
काठमाडौं । पूर्वसंस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेले पोखराभन्दा भैरहवा विमानस्थलमा बढी भ्रष्टाचार भएको दाबी गरेका छन्।
आइतबार संसद भवनबाट बाहिरिँदै पूर्वमन्त्री आलेले संसदीय उपसिमितले ९ महिनादेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारबारे अध्ययन गरिरहेको भन्दै पोखरा ट्रेलर मात्र भएको र पूरा फिल्म भैरहवामा देखिने तर्क गरे ।
‘९ महिनादेखि पोखरा विमानस्थको अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘पोखरा भनेको खाली ट्रेलर मात्र हो । यसको पूरा फिल्म भैरहवा विमानस्थलमा देखिन्छ, पोखराभन्दा क्रुर छ ।’
पोखरा विमानस्थल निर्माणका क्रममा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको संसदीय उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।
पूर्वमन्त्री आलेले भैरहवा विमानस्थलमा अप्रिल १ देखि विमानहरु नउडेको भन्दै त्यसको असर त्यस क्षेत्रका व्यवसायीमा परेको बताए ।
‘भैरहवाका व्यवसायीले त्यत्रो खर्च गरेर होटलहरु बनाएर पर्यटन प्रवर्द्धनका लागि तर प्लेननै उडेको छैन, ‘ उनले भने, ‘ क्यानले जथाभावी जग्गा अधिग्रहरण गरेको छ । ४ सय विघाभन्दा बढी जग्गा खोलामा खरिद गरेको छ । त्यहाँ माछा र भैंसी पाल्न ठिक छ ।’
उनले भैरहवाका व्यापारी अहिले झुण्डिने अवस्थामा पुगेको टिप्पणी गरे । ‘भ्रष्टचारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ,’ उनले भने ।








प्रतिक्रिया