श्रवणकुमारले टिनको बक्साबाट शुरु गरेको आरएमसी ग्रुप पाइपपछि सिमेन्ट निर्यात गर्न सफल, सिमेन्टमा आक्रामक बन्दै
काठमाडौं । एक महिनाअघि नेपाली सिमेन्ट उद्योगका लागि लामो पर्खाइको अन्त्य भयो । तानसेन सिमेन्ट उद्योगले नेपालबाट सिमेन्ट निर्यातको नयाँ अध्याय शुरु गर्यो । जसले नेपालको नेपाली सिमेन्ट उद्योगमा नयाँ उत्साह थपेको छ ।
भारतमा सिमेन्ट निर्यात शुरुवात गरेकै कारण आरएमसी ग्रुप अन्र्तगतको पाल्पा सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवाल यतिबेला धेरैका बधाईका पात्र बनेका छन् ।
निजी क्षेत्रदेखि सरकारी निकायका व्यक्ति तथा अधिकारीहरुले उनलाई बधाई र शुभकामना दिइरहेका छन् । यसले सिमेन्ट उद्योगमा नयाँ माहोल सिर्जना भएको छ ।
तानसेन सिमेन्ट उत्पादन शुरु भएको ३ वर्षमै निर्यात गर्न सफल भएको छ । उसले पहिलो महिनामा दैनिक २ हजारदेखि ३ हजार बोरा सिमेन्ट भारतको गोरखपुर क्षेत्रमा निर्यात गरिरहेको छ ।
‘नेपालसँग ६ वार्षिक खर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्ने क्षमता छ,’ अग्रवाल भन्छन्, ‘यो शुरुवात हो, अझै धेरै गर्न बाँकी छ ।’
अग्रवालले पहिलो पटक सिमेन्ट निर्यात गरे पनि आरएमसी ग्रुपका लागि भने यो पहिलो निर्यात भने होइन । यसअघि आरएमसी ग्रुपले राजेश मेटल क्राफ्टबाट एमएस ब्लाक पाइप भारत निर्यात गर्दै आएको छ ।
तीन दशकअघि श्रवणकुमार अग्रवालको नेतृत्वमा राजेश मेटल क्राफ्टको स्थापना भयो । ५० वर्षदेखिको व्यावसायिक अनुभव लिएका श्रवणकुमारले एउटा लक्ष्य तय गरे । र, भिजनसहित अगाडि बढे ।
सन् १९८६ देखि जापानबाट फलाम आयात गरेर व्यापारमा प्रवेश गरेका अग्रवालले सन् १९९३ देखि भने आफ्नै उद्योग स्थापना गरेर निर्माण सामग्री उत्पादनमा लागे ।
झन्डै चार दशकको अवधिमा आरएमसी ग्रुपबाट स्टील, पाइप, जस्तापाता, सिमेन्ट उत्पादन गर्दै मुलुकको स्थापित व्यावसायिक घराना बनेको छ श्रवणकुमारको परिवार ।
श्रवणकुमार स्थापक अध्यक्ष रहेको आरएमसी ग्रुपमा उनका छोरा राजेशकुमार अग्रवाल कार्यकारी निर्देशक छन् । उनी नेपाल उद्योग परिसंघका उपाध्यक्ष पनि हुन् ।
त्यस्तै, उनका भाइ विष्णुकुमार अग्रवाल पनि कम्पनीका कार्यकारी निर्देशक हुन् । दुई भाइ र भर्खर प्रवेश गरेको तेस्रो पुस्ताले आरएमसी ग्रुपलाई नयाँ भिजन र लक्ष्यसहित अगाडि बढाइरहेका छन् ।
आरएमसीको व्यावसायिक यात्रा शुरु हुन्छ सन् १९८६ को फलाम व्यापारबाट । त्योबेला अग्रवाल परिवारले जापानबाट फलाम आयात गर्थे । केही वर्षको आयातपछि अग्रवाल आफ्नै उद्योग खोल्ने निर्माणमा पुगे ।
सन् १९९२ मा उनले राजेश मेटल क्राफ्ट प्रालि नामको स्टील उद्योग स्थापना गरे । यस उद्योगले नेपालमा, ‘टिन कन्टेइनर’ उत्पादन शुरु गर्यो । अर्थात् तेल, घिऊ राख्ने टिनका भाँडाहरु बनाउन थाल्यो । जुन नेपालका लागि तत्कालिन समयमा नयाँ थियो ।
