
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति पेचिलो बन्दै जाँदा सत्तारूढ दल नेपाली कांग्रेसले विकल्पका बारेमा छलफल थालेको छ । कांग्रेसको पहिलो रोजाइका रुपमा हेरिएका डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नहुँदा विकल्प अघिसार्ने तयारी भएको हो ।
शुक्रबार बिहान बसेको पार्टी पदाधिकारी, पूर्वपदाधिकारी तथा मन्त्रीहरुबीचको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले नयाँ विकल्प दिने संकेत गरेका थिए । देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. नीलन ढुंगाना तिम्सिनाका कारण गभर्नर नियुक्ति ढिला भएको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली वा दुई दलबीच कुरा नमिलेकाले गभर्नर नियुक्त हुन नसकेको हल्लाहरुमा सत्यता नभएको उनले नेताहरुलाई बताए ।
तीन दिनअघि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्त हुन नसकेको बताएका थिए ।
‘अहिले एमालेसँग हाम्रो गठबन्धन छ । गठबन्धनमा केपी ओलीले कुनै समस्या सिर्जना गर्नु भएको छैन । गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या होइन, राष्ट्र बैंकभित्रै आएको समस्या हो,’ देउवाले भनेका थिए, ‘हामीले भनेको उम्मेदवारका लागि गाह्रो भइरहेको छ । उहाँ(केपी ओली) कांग्रेसलाई गभर्नर दिने पक्षमा हुनुहुन्छ । उहाँले सहयोग गर्नु भएको छ ।’
शुक्रबार पार्टी नेताहरुसँगको बैठकमा पनि उनले यही कुरा दोहोर्याएको एक पदाधिकारीले क्लिकमान्डुलाई जानकारी दिए । ‘गुणाकरजीमा कुरा नमिले अर्को व्यक्ति अघि सार्ने संकेत गर्नुभयो,’ उनले भने ।
कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा कुनै पनि हालतमा स्वीकृत नगर्ने अडान राखेकी छन् । भट्टको राजीनामा स्वीकृत नभएर अर्का योग्यलाई अघि सार्ने तयारी रहेको उनको दाबी छ ।
‘एक–दुई दिनमै भट्टजीको राजीनामा स्वीकृत नभए अर्कै योग्य व्यक्ति छानेर गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी छ,’ उनले भने,’ गभर्नरका विषयमा प्रधानमन्त्रीसँग कांग्रेसले लिने गरि सहमति भइसकेको छ । प्राविधिक रुपमा समस्या हुने भयो भने भनेर कसरी अघि बढ्ने भन्ने विभिन्न विकल्पमा छलफल भएको हो ।’
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन समेत अटेर गर्दै उनले कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले वैशाख ५ मै दिएको राजीनामा स्वीकृत गरेकी छैनन् ।
केही समयअघि अर्थमन्त्री विष्णु पौडेलले पनि कामु गभर्नर नीलमलाई भट्टको राजीनामा स्वीकृत गर्न भनेका थिए ।
कामु गभर्नर नीलमले आफ्नो हातले गुणाकरको राजीनामा स्वीकृत गर्नै नसक्ने बताइरहँदा गुणाकरलाई रोक्न सकेको खण्डमा आफू नभए पनि कांग्रेसकै भागमा पर्दा आफ्ना काका ज्ञानेन्द्र ढुंगाना गभर्नर बन्नसक्ने आँकलन गरेर अडान कायमै राखेकी स्रोत बताउँछ ।
नबिल बैंकबाट राजीनामा दिएर ज्ञानेन्द्र गभर्नर बन्ने प्रतिस्पर्धामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले गुणाकर भट्टलाई गभर्नर बनाउन चाहेका छन् भने देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजू राणा देउवाले ज्ञानेन्द्रको कुरा गरिरहेकी छन् ।
आरजूले ज्ञानेन्द्र ढुंगाना पनि गर्भनरको लागि योग्य मान्दा देउवानिकट रहेका अर्का एक अर्थशास्त्रीको नाम पनि कांग्रेस वृत्तमा अघि सरेको हो ।
