेरिकाकै नाक काटिन सक्ने भनी गेराग्दीले लेखेका छन् ।