मितेरी सहकारी प्रकरण: कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट करोडौं रुपैयाँ ठगी गरेको आरोपमा कम्बोडियाबाट पक्राउ परेका ज्योतिबहादुर भण्डारीलाई अदालतले ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले भण्डारीमाथि अनुसन्धान गर्न प्रहरीलाई सात दिनको म्याद दिएको हो । भण्डारीमाथि ठगी तथा किर्ते मुद्दामा अनुसन्धान भइरहेको छ।

भण्डारीले मितेरी सहकारीको झन्डै ३ करोड ४४ लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा फेला परेको छ ।

सो प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङको संलग्नताबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ज्योतिबहादुर भण्डारीमाथि नागरिकता र राहदानी किर्तेको अभियोगमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भण्डारीले लिएका दुईवटा राहदानीमा फरक नागरिकता नम्बर र फरक जन्मस्थान उल्लेख भएको पाइएको छ ।