‘हामीले १९८६ देखि स्टील व्यवसायमा संलग्न थियौं,’ राजेश भन्छन्, ‘१९९३ देखि भने हामी आफैंले उद्योग स्थापना गर्यौं ।’
दुई वर्षमै उद्योग विस्तार गर्दै यहाँबाट पेन्ट्स र तेल राख्ने स्टीलका भाँडा र सटरहरु उत्पादन शुरु भयो ।। यी सामानको माग बजारमा उच्च थियो । २० प्रकारका यस्ता सामानहरु उत्पादन गरेर एक ठूलो स्टील उद्योगमा स्थापित भयो ।
त्यसको सात वर्षपछि उद्योगले ‘एमएस ब्लाक पाइप’को उत्पादन पनि शुरु गर्यो । सन् १९९९ मा उत्पादन शुरु भएको एमएस ब्रान्डमा फलामको पाइप उत्पादन शुरु गर्यो । जुन सडक छेउका रोलिङदेखि फालमको पाइप प्रयोग हुने विभिन्न ठाउँमा प्रयोग हुन थाल्यो ।
‘एमएस ब्लाक पाइपको उत्पादनपछि जापानबाट भइरहेको स्टीलको आयातमा कमी आयो,’ अग्रवाल भन्छन्, ‘यो निर्यात हुने पहिलो फलामको पाइप बन्यो ।’
नेपालमा उत्पादन भएको एमएस ब्लाक पाइप भारतमा निर्यात हुने पहिलो फलामको पाइप हो । स्टील पाइप निर्यात गर्ने कम्पनीमध्ये शुरुमा स्थापनमा रहेको एमएस ब्लाक पाइपले आफ्नो उत्पादनको ४० प्रतिशत निर्यात गरिरहेको छ ।
त्यस्तै, आरएमसीले पानीका लागि जीआई पाइप पनि उत्पादन गरिरहेको छ । दैनिक ३० हजार टन उत्पादन क्षमता रहेको यो उद्योग पनि शतप्रतिशत क्षमतामा सञ्चालनमा छ ।
कम्पनीले ‘गर्दै सिक्दै’ शैलीमा नयाँ–नयाँ उत्पादन थप्दै गयो । त्यसपछि उनीहरुले आरएमसी जस्तापाताको उत्पादन शुरु गरे । नेपालमा जस्तापाताको माग उच्च थियो । नेपालसँगै उनीहरुले भारतमा पनि यो जस्तापाता निर्यात गर्न थाले । केही वर्षपछि रंगिन जस्तापाता पनि उत्पादन हुन थाल्यो ।
‘प्रतिवर्ष ३० हजार टन जस्तापाता उत्पादन गर्ने क्षमता छ,’ अग्रवाल भन्छन्, ‘यो उद्योग शतप्रतिशत क्षमतामा चलिरहेको छ ।’
उद्योग बारा जिल्लाको जितपुरमा छ ।
राजेश मेटल उद्योगले विभिन्न स्टील उत्पादन, जस्तापाता, पाइप, एमएस ब्लाक पाइपका विभिन्न वस्तुहरु उत्पादन गरिरहेको छ । आजका दिनमा राजेश मेटल उद्योगको भ्यालुएसन ६ सय करोड हुने अग्रवालको भनाइ छ ।
आरएमसीको निर्माण सामग्री उत्पादनमा केन्द्रित गर्ने योजना बनाएको छ । स्टील, पाइप, जस्तापाता हुँदै सन् २००९ मा आरएमसी सिमेन्टमा हात हालेको आरएमसी ग्रुपले अर्को ठूलो परियोजना ल्यायो तानसेन सिमेन्ट ।
आरएमसी ग्रुपले स्टील र निर्माणका लागि आवश्यक सबैखाले उत्पादनमा जोड दिँदै गयो । सन् २००९ मा पहिलो पटक सिमेन्ट उद्योगमा हात हाल्यो । उक्त वर्ष पाल्पा सिमेन्ट उद्योग अन्र्तगत आरएमसी सिमेन्ट उत्पादनको प्रक्रिया शुरुवात भएको थियो । योसँगै औपचारिकरुपमा आरएमसी ग्रुपको पनि शुरुवात पनि भयो ।
२०६८ सालदेखि तानसेन सिमेन्ट उत्पादन गर्ने भनेर प्रक्रिया शुरु गरेको कम्पनीले व्यवस्थापन मिलाउँदा मिलाउँदै ५ वर्ष बित्यो ।
