दुई वर्षमा १ अर्ब रुपैयाँको तानसेन सिमेन्ट भारत निर्यात



काठमाडौं । भारत निकासी थालेको दुई वर्षमा पाल्पा सिमेन्ट इण्डष्ट्रिजले १ अर्ब रुपैयाँको सिमेन्ट निर्यात गरेको छ । २०७९ असार २४ गते पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादित तानसेन सिमेन्ट पहिलो पटक भारत निर्यात भएको थियो । त्यसको दुई वर्ष(२०८१ असार २४ गते) सम्ममा कम्पनीले १ अर्ब रुपैयाँको सिमेन्ट भारत निर्यात गरेको हो ।

नेपाल उद्योग परिसंघका अध्यक्षसमेत रहेका आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवालले आफूहरुले अहिले भारतमा सिमेन्ट निर्यात गरिरहेको र उद्योगले नियमित रुपमा भारतमा सिमेन्ट निर्यात गर्छ भन्ने सुनिश्चितता गरेको बताए ।

‘हामीले दुई वर्षयता भारतमा तानसेन सिमेन्ट निर्यात गरिरहेका छौं,’ अग्रवालले भने, ‘सिमेन्ट नियमित रुपमा भारतमा निर्यात हुन्छ भन्ने सुनिश्चतिता गरेका छौं । भारतीय बजारलाई हामीले आश्वास्त गरेका छौं ।’

तानसेन सिमेन्टलाई लिएर भारतीय उपभोक्ताले पनि राम्रो रेस्पोन्स गरेको अग्रवालको भनाइ छ । उनले सरकारले दिने नगद अनुदान समयमै निकासा गरे निर्यात बढाउन सकिने बताए ।

‘सरकारले दिने अनुदान समयमा निकासा गरे सिमेन्ट निर्यात थप बढाउन सकिन्छ,’ अग्रवालले भने, ‘दुई वर्षको अनुभवबाट हामी उत्साही छौं ।’ ५० करोड माथिको निर्यातमा सरकारले ८ प्रतिशत नगद अनुदान दिन्छ ।

आरएमसी ग्रुपको लगानी रहेको पाल्पा सिमेन्ट इण्डष्ट्रिजले सन् २०२० देखि तानसेन ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको थियो।

भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले पाल्पा सिमेन्ट इण्डष्ट्रिजको उत्पादन तानसेन सिमेन्टलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएपछि दुई वर्षअघि नेपालबाट सिमेन्ट निर्यात गर्न सुरु भएको थियो । भारतबाट आईएसआई मान्याता पाएपछि कम्पनीले गोरखपुरमा वितरक नियुक्त गरेर सिमेन्ट निर्यात थालेको थियो । भारतमा आइएसआई मार्क नलागेका सिमेन्ट निर्यात गर्न नपाइने व्यवस्था छ ।


क्लिकमान्डु