धनराज गुरुङ जोडिएको मितेरी सहकारी ठगी: सीआईबीले थाल्यो अनुसन्धान



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ ।

उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामीकहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ ।’

सो सहकारीका अध्यक्ष कुम्मराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गरेका थिए ।

उक्त सहकारी ठगीमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य धनराज गुरुङ जोडिएका छन् । ज्योति धनराजकी श्रीमती हुन् । तर, धनराजले भने आफूले ज्योतिसँग डिभोर्स गरिसकेकाले पूर्वपत्नीको कारोबार बारे आफूलाई जानकारी ‍नहुने बताउँदै आएका छन् ।


क्लिकमान्डु