सञ्चालक समिति सदस्य सबैलाई जोगाएर टेलिकमका कर्मचारी विरुद्ध मात्रै मुद्दा, ९ जना परे बहालवाल

567
Shares

काठमाडौं । विलिङ खरिदमा ३३ करोड रुपैयाँ अनियमितता गरेको आरोपमा अख्यिार दुरपयोग अनुसन्धान आयोगले टेलिकमका तत्काली सञ्चालक समिति जोगाएर कर्मचारी विरुद्ध मात्रै मुद्धा दायर गरेको छ ।

टेलिकमका तत्काली सञ्चालक समितिका अध्यक्षदेखि सदस्यसम्मलाई मुद्दा नचल्ने सूचीमा राखेर बहालवाला ९ जना सहित १४ कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेको छ ।

टेलिकमका प्रवन्ध निर्देशक संगीता पहाडी अर्याल, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान, उपप्रवन्धक राजीवकुमार केसी, उप प्रवन्धक सन्तोषकुमार श्रेष्ठ, उपप्रवन्धक नवल चौधरी, उप प्रवन्धक मुक्तिप्रसाद दाहाल, उप प्रवन्धक हेमप्रभाव कर्ण र उपप्रवन्धक परमात्मा भट्टराईलाई भ्रष्टाचार मुद्दा लागेको छ ।

टेलिकमका बिलिङको रियल टाइम विलिङको ठेक्का गर्दा ९ करोड ८८ लाख रुपैयाँ खर्च भएकोले त्यति नै रकम हरेक प्रतिवादी कर्मचारीबाट अशुलउपर गर्नुपर्ने र ३३ करोड ४८ लाख रुपैयाँ विगोसहितको सजाय माग गरेर अख्तियारले आइतबार विशष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्यियारले भ्रष्टाचार मुद्दाबाटै निम्बनमा परका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेललाई फेरि अर्को मुद्दा लगाएको छ । यी बाहेक अवकासप्राप्त कर्मचारीहरु प्रतिभा वैद्य, झविन्द्रलाल उपाध्याय, विनिता श्रेष्ठ, देवेन्द्र खतिवडालाई मुद्दा लगाएको छ ।

अख्तियारले तत्कालिन सञ्चालक समितका अध्यक्ष हरिप्रसाद बस्याल र डा.वैकुण्ठ अर्याल सञ्चार सचिव हुँदा टेलिकमको अध्यक्षका रुपमा प्रतिनिधित्व गरेको भएपनि उनिहरु विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।

तत्कालिन सञ्चालक समिति सदस्य भूपाल बराल (हालका सचिव), उत्तरकुमार खत्री, शङ्कर लामिछाने, कम्पनी सचिव राजेन्द्र अर्याल, तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र तत्कालीन प्राविधिक अधिकृत भानुराज श्रेष्ठविरुद्ध मुद्दा दायर नगर्ने निर्णय अख्तियारले गरेको छ । अख्तियारको यो निर्णयसँगै सञ्चालक समितिलाई जोगाएर कर्मचारीलाई मात्रै मुद्दा दायर भएको देखिन्छ ।