त्यो नाम हो, अंगराज तिमिल्सिना । विकास अर्थविद् तिमिल्सिना बाजुराका हुन् ।
बाजुराबाट विद्यालय शिक्षा पूरा गरेका अंगराज तिमिल्सिनाले अमेरिकास्थित थिंक ट्यांक एण्ड कर्पोरेसनअन्तर्गतको ग्रयाजुएट स्कुलबाट आर्थिक नीति विश्लेषणमा फ्रान्सिस फुकुयामा मातहत रहेर विद्यावारिधी गरेका छन् । उनले त्यही थिंक ट्यांकमा रहेर द्वन्द्वोत्तर मुलुकको पुनर्निर्माणदेखि विकासशील मुलुकहरुको शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा पनि काम गरेका थिए ।
हाल तिमिल्सिना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को भ्रष्टाचार बिरोधी परियोजनाका ‘ग्लोबल प्रोग्राम एड्भाइजर’ छन् । सिंगापुरमा रहेर उनले ६० भन्दा बढी मुलुकलाई सुशासन र भ्रष्टाचार बिरोधी मामिलामा सघाउने गर्छन् ।
डा. गुणाकर भट्टलाई नै गभर्नर बनाउने भए पनि ओलीले सिफारिस समितिबाट डा. नीलम तिम्सिनाको नाम पनि सिफारिस गर्नुपर्ने भनेपछि कांग्रेसका तर्फबाट गभर्नर सिफारिस समिति सदस्य डा.विश्व पौडेलले बैठक नै बहिस्कार गरेका थिए ।
सिफारिस समितिका संयोजक अर्थमन्त्री पौडेलले पहिलो नम्बरमा डा. गुणाकर भट्ट र दोस्रो नम्बरमा नीलमको नामसहित अर्को १ जनाको नाम थप गरेर रिफारिस गर्ने गरी समितिको बैठक बोलाएका थिए । तर, नीलमको नाममा पौडेलसहित नयाँ सदस्य महाप्रसाद अधिकारी असहमत छन् ।
राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीमा रहेको व्यवस्थाअनुसार एक महिनाको तलब राष्ट्र बैंकको खातामा जम्मा गरेको भौचरसहित कानूनी प्रक्रिया पूरा गरी भट्टले वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।
भट्टलाई गभर्नर बनाउन नसक्दा कांग्रेसले अंगराज वा ज्ञानेन्द्रलाई अघि सार्ने स्रोतको भनाइ छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आजको बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने विषयमा छलफल भएको बताए । ‘गभर्नर नियुक्तिमा निकै ढिला भएको बारे नेताहरुले सभापतिजूलाई सोध्न भएको हो । सभापतिज्यूले चाँडै टुंगिन्छ भन्नु भयो ।’ महतले केन्द्रीय बैंकको नेतृत्व प्रोफेसनल व्यक्तिको हातमा जानुपर्नेमा आफूहरु स्पष्ट रहेको बताए ।
‘राष्ट्र बैंकको नेतृत्व प्रोफेसनल, व्यवसायीक व्यक्तिको हातमा जानुपर्यो,’ महले भने, ‘जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अघि बढाउन सकोस् ।’ गभर्नरको विषयमा दुई दलबीचको सहमतिमा चाँडै निर्णय हुने उनको भनाइ छ ।
शुक्रबारको बैठकमा कांग्रेस नेताहरुले लामो समयदेखि केन्द्रीय बैंकमा गभर्नर नियुक्त हुन नसकेको भन्दै सभापति देउवासँग प्रश्न गरेका थिए । त्यसक्रममा देउवाले गभर्नरको विषय चाँडै टुंगिने बताएका थिए ।
अबको केही दिन हेरेर राजीनामा नभए विकल्पमा अर्कै उमेदवार सिफारिस गरेर कुनै पनि हालतमा गभर्नर आफूले भनेको व्यक्ति नियुक्त गर्ने कांग्रेसको तयारी छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताएका छन् ।
‘सरकारले छिटोभन्दा छिटो गभर्नर नियुक्तिको प्रक्रिया निष्कर्षमा पुर्याउँछ । सरकारमा रहेका दलहरुको बीचमा गभर्नर नियुक्तिको बीचमा कुनै अन्तरविरोध असमझदारी छैन । नियमित प्रक्रियाकै ढंगबाट यो अगाडि बढेको छ,’ उनले भने ।
क्लिकमान्डुको विशेष श्रृंखला ‘को र कस्तो गभर्नर ?’ हेर्न यहाँ क्लिक गर्नुस् ।
प्रतिक्रिया