कांग्रेस एमालेबीच गभर्नरका विषयमा विवाद छैन, केही दिनभित्रै नियुक्ति: एमाले प्रमुख सचेतक

175
Shares

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताएका छन् ।

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताए ।

दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको उनको दाबी छ ।

गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उनको भनाइ छ । गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको उनको जिकिर छ ।

सरकारले छलफललाई निष्कर्षमा पुर्‍याएर छिट्टै नियुक्ति गर्ने बर्तौलाले बताए ।

‘सरकारले छिटोभन्दा छिटो गभर्नर नियुक्तिको प्रक्रिया निष्कर्षमा पुर्‍याउँछ । सरकारमा रहेका दलहरुको बीचमा गभर्नर नियुक्तिको बीचमा कुनै अन्तरविरोध असमझदारी छैन । नियमित प्रक्रियाकै ढंगबाट यो अगाडि बढेको छ,’ उनले भने, ‘केही दिनभित्रैमा तपाईंहरुले गभर्नर नियुक्ति भएको समाचार सुन्न पाउने हुनेछ । केही कानूनी विषय बने, अदालतमा प्रवेश पनि पायो । त्यसकारणले गर्दा पनि केही ढिलो भएको होला तथापि मेरो विचारमा उपयुक्त व्यक्ति, उपयुक्ति जिम्मेबारीमा उपयुक्त समयमा सरकारले निर्णय गर्छ । र केही दिनभित्रमा यो निर्णय आउँछ । थोरै ढिला भए जस्तो देखिए पनि निर्णय छिट्टै हुन्छ ।’

प्रमुख सचेतक बर्तौलाले सरकारले वर्तमान संविधान र व्यवस्था विरुद्धको कुनैपनि गतिविधिको प्रतिवाद र विरोध गर्ने बताए ।

Skip This