
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनबाट टेलिफोनको तार चोरी भएपछि १७ घण्टादेखि नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन सेवा अवरुद्ध भएको छ ।
टेलिकमको फाइबर चोरी भएपछि मंगलबार साँझ ७ बजेदेखिदेखि आन्तरिकतर्फको ल्यान्डलाइन टेलिफोनमा सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आन्तरिक विमानस्थल जाने बाटोमा नेपाली सेनाको क्षेत्र नजिकै टेलिकमको तार काटिएको फेला परेको छ ।
‘आन्तरिक विमानस्थल जाने बाटोमा नेपाली सेनाको क्षेत्र नजिकै टेलिकमको तार काटिएको फेला परेको छ,’ उनले भने, ‘अहिले मर्मतको काम भइरहेको छ ।’
तार चोरी भएको आंशकसहित प्राविधिकले टेलिफोन मर्मत गर्ने काम गरिरहेका छन् । शेर्पाका अनुसार प्राविधिकले हेर्दा तार काटिएको फेला परेकोले पहिलो प्राथमिकता मर्मतमा दिइएको छ।
टेलिकमका प्राविधिकहरुका अनुसार ७ देखि ८ मिटर तार काटेर लगिएको पाइएको छ।
टेलिफोन सेवा अवरुद्ध भएपछि आन्तरिक वायुसेवा कम्पनीहरूले सूचना जारी गर्दै यस विषयमा ग्राहकलाई टोलफ्रिसहितको वैकल्पिक नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
आन्तरिक वायुसेवा कम्पनी बुध्द एयरले मंगलबार साँझदेखि देखिएको टेलिफोन समस्याका कारण ग्राहक सेवमा असर परेको बताएको छ । बुध्दले ग्राहकलाई बैकल्पिक नम्बरमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।
नेपाल टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रले भने टेलिफोनमा समस्या आएपछि प्राविधिक खटाएर मर्मत भएको दाबी गरे । उनले केवलमा समस्या आउँदा त्यसबाट प्रवाह भएको बुध्द एयरसहितका केही एयरलाइन्स कम्पनीको टेलिफोनमा समस्या आएको बताए ।
प्रावधिक समस्या आएर आन्तरिक टर्मिनलमा केही एयरलाइन्सको टेलिफोन सेवा अवरुद्ध भएको हो,’ उनले भने, ‘अहिले मर्मत भएर सञ्चालनमा आइसकेको छ ।’










प्रतिक्रिया