कृषि मन्त्रीको निरीहता, भने: मलको हाहाकार छ, हुन्छ

210
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् ।

नेपाल डेरी एसोसिएशनले आयोजना गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले मलको हाहाकार रहेको र भइरहने बताए ।

गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको बताए ।

बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्‍याउनसक्ने स्थिति नरहेको बताए ।

‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भए पनि हुन्छ । गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन,’ उनले भने, ‘बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ । एक चौथाई मलले हामीले कसरी किसानलाई समयमा पुर्‍याउनसक्छौँ । सम्भावनै छैन । तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ आउँछ भन्नैपर्छ ।’

उधारो दुध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उनले दुःखेसो गरे ।

मन्त्री अधिकारीले भने, ‘हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ । उधारो दुध वर्षौंदेखि खाइरहेका छौँ । त्यो कहिले तिर्ने ? समस्या धेरैतिर छ । तर पनि खुशी मानेर सबैका बीचमा उभिनुपर्ने रहेछ । हामीले जुनसुकै पेशा र व्यवसाय गरौँ । कमजोरी नगरौँ । तल्लो तहमा रहेका किसानलाई हामीले कतैबाट पनि धोका नदिऔँ । एउटा भैँसी र एउटा गाई पाल्नका लागि असाध्यै कठिन हुन्छ । तल्लो तहमा रहेका मानिसहरुलाई धोका नदिऔँ । म मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो । रहर पनि थियो, नयाँ परिवर्तन गर्छु, यदी मुलुकमा हामीसँग आर्थिक सिमितता, आर्थिक संकुचन थिएन भने धेरै चिज हामीले गथ्र्यौं ।’