टेलिकम कम्पनीहरुले थ्रीजी डेटा सर्भिसलाई फेजआउट गरेर फोरजी मात्रै चलाउने तयारी गर्नु भनेको अब फाइभजीका लागि तयार छौं भन्ने सन्देश दिएका छन् । नेपालले फाइभजी सेवा दिन आवश्यक पूर्वाधार बनाउनुपर्ने र यसका लागि सरकारले सहयोग गरेको अवस्थामा आम नेपाली जनताले विकसित प्रविधिको उक्त सेवा सहज र छिटो पाउने सेवाप्रदायकको दाबी छ ।

काठमाडौं । टेलिकम सेवाप्रदायकहरुले ब्रोडव्याण्डको रुपमा दिएको तेस्रो पुस्ताको मोबाइल इन्टरनेट थ्रीजीलाई यही वर्ष सन् २०२५ देखि विस्थापित गर्दै जाने भएका छन् ।
एनसेलले नेपालमा मोबाइल इन्टरनेट थ्रीजी सेवा बन्द गर्ने घोषणा २८ फागुनमा राजधानीमा आयोजना गरेको एक कार्यक्रमबाटै सार्वजनिक गरिसकेको छ । । थ्रीजी सेवा बन्द गर्ने तयारी गरिरहेको भन्दै एनसेलले यसका लागि सरकारले भिओएलटीई प्रविधि नचल्ने फोनको आयातमामा समेत कडाई गर्नुपर्ने तर्क गरेको थियो ।
नेपालमा थ्रीजी विस्थापन गरेर सबै मोबाइल ब्रोडब्याण्ड सेवा फोरजीमा मात्रै दिने तयारीमा दुबै टेलिकम सेवाप्रदायक छन् । एनसलेले पूर्वाधार विकास गर्दै थ्रीजी बन्दको समयसीमा नै सार्वजनिक गरेको छ ।
नेपाल टेलिकमले पनि थ्रीजीको विस्थापनको लागि आन्तरिक तयारी गरिसकेको भएपनि सरकारी कम्पनी भएकोले आवश्यक प्रक्रिया पूरा गरेर थ्रीजी बन्द गर्न भने समय लाग्ने बताएको छ । नेपाल टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रका अनुसार सरकारी कम्पनी भएको र खरिद प्रक्रिया पूरा गरेर अगाडि बढ्नुपर्ने हुन्छ ।
टेलिकमले पनि थ्रीजीलाई विस्थापित गर्दै फोरजीमा मात्रै सेवा दिने गरी अगाडि बढिरहेको छ । सन् २०२५ भित्रै थ्रीजीका ग्राहक शून्य बनाउने र फोरजीको मात्रै सेवा दिन सक्ने विषय भने यसले बनाउने पूर्वाधार कति छिटो बन्छ त्यसैका आधारमा तय हुने बुझाइ पनि मिश्रको छ ।
मिश्रले क्लिकमान्डुसँग भने, ‘टेलिकमले सेवा र क्षमता विस्तारकै लागि ३३४ वटा बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) टावर थप्दै छ । जिल्लागत रुपमा देशैभर टेलिकम सेवा पुगेको भएपनि अझै धेरै ठाउँमा टावरको कमीले प्रभावकारी सेवा हुन पुग्न सकेको छैन् । त्यसका लागि टेलिकमले बीटीएस थप गर्दै सेवाको गुणस्तर बढाउन लागेको हो ।’
टेलिकमका अनुसार टावर थप गर्ने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत गरेर टेण्डर खोलिसकिएको छ । उपयुक्त कम्पनी छनोट गरेर जिम्मेवारी दिने काम पनि भइसकेकोले छिट्टै टावर थप गरेर सेवा प्रभावकारी बनाइने छ । यो सेवापछि हाल थ्रीजीमा मात्रै भर पर्नुपरेका सेवाग्राहीले फोरजी चलाउन पाउने छन् ।
हाल नेपाल टेलिकमको थ्रीजी ग्राहक ६ लाख ७९ हजार रहेका छन् । टेलिकमको फोरजी ग्राहक संख्या भने हालसम्म १ करोड ३५ लाखसम्म पुगेको छ ।
टेलिकमले मोबाइल इन्टरनेटलाई थप प्रभावकारी बनाउन थ्रीजीबाट फोरजीमा लैजान पूर्वाधार विस्तारको काम गरिरहेको छ भने फाइभजीको लागि बाटो खुला गरेर बस्ने भएको छ ।
टेलिकमले यस अघि नै फाइभजीको परीक्षण गरेर बसिसकेको छ । नेपालमा फाइभजीको संम्भावना र आवश्यकता देखिएको भएपनि टेलिकम कम्पनीले लामो समयसम्मका लागि गर्नुपर्ने लगानी र दीर्घकालीन रुपमा पाउने प्रतिफलका विषयमा तत्कालै लगानी गर्न तयार छैनन् ।
