आईपीओ जारी गर्न लागेको पाल्पा सिमेन्टको प्रोफिट मार्जिन ३३%, भारतमा बेचेर एकचौथाई व्यापार

434
Shares

काठमाडौं । आईपीओ जारी गर्ने तयारीमा रहेको पाल्पा सिमेन्टको व्यापार घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोडको सिमेन्ट उत्पादन तथा बिक्री गरेको हो ।

गत आव अर्थात् सन् २०२४ मा पाल्पाले ४ अर्ब २३ करोडको सिमेन्ट बेचेको थियो ।

सिमेन्ट उद्योगका लागि आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधि खासै राम्रो समय मानिँदैन । सामान्यतयाः विकास कार्य फागुन-चैतबाट सुरु हुने भएकाले दास्रो अर्धवार्षिक अवधिमा सिमेन्टको व्यापार बढ्छ ।

तर, गत आवको पहिलो अर्धवार्षिककै तुलनामा पाल्पाको व्यापार घटेको छ । सन् २०२४ को पहिलो ६ महिनामा कम्पनीले १ अर्ब ८० करोडको सिमेन्ट विक्री गरेको थियो । यसर्थ चालु आवमा कम्पनीको व्यापार घटेको मान्नुपर्छ ।

व्यापार घटेपनि कम्पनीको नाफा मार्जिन भने निकै बढेको छ । गत आवसम्म कुल आम्दानीमध्ये २२–२५ प्रतिशतमात्र सञ्चालन नाफा रहेकामा चालु आवमा यस्तो हिस्सा ३३ प्रतिशत कायम भएको छ ।

अर्थतन्त्र सुस्ताए तापनि कम्पनीको आम्दानीमा सामान्य गिरावट आएर मार्जिन बढ्नुको कारण ‘निर्यात’ रहेको छ । पाल्पाले २०७९ असारदेखि सिमेन्ट निर्यात थालेको हो । कम्पनीको कुल व्यापारमा निर्यातको हिस्सा बढ्दो छ ।

खानीबाट उद्योग नजिकै हुनुको लाभ पनि पाल्पा सिमेन्टलाई छ ।

आरएमसी ग्रुप अन्तर्गतको पाल्पा सिमेन्ट उद्योगले सन् २००९ मा स्थापना भएको कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले सन् २०२३ मा ४ अर्ब १२ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ४ अर्ब ४४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

उत्पादन र निर्माण क्षेत्रमा स्थापित कम्पनीले ग्रान्डिङ र क्लिंकर उत्पादन गर्दै आएको छ । कम्पनीले ४३ ग्रेडको पीपीसी र ५३ ग्रेडको पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले ‘तानसेन सिमेन्ट’ ब्राण्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको क्षमता दैनिक १६ सय मेट्रिक टन क्लिंकर र २ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने रहेको छ । कम्पनीले सन् २०११ देखि व्यवसायिक कारोबार सुरु गरेको हो भने क्लिंकर उत्पादन २०२१९ तथा सिमेन्ट उत्पादन २०२० देखि सुरु भएको हो ।

यता कम्पनीले क्लिंकर उत्पादनका लागि नयाँ खानीको पनि लाइसेन्स पाइसकेको छ ।

कम्पनीको खानी पाल्पा जिल्लाको राहावासमा रहेको छ भने ३० किमि दुरीमा अवस्थित नवलपरासीको सुनुवलमा उत्पादन प्लान्ट रहेको छ ।

कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२३ मा १२ प्रतिशतले बढेको थियो । तर सन् २०२४ मा २०२३ को तुलनामा घटेको थियो ।

चालु आर्थिक वर्षको तथ्यांकले पनि व्यापार झनै गिरावट हुने संकेत गर्दछ ।

सन् २०२३ मा सिमेन्ट र क्लिङ्करबाट ४८ प्रतिशत व्यापार गरेको थियो । त्यस्तै सन् २०२४ मा २५ प्रतिशत व्यापार निर्यातबाट गरेको छ । सन् २०२३ मा कुल व्यापारको ८ प्रतिशतमात्र निर्यात हुने गरेको थियो ।

अर्थात् गत वर्ष कम्पनीले १ अर्ब ५ करोडको सिमेन्ट भारत निर्यात गरेको छ ।

निर्यात वृद्धिमा नेपालको सरकारले घोषणा गरेको प्रोत्साहन योजनाले समेत महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । सरकारले ५० करोड रुपैयाँसम्मको निर्यातमा ४% र सोभन्दा बढीमा ८% सम्मको अनुदान दिने गरेको छ ।

सन् २०२५ को पहिलो ६ महिनामा कुल ऋणको अनुपात कुल सम्पत्तिको तुलनामा १.९ गुणा रहेको छ भने ऋण र आयको अनुपात ७.८ गुणा छ । अर्थात् पाल्पा सिमेन्टले करिब साढे ६ अर्ब ऋण लिएको छ ।

कम्पनीले हालै उच्च मात्रामा कोइलाको खरिद, चुनढुंगा भण्डारण र तयार सिमेन्टको स्टक वृद्धि गरेका कारण चालुपुँजी चक्रमा उल्लेखनीय वृद्धि भएको छ । चालुपुँजीको परिचालन कुल आम्दानीमा ९८% देखिएको छ । सन् २०२४ मा यस्तो दर ५१% मात्र थियो । चालुपुँजी परिचालन बढ्दा कम्पनीको नगद प्रवाहमा दबाव बढाएको छ ।

पाल्पा सिमेन्ट इन्डस्ट्रिज आरएमसी ग्रुपको एक कम्पनी हो । कम्पनीको सिमेन्ट उत्पादन भीआरएम प्रविधिमा आधारित छ । आरएमसी ग्रुप नेपालमा निर्माण सामग्री उत्पादन र बिक्रीमा दुई दशकभन्दा लामो अनुभव बोकेको समूह हो । ग्रुपअन्तर्गत राजेश मेटल क्राफ्ट्सजस्ता प्रतिष्ठित कम्पनी छन् । पाल्पा सिमेन्टको देशभर फैलिएको डिलर सञ्जाल (१२६ डिलर)ले बजार पहुँच विस्तारमा सहयोग गरेको छ । आरएमसी ग्रुप सन् २०११ देखि नै सिमेन्ट उतपादनमा संलग्न छ ।

नेपालको सिमेन्ट उद्योग अत्यधिक प्रतिस्पर्धात्मक छ भने मूल्य निर्धारणमा कम फ्लेग्जिबिलिटी छ । खासगरी सिमेन्ट उद्योगको बढेको उत्पादन क्षमता र कम मागका कारण मूल्यमा थप दबाब सिर्जना गरेको छ । यस्तै, कच्चा पदार्थ र इन्धनको मूल्यवृद्धिले मुनाफामा प्रतिकूल असर पार्न सक्ने देखिन्छ । साथै, सरकारले दिएको अनुदानको सुविधा हटेमा वा अन्य नीति परिवर्तन भएमा सिमेन्ट उद्योगमा गहिरो असर पार्न सक्नेछ ।

पाल्पा सिमेन्टले आईपीओ ल्याउने तयारी गरेको छ । नागरिक लगानी कोषले सेयर प्रत्याभूतिकर्ता (अन्डरराइटर) समेत भइसकेको छ । पाल्पा सिमेन्टले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले ७५ लाख कित्ता बराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर निष्काशन गर्नेछ ।