
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीय स्थिति विकराल अवस्थामा रहेको बताएका छन् ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले यस्तो तथ्यांक उल्लेख गरेका हुन्।
‘समग्र आर्थिक स्थिति हेर्दा विद्युत प्राधिकरण टाट अवस्थामा रहेकोले यस्तो अवस्थामा सरकार र उर्जा मन्त्रालयले सहयोग नगरेको ठाउँमा थप समस्या पैदा हुने देखिन्छ,’ शाक्यले भने, ‘अहिले आन्तरिक ऋण लिएर काम चलेको भए पनि पछि थप कठिन स्थिति आउने देखिन्छ ।’
उनले वार्षिक नाफाको तुलनामा आयोजनाहरुमा आवश्यक लगानी रकम अत्यधिक रहेको र नेपाल सरकारबाट वार्षिक विनियोजन पनि कम हुँदै गएकाले आगामी दिनहरुमा प्राधिकरणको नगद प्रवाह व्यवस्थापन कठिन हुने देखिएको बताए ।
प्राधिकरणको विगत चार वर्षको परिस्थितिको विश्लेषण गर्दा औषतमा विद्युत बिक्रीबाट हुने आम्दानीको करिब ५९ प्रतिशत विद्युत खरिदमा मात्र खर्च हुने गरेको उनले बताए ।
‘नेपाल सरकारको सेयर तथा ऋण लगानीमा सञ्चालित विभिन्न आयोजनाहरुमा विनियोजित रकम निरन्तर घट्दो क्रममा रहेको देखिन्छ। चालु आवमा नेपाल सरकारको आन्तरिक स्रोत तर्फ विनियोजित रकम ४ अर्ब २६ करोड विगत वर्षहरुको तुलनामा अत्यन्त न्यून रहेको छ,’ उनले भने, ‘वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुको स्वदेशी काउन्टरपार्ट फन्डको लागि समेत चालु आ.व.मा नेपाल सरकारको विनियोजित रकम अपर्याप्त रहेको छ।’
उनले चालु आवको फाल्गुन सम्ममा नेपाल सरकारबाट १ अर्ब ४६ करोड मात्र प्राप्त भएको र प्राधिकरणबाट १४ अर्ब ५३ करोड आयोजनाहरुमा खर्च भएको बताए । प्राधिकरणले आव २०७३/७४ देखि हालसम्म आफ्नो स्रोतबाट मात्र करिब ५९ अर्ब रकम सहायक तथा सम्बद्ध कम्पनीहरुमा लगानी गरेको उनले उल्लेख गरे ।







प्रतिक्रिया