इन्टरनेटमा १६ अर्ब अकाउन्टहरू जोखिममा, पासवर्ड परिवर्तन गर्न विज्ञहरूको आग्रह



इन्टरनेट प्रयोगकर्ताहरूलाई आफ्‌नो पासवर्ड परिवर्तन गर्न र डिजिटल सुरक्षालाई थप बलियो बनाउन साइबरविज्ञहरूले सल्लाह दिएका छन् ।

अन्लाइन प्रविधिसम्बन्धी प्रकाशन साइबरन्युजका अनुसन्धाताहरूले १६ अर्बवटा खाताहरू जोखिममा रहेको बताएका छन् ।

इन्फोस्टीलर्स नामक मालवेयरबाट प्राप्त ३० वटा डेटासेट फेला पारेर ती अनुसन्धाताहरूले यो खुलासा गरेका हुन् ।

ती डेटासेटहरू एकछिनको लागि मात्र देखिए पनि तिनले १६ अर्ब लगइन रेकर्डहरूलाई असर पारेको ह्‌न सक्ने अनुसन्धाताहरूले बताएका छन् । कतिवटा अकाउन्ट वा मानिस यो मालवेयरबाट प्रभावित भएका हुन् भनी ठ्याक्कै भन्न सकिन्न ।

साइबरन्युजका अनुसार, फेसबूक, एप्पल र गूगलका अकाउन्टमा यस मालवेयरले पहुँच बनाउन सक्छ तर अहिलेसम्म यी कम्पनीहरूमा डेटा ह्याक भएको छैन ।

यस अनुसन्धानमा संलग्न युक्रेनी साइबरसुरक्षा विशेषज्ञ बब डियाचेन्कोले डेटासेटहरू टाढाका सर्भरहरूमा असुुरक्षित रूपमा भण्डारण गरिएकाले केही समयका लागि उपलब्ध भएको बताए । तिनलाई तत्कालै हटाइएको थियो । आफूले ती फाइलहरू डाउनलोड गरेको र प्रभावित व्यक्ति तथा कम्पनीहरूलाई सम्पर्क गर्न खोजेको उनले बताए ।

तर अन्य साइबर सुरक्षाविद्हरूले यो डेटा सबैतिर पुगिसकेको हुन सक्ने बताएका छन् ।

सोफोस नामक साइबरसुरक्षा कम्पनीका निर्देशक पिटर म्याकेन्जीका अनुसार, यो डेटा अन्लाइन अपराधीहरूले दुरुपयोग गर्न सक्छन् । कस्तो सूचना अहिले साइबर अपराधीहरूको आतमा पुगेको हुन सक्छ भनी आफूहरूले अध्ययन गरिरहेको उनले बताए ।

सबैजनालाई पासवर्ड अपडेट गर्न, पासवर्ड म्यानेजर उपयोग गर्न र मल्टिफ्याक्टर अथेन्टिकेशन उपयोग गर्न उनले आग्रह गरेका छन् ।

डार्कट्रेस नामक साइबरसुरक्षा कम्पनीमा जोखिम विश्लेषण शाखाका प्रमुख टोबी लिविसले अनुसन्धानमा देखिएको शंकास्पद डेटाको सत्यतथ्य स्थापना गर्न गाह्रो भए पनि इन्फोस्टीलर्स नामक मालवेयर खराब मानिसहरूले प्रयोग गर्ने गरेकाले सतर्क हुनुपर्ने बताएका छन् ।