६१ खर्ब जीडीपीको ९३% उपभोगमै खर्च, अर्थतन्त्रका १८ क्षेत्रमध्ये कुनको योगदान कति ?

532
Shares

काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को ९३ प्रतिशत रकम उपभोगमै खर्च हुने गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ६१ खर्ब ७ अर्ब रुपैयाँको जीडीपीमध्ये ९३.४५ प्रतिशत अर्थात ५७ खर्ब ७ अर्ब रुपैयाँ अन्तिम उपभागमै खर्च हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ का् अन्तिम उपभोग खर्च विवरण अनुसार ९० प्रतिशत निजी उपभोग खर्च, ८ प्रतिशत सरकारी उपभोग र बाँकी २ प्रतिशत घरपरिवालाई सहयोग गर्ने गैरनाफामूकल संस्था उपभोग खर्च रहेको छ ।

निजी उपभोग खर्चमा पनि खाद्यान्न उपभोगमा ४९ प्रतिशत, सेवा खर्च ३३ प्रतिशत र गैर खाद्यान्न उपभोग खर्च १८ प्रतिशत रहेको छ ।

तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको ९३.४५ प्रतिशत अन्तिम उपभोग खर्च हुने अनुमान गरिरहँदा गत आर्थिक वर्ष २०८०र८१ मा जीडीपीको ९३.७८ प्रतिशत अन्तिम उपभोग खर्च हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस्तो खर्च ९२।७८ प्रतिशत अन्तिम उपभोग खर्च भएको उल्लेख छ  ।

चालु आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको २५.८९ प्रतिशत रेमिट्यान्स प्राप्त हुने अनुमान गरिएको छ । यस्तो रेमिट्यान्स गत आव २०८०/८१ मा जीडीपीको २५.३२ प्रतिशत थियो । अघिल्लो वर्ष २०७९/८० मा जीडीपीको २३.१२ प्रतिशत रेमिट्यान्स प्राप्त भएको पनि तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

जीडीपीमा कुन क्षेत्रको योगदान कति ?

१. कृषि, वन तथा मत्स्य
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रले २५.१६ प्रतिशत योगदान पुऱ्याएको प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा धान, तेलहन, दलहन र तरकारी बाली तथा पशुपन्छीजन्य उत्पादन ( दुध, अण्डा, माछा तथा मासु ) हरुको उत्पादनमा वृद्धि हुने अनुमान रहेका कारण यस क्षेत्रको वृद्धि हुने अनुमान गरिएको छ । तर फलफुल तथा अन्य केही हिउँदे बालीको उत्पादनमा नगण्य मात्राको वृद्धि हुने अनुमानका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसक्ने अनुमान रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत कायम भएको छ ।

२. खानी तथा उत्खनन्
चालु आर्थिक वर्षमा यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ०.४६ प्रतिशत योगदान पु-याउने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १.९९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण क्षेत्रमा धनात्मक वृद्धि र खानी तथा उत्खनन् क्षेत्रको रोयल्टी संकलनमा गत आर्थिक वर्षको तुलनामा सामान्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिमा पनि सामान्य सुधार हुने अनुमान रहेको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ३.२३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ भने आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ०.९१ प्रतिशत कायम भएको छ ।

३. उद्योग
चालु आर्थिक वर्ष २०८१/८२ मा उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ४.९८ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (- २.०२ प्रतिशत) रहने अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्ष यस क्षेत्रको ऋणात्मक वृद्धि ( -१.७० प्रतिशत) कायम भएको छ। यस क्षेत्रमा अघिल्लो दुई आर्थिक वर्ष २०७९/८०२२०८०/८१ मा ऋणात्मक वृद्धिदर देखिए तापनि चालु आर्थिक वर्षमा भने सुधारको संकेत देखिएको छ ।

खासगरी वनस्पति तेल, प्लाईउड, प्लाष्टिकको पाईप फिटिङ्ग, पेय पदार्थ, सिमेण्ट, साबुन, लगायतका वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ । साथै, भट्टमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोईला लगायत कच्चा पदार्थको आयतमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारणले पनि उद्योग क्षेत्रको उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ

४. विद्युत तथा ग्याँस
चालु आर्थिक वर्ष २०८१/८२ मा विद्युत तथा ग्याँस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.७३ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर १३.८२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। यस क्षेत्रमा पछिल्ला वर्षहरूमा जलविद्युत उत्पादनको क्षमता वृद्धिका साथै उपभोगमा विस्तार भएका कारण यस क्षेत्रको वृद्धि उल्लेख्य रहन गएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर १०.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार यस क्षेत्रको वृद्धिदर १९.७६ प्रतिशत कायम भएको छ ।

५. पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप
चालु आर्थिक वर्ष २०८१/८२ मा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.४२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.०९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । सेवा माग र आपुर्तिमा भइरहेको क्रमिक वृद्धिसँगै यस क्षेत्रको कुल मुल्य अभिवृद्धि पनि सामान्य रूपमा बढेको अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर १.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार यस क्षेत्रको वृद्धिदर ३.२२ प्रतिशत कायम भएको छ ।

६. निर्माण
चालु आर्थिक वर्ष २०८१/८२ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.२४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएको यस क्षेत्र चालु आर्थिक वर्षमा निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरुको उत्पादनमा भएको वृद्धिले सुधारोन्मुख भएको देखिन्छ। गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (-२.२०%) रहने संशोधित अनुमान गरिएको छ। त्यसैगरी आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार यस क्षेत्रको वृद्धिदर ऋणात्मक (-१.४८%) कायम भएको छ ।

७. थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा
चालु आर्थिक वर्ष २०८१ / ८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १४.५५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.३० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा व्यापारजन्य वस्तुहरुको आयातमा भएको वृद्धि साथै कृषि तथा व्यापारजन्य वस्तुहरूको आन्तरिक उत्पादनमा आएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (- ०.३६ प्रतिशत) रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (-४.१० प्रतिशत) कायम भएको छ ।

८. यातायात तथा भण्डारण
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.२० प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.४५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयात तथा पर्यटकको आवागमनमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर १३.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.४५ प्रतिशत कायम भएको छ ।

९. आवास तथा भोजन सेवा
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २.४६ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर पाँच प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विदेशी तथा आन्तरिक पर्यटकहरुको आवागमनमा भएको वृद्धिले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २१.०३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १८.०३ प्रतिशत कायम भएको छ ।

१०. सूचना तथा सञ्चार
चालु आर्थिक वर्ष २०८१ / ८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.८१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कम्प्यूटर प्रोग्रामिङ् तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोवार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत भएको छ ।

११. वित्तीय तथा बीमा क्षेत्र
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ६.६५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ६.२९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ७.९४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ७.९२ प्रतिशत कायम भएको छ ।

१२. घरजग्गा कारोवारको सेवा
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ८.२९ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.७२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । घर जग्गाको कारोबारमा भएको सामान्य वृद्धि र निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर २.९१ प्रतिशत कायम भएको छ ।

१३. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.९७ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समयमा विभिन्न प्राविधिक कार्यका लागि पेशागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने संशोधि अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.९३ प्रतिशत कायम भएको छ ।

१४. प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लो समयमा विभिन्न प्रशासनिक सेवाका लागि सम्बिन्धित संस्थाहरूसँग सेवा लिने प्रवृत्तिमा भएको वृद्धि, रोजगारी सेवा तथा पर्यटन आगमनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.०४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.०३ प्रतिशत कायम भएको छ ।

१५. सार्वजनिक प्रशासन तथा रक्षा
चालु आर्थिक वर्ष २०८१ / ८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ८.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। तीन वटै तहका सरकारको सार्वजनिक प्रशासन तथा रक्षा अन्तर्गत गरेको खर्चमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.४६ प्रतिशत कायम भएको छ ।

१६. शिक्षा
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.८७ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर १.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा निजि शैक्षिक संस्थाका विद्यार्थी सङ्ख्यामा सामान्य कमी आएको भए तापनि सरकारी शैक्षिक संस्थाका विद्यार्थीको सङ्ख्यामा भएको बढोत्तरीसँगै यस क्षेत्रमा सरकारी खर्च बढेका कारण मूल्य अभिवृद्धिमा सामान्य वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.९३ प्रतिशत कायम भएको छ ।

१७. स्वास्थ्य तथा सामाजिक कार्य
चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९१ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.७७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा लिनेहरूको सङ्ख्यामा भएको बढोत्तरीका कारणले यस क्षेत्रको मूल्य अभिवृद्धिमा वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ५.३१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.५७ प्रतिशत भएको छ ।

१८. अन्य सेवाका क्रियाकलाप
चालु आर्थिक वर्ष २०८१ / ८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.७१ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। तीन वटै तहका सरकारले सामुदायिक तथा सामाजिक क्षेत्रमा गरेको खर्चमा भएको वृद्धि तथा निजी क्षेत्रबाट सञ्चालित मनोरञ्जनात्मक तथा अन्य सेवामा भएको वृद्धिले यस क्षेत्रको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.६४ प्रतिशत कायम भएको छ ।

Skip This