भूमि पूजा गर्दै स्वनिगः रिसोर्ट डेढ वर्षमा बनाउने घोषणा, शेष घले र अमृतरत्नले पौने ५ अर्ब लगानी गर्दै

3.4k
Shares

काठमाडौं । भक्तपुरमा लक्जरीय ५ तारे रिसोर्ट स्वनिगः बनाउन भूमि पूजा गरिएको छ । ६० भिल्लाको यो रिसोर्ट साढे १ वर्षमा बनाउने घोषणा गरिएको छ । रिसोर्टमा ४ अर्ब ७५ करोड रुपैयाँ भन्दा बढी लगानी हुने भएको छ । यो रिसोर्ट गैरआवासीय नेपाली शेष घले र नेपाली होटल व्यवसायी अमृतरत्न शाक्यसहितको लगानीमा बनाउन लगीएको हो ।

नयँ वर्ष २०८२ को पहिलो दिनको अवसर पारेर स्वनिगः रिसोर्टले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुमा अत्याधुनिक पाँचतारे रिसोर्ट बनाउने भएको छ । रिसोर्टले सोमबार स्थानीय समुदायका अगुवाहरुको सहभागितामा भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । यो परियोजनामा एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल, टाइम सेयर मोडेलका भिल्ला तथा विभिन्न मनोरञ्जन केन्द्रहरू समावेश हुने छ । नयाँ नेपाली ब्रान्ड ‘स्वनिगः’ अन्तर्गत सञ्चालन हुने यो रिसोर्ट पर्यटन आकर्षण गर्ने स्थान पनि हुने उल्लेख छ ।

स्वनिगः नेवारी शब्द हो जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका हो ।
स्वनिगः उक्त परियोजनाको लागि उपयुक्त नाम हो, जसले यी सहरहरूमा सहअस्तित्वमा रहेको स्थापत्य (पर्फमिङ आर्ट) कला, परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहास जस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ ।

प्रस्तावित प्रोपर्टी निर्माणस्थल सुन्दर हिमशृंखला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा रहेको छ, जुन ‘सुतिरहेका बुद्ध शाक्यमुनि’को अगाडिपट्टी रहे जस्तो देखिन्छ । यहाँबाट उपत्यकाका प्राचीन तीन सहर येँ, यलः र ख्वपःका विहंगम दृश्य देखिने उल्लेख छ ।

यो परियोजना नेपाली संस्कृति, सम्पदा र संगीतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पारखी र प्रकृतिप्रेमीका लागि उत्कृष्ट गन्तव्य हुनेछ । यो गन्तव्यले स्थानीय समुदायको उत्थान गर्दै नेपाली र स्थानीय सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य राख्नेछ । यो परियोजनालाई नेपाली तथा विदेशी पाहुनाका निम्ति बिलासी पर्यटकीय गन्तव्य र गुणस्तरीय तथा

स्वस्थ जीवनशैलीमा जोड दिने परिपूर्ण वेलनेस सेन्टरका रुपमा विकास गरिनेछ । पाइलट बाबाको आशीर्वादले यो परियोजनाले पाइलट बाबा आश्रमलाई यो गन्तव्य परियोजनाको एक अनिवार्य अंगको रूपमा समेट्ने सौभाग्य प्राप्त गरेको छ । यसले विश्राम, आध्यात्मिकता, कला/संस्कृति, खेलकुद र लाइफस्टाइल अतिथि सत्कारको अद्वितीय समिश्रण प्रस्तुत गर्नेछ ।

यो परियोजना इम्प्लिमेन्टिङ एक्सपर्टस् ग्रुप (आईईजी) ले एस एन्ड जेजी होल्डिङ्स (अस्ट्रेलिया)सँगको संयुक्त सहकार्यमा सञ्चालन गरिरहेको छ । आईईजीको प्रतिनिधित्व अमृतरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले गरिरहेका छन् । जसले ५० वर्षदेखि मन्दिर, सत्तल जस्ता विशाल संरचनाहरूको निर्माण गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा प्रशंसा र पुरस्कार जितेका छन् ।

आईईजीले समिट होटल, एयरपोर्ट होटल र निर्माणाधीन ओएसिस होटलमा लगानी गरेर अतिथि सत्कार परियोजनाहरूमा पनि संलग्न छन् । यो अस्ट्रेलियाको एस एन्ड जेजी इन्भेस्टमेन्ट्स प्रत्यक्ष विदेशी लगानी (एफडीआई) कम्पनी हो । यसमा विश्वव्यापी रूपमा
शिक्षा, अतिथि सत्कार तथा रियल स्टेट क्षेत्रमा सक्रिय अगुवा गैरआवासीय नेपाली (एनआरएन) मध्येमा पर्ने शेष घले र जमुना घले गुरुङको स्वामित्व छ ।

एस एन्ड जेजीले आफ्नो सहायक कम्पनी एमआईटी ग्रुप होल्डिङ्समार्फत लगानी गरेको छ । काठमाडौंको कान्तिपथमा शेराटन काठमाडौं नामक पाँचतारे होटल निर्माण गरिसकेको छ । उक्त बिलासी पाँचतारे होटल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने र अतिथि सत्कार क्षेत्रमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी ( एफडीआई) रहेको परियोजना बन्ने अपेक्षा गरिएको छ ।

एस एन्ड जेजीले काठमाडौंबाहिर पनि अन्य पर्यटनसम्बद्ध व्यावसायिक अवसरहरुको सक्रियतापूर्वक अन्वेषण गरिरहेको छ । ऊर्जा क्षेत्रमा पनि हात हाल्ने यसको लक्ष्य छ । अन्तर्राष्ट्रिय व्यावसायिक गतिविधिमा संलग्नताबाहेक शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष पनि हुन् । उनी नेपाल र विदेशका धेरै परोपकारी सामाजिक संस्थाहरुमा जोडिएका छन् ।

४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी रहने अनुमान गरिएको स्वनिग: रिसोर्टमा टाइम सेयर मोडलका ६० वटा भिल्ला रिसोर्ट र एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल रहनेछ । यो परियोजना सन् २०२७ को नोभेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

यो सम्पत्ति माइस (मिटिङ, इन्सेन्टिभ, कन्फेरेन्स, एक्जिबिसन), इभेन्ट, अन्तर्राष्ट्रिय सेमिनार, डेस्टिनेसन वेडिङ हब (वैवाहिक कार्यक्रमको गन्तव्य), लाइभ संगीत प्रदर्शनस्थल, एम्फिथिएटर ( कला, संस्कृति र संगीतको जीवन्त प्रदर्शन), योग, ध्यान, आध्यात्मिक साधना र रक क्लाइम्बिङ, हाइकिङ, साइक्लिङ जस्ता खेलकुद गतिविधिहरूमा विशेष जोड दिँदै खानपान र स्वास्थ्य तथा मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यको रूपमा विकास हुनेछ ।