
एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) का कारण उत्पन्न मेमोरी चिपको विश्वव्यापी अभावले स्मार्टफोन उद्योगमा सुनामी जस्तै धक्का दिएको छ । यसले फोनको मूल्यलाई अहिलेसम्मकै उच्च विन्दुमा पुर्याएको छ ।
बोस्टनस्थित प्रविधि विश्लेषण गर्ने संस्था इन्टरनेशनल डेटा कर्पोरेशनको नयाँ प्रतिवेदन अनुसार, मेमोरी पार्टपुर्जाहरूको बढ्दो अभावले फोन निर्माताहरूलाई व्यवसायबाटै विस्थापित गराउने र यो वर्ष स्मार्टफोनहरू पहिलेभन्दा धेरै महँगो बनाउने अपेक्षा गरिएको छ ।
‘हामीले जे देखिरहेका छौं, त्यो अस्थायी समस्या मात्र नभई मेमोरी आपूर्ति श्रृंखलाबाट सुरु भएको सुनामी जस्तै धक्का हो ।
त्यसको प्रभाव सम्पूर्ण उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा फैलिरहेको छ,’ आईडीसीका मोबाइल उपकरण अनुसन्धान प्रमुख फ्रान्सिस्को जेरोनिमोले बिहीबारको रिपोर्टमा भनेका छन् ।
यो वर्ष स्मार्टफोनको औसत बिक्री मूल्य १४ प्रतिशतले बढेर अहिलेसम्मकै उच्च ५२३ डलर पुग्नेछ जबकि निर्माताहरूले अब १०० डलरभन्दा कम मूल्यका फोनहरू बनाउन सक्ने छैनन् भनी रिपोर्टले अनुमान गरेको छ ।
सन् २०२६ मा स्मार्टफोनको बिक्रीमा १२.९ प्रतिशतको कीर्तिमानी गिरावट आएर १.१२ अर्ब युनिटमा झर्ने आईडीसीले भविष्यवाणी गरेको छ । यो एक दशकभन्दा बढी समयपछिको सबैभन्दा न्यून स्तर हो ।
यो विशेष सेमिकन्डक्टर संकट आर्टिफिसियल इन्टेलिजेन्सको लहर र त्यसपछि मेमोरी चिपमा धेरै निर्भर हुने डेटा सेन्टरहरू निर्माण गर्ने होडबाजीबाट उत्पन्न भएको हो । माग अत्यधिक बढेपछि एसियामा विश्वका ठूला मेमोरी चिप निर्माताहरूले आफ्नो आपूर्ति एआई उद्योगतर्फ मोडेका छन् । त्यसले ल्यापटप, गेमिङ कन्सोल र फोन जस्ता उपभोक्ता इलेक्ट्रोनिक्सका लागि थोरै मात्र चिपहरू बाँकी छोडेको छ ।
यस अभावले स्मार्टफोन निर्माताहरूलाई स्थायी रूपमा असर गर्ने र गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्ने साना निर्माताहरूमा यसको बढी प्रभाव पर्ने बताएको आईडीसीले जनाएको छ । अर्कोतर्फ, एप्पल र सामसुङ जस्ता प्राविधिक दिग्गजहरू यो पीडाबाट सुरक्षित रहनेछन् र उनीहरूलाई बजार हिस्सा बढाउने अवसर मिल्नेछ ।
‘छोटकरीमा भन्नुपर्दा विक्रेता र उपभोक्ताहरूका लागि व्यवसाय पुरानै अवस्थामा फर्कने सम्भावना छैन,’ आईडीसीकी वरिष्ठ अनुसन्धान निर्देशक नबिला पोपालले सोही रिपोर्टमा भनेकी छन् ।
वर्षौंसम्म, मेमोरी चिप्सलाई कम्प्युटर प्रोसेसिङमा प्रयोग हुने अत्याधुनिक चिप्सको तुलनामा न्यून नाफा हुने तर स्थिर व्यवसाय मानिन्थ्यो ।
एआईबाट बढ्दो मागले त्यसलाई परिवर्तन गरिदिएको छ ।
एआई चिप्सकै कारण विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको एनभिडियाका मुख्य कार्यकारी जेन्सेन ह्वाङले एआईको विकासका लागि मेमोरी चिप्स अपरिहार्य रहेको भनेका छन् ।
‘एआई उपयोगी हुनका लागि आवश्यक पर्ने मेमोरीको मात्रा निकै उल्लेख्य रूपमा बढिरहेको छ,’ उनले जनवरीको अन्त्यमा ताइवानमा पत्रकारहरूलाई भनेका थिए, ‘एआईको भविष्यका लागि मेमोरी धेरै महत्त्वपूर्ण छ ।’
एआईमा सुधार हुँदै जाँदा यसलाई प्रोसेसिङ पावर र मेमोरी भण्डारण दुवैको ठूलो मात्रा आवश्यक पर्छ । विशेषगरी, स्मार्टफोन र ल्यापटपलाई चाहिने पुरानो प्रविधिलाई डीआरएएम (डायनामिक र्यान्डम–एक्सेस मेमोरी) भनिन्छ ।
तर, ती पार्टपुर्जाहरू अहिले अर्को बढी उन्नत प्रकारको चिपमा प्रयोग भइरहेका छन् जसले डेटा सेन्टर र ठूलो मात्रामा भण्डारण चाहिने अन्य प्रविधिहरूलाई सहयोग गर्दछ जसलाई एचबीएम (हाइ ब्यान्डविथ मेमोरी) भनिन्छ ।
प्रविधि अनुसन्धान संस्था काउन्टरपोइन्ट रिसर्चका अनुसार, अहिले दुवै डीआरएएम र एचबीएम चिप्सको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ र सन् २०२६ को पहिलो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा झण्डै दोब्बर भएको छ । यसले इलेक्ट्रोनिक्स निर्माताहरूलाई उनीहरूका उपकरणहरूमा मेमोरी घटाउन वा प्रिमियम उत्पादनहरू बनाउनमा मात्र ध्यान केन्द्रित गर्न बाध्य पारेको छ ।
विश्वका शीर्ष तीन मेमोरी चिप आपूर्तिकर्ताहरू एसके हाइनिक्स, सामसुङ र माइक्रोनको सेयर मूल्य यस वर्ष अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ र उनीहरूको उत्पादन क्षमता लगभग पहिले नै बुक भइसकेको छ ।
ताइवानका प्रतिस्पर्धी कम्पनीहरू नान्या टेक्नोलोजी कर्पोरेशन, विनबोन्ड इलेक्ट्रोनिक्स कर्पोरेशन र पावरचिप सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेशन सबैले उत्पादन बढाउने वाचा गरेसँगै उनीहरूको सेयरमा पनि उछाल आएको छ ।
मेमोरीको अभाव अर्को वर्षसम्म नै कायम रहने विश्लेषक र प्राविधिक कार्यकारीहरूले चेतावनी दिएका छन् । जनवरीको एक कार्यक्रममा टेस्लाका सीईओ एलोन मस्कले बताएअनुसार, मेमोरी चिप्सको सीमित आपूर्ति भविष्यको वृद्धिका लागि सबैभन्दा ठूलो चुनौतीमध्ये एक हुन सक्छ र उनले आपूर्ति सुनिश्चित गर्न कम्पनीले आफ्नै चिप उत्पादन सुविधाहरूमा लगानी गर्नुपर्ने सुझाव दिएका थिए ।








प्रतिक्रिया