फाइभजीमा जान एउटा टेलिकम सेवाप्रदायकले ३ वर्षमा कम्तिमा ६० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता औल्याइएको छ । यस्तो लगानीको प्रतिफल आउन समय लाग्ने भएकोले सोही अनुसार लाभ गर्न वातावरण पनि बन्नुपर्ने तर्क टेलिकम कम्पनीहरुको छ ।
सरकारले टेलिकम क्षेत्रको विकास गर्न यस अघि नै चर्चाको आएको पूर्वाधार सहप्रयोगको नीति अबलम्बनसमेत गर्नुपर्ने तर्क टेलिकम क्षेत्रका अधिकारीहरुको छ । तर, यो नीतिलाई नेपाल दूरसञ्चार प्राधिकरणले नै अड्काएर राखेको छ ।
टेलिकम क्षेत्रले अधिक कर र रोयल्टी तथा सरकारी शुल्क घट्दो बजारका कारण फाइभजीमा गर्ने लगानीमा सरकारी अनुदान खोजिरहेका छन् । सरकारले ग्रामीण दूरसञ्चार विकास कोष वा यस्तै कुनै स्रोतबाट फाइभजीको पूर्वाधारको लागि लगानी गर्नुपर्ने आवश्यकता औल्याएको छ । टेलिकमले हिमाली क्षेत्रमा पनि सेवा पुर्याएको भएपनि त्यसबाट लाभको अपेक्षा नराखी काम गरिरहेको दाबी पनि गरेको छ ।
थ्रीजी सेवालाई विस्थापित गरेर फोरजी मात्रै जानुका साथै अब यो क्षेत्र जोगाउन व्यापार सब्स्क्रिप्सन मोडलको विकल्प नभएको टेलिकम कम्पनीको भनाइ छ । फोरजी विस्तारमा अपरेटरहरुले ठूलो लगानी गरिसकेको अवस्थामा फाभइजीका लागि राज्यले स्पेक्ट्रमको बोलकबोल अघि बढाए सहभागी हुन तयार रहेपनि उपयुक्त स्पेक्ट्रमको सुनिश्चितता हुनुपर्ने तर्क पनि सेवाप्रदायकको छ ।
एनसेलसँग हाल रहेका एक लाख २६ हजार ग्राहकमात्रै थ्रीजीका छन् । बाँकी यसका १ करोड १६ लाख ग्राहक फोरजीमा अपग्रेड भइसकेको नेपाल दुरसञ्चार प्राधिकरणको चैत महिनासम्मको तथ्यांकले देखाएको छ ।
एनसेलले समेत सेवा विस्तार तथा थप प्रभावकारी बनाउँदै लैजान थप टावर थप गर्न मागेको प्रस्तावलाई नेपाल दूरसञ्चार प्राधिकरणले सहयोग गरेको छैन् । प्राधिकरणले २१ सय मेगाहर्जको फ्रिक्वेन्सी बक्यौता बाँकी रहेको भन्दै सहजीकरण गरेको छैन् ।
सरकारले टेलिकम सेवा प्रदायकलाई सहजीकरण गर्नुपर्ने र राज्यले पनि सहुलियत दिनुपर्ने माग गर्दै आएका छन् । टेलिकम क्षेत्रमा अधिक कर भएको, टेलिकम क्षेत्रको आम्दानी घट्नै गएको र सरकारी शुल्कसहितको व्यवस्थाले सेवाप्रदायक थप कमजोर बन्दै गएका, भ्वाइस सेवाका ग्राहक ओभर दि टप (ओटीटी)तर्फ गएको छ ।
टेलिकम कम्पनीले तिर्ने सरकारी सेवा शुल्क तथा नवीकरण शुल्क २० अर्ब रुपैयाँ भएका कारण पनि यसलाई घटाउन र सेवा प्रभाव बढाउन टेलिकम कम्पनीले आग्रह गर्दै आएका छन् । टेलिकम क्षेत्रमा लाग्ने करको दर घटाउनुपर्ने माग समेत गरिरहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता डा. प्रदीप पौडेल सेवाप्रदायकले थ्रीजीलाई विस्थापन गरेर फोरजीमा मात्रै सेवा दिनुलाई ग्राहकले पाउने गुणस्तरीय ब्रोडव्याण्डका हिसावले सकारात्मक भएको तर्क गर्छन् । उनले भने ‘सेवाप्रदायक अब फाइभजीका लागि तयारी गर्दैछन् । त्यसका लागि सहजीकरण मात्रै सरकारले गर्नुपर्छ भन्ने सन्देश दिएका छन् ।’








प्रतिक्रिया