गीताप्रेसका कृतिहरू मोबाइल एपमा पढ्न पाइने, लिङ्ग र मत्स्य महापुराणको नेपाली अनुवाद विमोचन

28
Shares

काठमाडौं । गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखा गीताप्रेस नेपालले आफ्नो स्थापनाको प्रथम दशकको गौरवमय उत्सव भव्य रूपमा सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रम काठमाडौंको वनकाली स्थित माधवराज सुमार्गी स्मृति भवनमा सम्पन्न भएको हो। उक्त अवसरमा श्रीलिङ्ग महापुराण र श्रीमत्स्य महापुराणको नेपाली अनुवादको विमोचनका साथै गीताप्रेस नेपालको वेबसाइटहरू गिताप्रेसनेपाल डट ओआरजी, गिताप्रेसनेपाल डटकम र गिताप्रेस मोबाइल एपको औपचारिक शुभारम्भ गरिएको छ।

कार्यक्रम गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंका अध्यक्ष जयकिसन साडाको अध्यक्षता, गीताप्रेस गोरखपुरका प्रबन्धक डा. लालमणि तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट, मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन र गीता परिवार नेपालकी अध्यक्ष श्रीमती सारिका अग्रवाल विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा अध्यक्ष साडाले गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखाको रूपमा नेपालमा स्थापना भएको नौ वर्ष सफलतापूर्वक पुरा भई दसौं वर्ष प्रवेश गरेको स्मरण गर्दै, गीताप्रेस नेपालमार्फत सत्साहित्यको प्रचार–प्रसार, निःशुल्क वितरण र अध्ययनका लागि डिजिटल पहुँचलाई सशक्त बनाउने उद्देश्यले वेबसाइट तथा मोबाइल एप सार्वजनिक गरिएको जानकारी दिए।

गीताप्रेसका धार्मिक ग्रन्थहरू अब डिजिटल माध्यमबाट निःशुल्क उपलब्ध हुने र रामायण, उपनिषद, स्तोत्र, चालिसा, कर्मकाण्डलगायत सत्साहित्य आम जनमानसले सहज रूपमा अध्ययन गर्न सक्ने वातावरण निर्माण गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।

गीताप्रेस नेपालबाट सिंगापुर, दुबई, अमेरिका, अष्ट्रेलियालगायत देशहरूमा पुस्तक वितरण भइरहेको र अब नेपालमै ‘गीता भवन’ निर्माणको योजना अघि सारिएको पनि जानकारी दिइयो । यस भवनमा थोक तथा खुद्रा विक्री केन्द्र, पुस्तक गोदाम तथा वितरण कार्यालय स्थापना गर्ने र मोबाइल प्रचार गाडीमार्फत देशभर सत्साहित्य प्रवाह गरिने योजना सार्वजनिक गरिएको छ। १५०० वर्गफुट क्षेत्रफल बराबरको उपयुक्त जग्गाको खोजी जारी रहेको र जग्गा दान गर्ने महानुभावका लागि विशिष्ट ट्रस्टीको व्यवस्था गरिने पनि उल्लेख गरियो।

कार्यक्रममा डा. वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा संचालन गरिएको “घर–घर गीता, हाम्रो अभियान” को सफल कार्यान्वयन तथा गीता जयन्ती महोत्सवको आयोजना, सरल नेपाली गीता प्रकाशन गरी हजारौं विद्यार्थीलाई वितरण गरिएको जानकारी दिइयो।

नेपाली भाषामा ६० भन्दा बढी ग्रन्थहरूको अनुवाद सम्भव बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने प्रा. शिवगोपाल रिसाल, डा. गोविन्द टण्डन, डा. काशीनाथ न्यौपाने, आचार्य लक्ष्मण भण्डारी, प्रा. पदमप्रसाद भट्टराई, स्व. विष्णुराज आत्रेय, केदारनाथ दास, माहेश्वर खनाल लगायतका विद्वानहरूप्रति पनि कार्यक्रममा विशेष आभार प्रकट गरिएको थियो।