‘सिमेन्ट उत्पादन गर्नु भनेको एक ठूलो परियोजना सञ्चालन गर्नु हो । जसका लागि खानीदेखि कारखानासम्मको व्यवस्था मिलाउनु पर्ने रहेछ,’ राजेशले भने ।
कारखानादेखि खानीको ठूलो क्षेत्रफलको जग्गा आवश्यक पर्छ । त्यसका लागि आईई, ईआईए गर्न पनि लामो प्रक्रिया छ ।
वन क्षेत्रको जग्गाको लिज स्वीकृतिका लागि मन्त्रिपरिषदबाट निर्णय हुनुपर्छ । लिजमा लिएको जग्गाको सट्टा अर्को जग्गा किनेर रुख रोप्नुपर्छ ।
‘सबै काम मिलाउँदा पाँच वर्ष लाग्यो,’ अग्रवाल भन्छन्, ‘२०७३ सालसम्म सबै प्रक्रिया मिलाएर निर्माण कार्य शुरु गर्यौं ।’
दुई वर्षमा पूर्वाधार निर्माण सकेर २०७५ देखि तानसेन सिमेन्ट उत्पादन शुरु भयो ।
उद्योगले खानीका लागि सरकारबाट ५ हेक्टर जमिन लिजमा लिएका छ र यसलाई ६० हेक्टर बनाउने प्रकृया अगाडि बढाएका छन् ।
पाल्पामा १० हजार वर्ग किलोमिटर क्षेत्रफलमा खानी फैलिएको छ । उद्योग प्रयोग गरिरहेको खानी यही अनुपातमा प्रयोग गर्ने हो भने ७० देखि ८० वर्षलाई पुग्छ । सुनवलमा रहेको उद्योग २५ बिगाह क्षेत्रफलमा फैलिएको छ ।
आठ अर्ब रुपैयाँ लगानी गरेर शुरु भएको तानसेन सिमेन्टको उत्पादन क्षमता दैनिक ३ हजार टन र क्लिङ्कर उत्पादन क्षमता १८ सय टन छ ।
उद्योगभने उत्पादन क्षमताअनुसार सञ्चालन हुन भने सकेको छैन ।
‘सिमेन्ट उत्पादन सिजनल उद्योग पनि हो । बर्खाको समयमा ४० प्रतिशत अन्य समयमा ७० प्रतिशतसम्म उत्पादन भइरहेको छ,’ अग्रवालले भने ।
पाल्पा सिमेन्ट अन्तर्गत प्रत्यक्षरुपमा ४ सय र अप्रत्यक्षरुपमा १५ सय जनाले रोजगारी पाइरहेको कम्पनीको दाबी छ । अप्रत्यक्षरुपमा चुनढुंगाा ढुवानीका लागि ट्रिपरका ड्राइभर, हेल्पर, वर्कसप छन् ।
हाल१५ डिलरमार्फत् भारतमा सिमेन्ट निर्यात गरिरहेको तानसेन सिमेन्टले नेपालभरी १५० डिलर राखेको छ । त्यसबाहेक विभिन्न आयोजना, परियोजनाहरुमा पनि तानसेन सिमेन्ट प्रयोग भइरहेको छ । यस्ता आयोजनामा प्रयोग गर्न पाउने गरी सडक विभाग र भौतिक मन्त्रालयबाट स्वीकृति पाएको अग्रवाल बताउँछन् ।
तत्काललाई सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्ने योजना नभए पनि दोस्रो चरणको बिस्तारका लागि खाका तयार पारेको उनको भनाइ छ ।
‘अहिलेको क्षमता पूर्णरुपमा चल्न थालेपछि दोस्रो चरणको विस्तार शुरु गर्छौं,’ अग्रवालले भने, ‘दोस्रो चरणमा पनि ३ हजार टनको प्लान्टहरु एउटा पूर्व र अर्को पश्चिम क्षेत्रमा लगाउने सोच छ ।’
हरेक वर्ष सिमेन्टको माग १५ प्रतिशतले बढिरहेको छ । १५ प्रतिशतले माग बढ्दा वार्षिक १५ लाख टन माग बढ्छ ।
एउटा सिमेन्ट कारखाना स्थापना गर्न कम्तीमा ३ वर्ष लाग्छ । यसले गर्दा हालका लागि धेरै सिमेन्ट उद्योग देखिए पनि केही वर्षपछि यी उद्योग पनि अपुग हुनसक्ने उनको भनाइ छ ।