४ जना मिलेर शेष घलेले घ्याम्पेडाँडामा १०० रोपनीमा लक्जरी रिसोर्ट बनाउँदै, ६ अर्ब लगानी

3.3k
Shares

काठमाडौं । गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष शेष घलेले समिट होटलका अमृतरत्न शाक्यसहितको सहकार्यमा भक्तपुरस्थित घ्याम्पेडाँडामा लक्जरियस पाँचतारे रिसोर्ट बनाउने भएका छन् ।

सूर्यविनायक नगरपालिकाको गुन्डुमा ६० भिल्लाको लक्जरियस स्वानिग: रिसोर्ट बनाउन नयाँ वर्ष २०८२ को पहिलो दिन सोमबार भूमि पूजा हुँदै छ।

नेपा भाषा(नेवारी) भाषाको स्वनिग: को नाममा रिसोर्ट बनाउन लागिएको हो । नेपा भाषामा काठमाडौं, भक्तपुर र ललितपुरलाई स्वनिग: भनिने र रिसोर्टबाट यी सबै क्षेत्र देखिने भएकाले त्यसै अनुसारको नाम राखिएको हो ।

घलेको मेलवर्न इन्सिच्युट अफ टेक्नोलोजी (एमआइटी)सँग समिट होटलका संस्थापक शाक्यको इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आईईजी)ले संयुक्त लगानीमा लक्जरियस स्वनिगः रिसोर्ट बनाउन लागेको हो।

रिसोर्टका अध्यक्ष घले छन् भने यसका निर्देशकहरुमा शाक्य, जमुना घले गुरुङ र सुवर्ण कृष्ण श्रेष्ठ छन् । जमुना शेषकी श्रीमती हुन भने सुवर्ण शाक्यको आईईजीका साझेदार हुन् ।

आईईजीले कुपन्डोल हाइटमा समिट होटलाई पुनः सञ्चालनको तयारी गरिरहेको छ भने एयरपोर्ट होटल सञ्चालमा छ । स्वानिग:मा आईईजीका तर्फबाट एयरपोर्ट होटलको पनि लगानी जोडिएको शाक्यले बताए ।

भक्तपुरमा खर्चालु पर्यटक आकर्षित गर्ने, पर्यटनको नयाँ गन्तव्य विकास गर्न र ५/७ दिनसम्म बस्ने पर्यटक तान्न स्वानिग:को भूमिका महत्वपूर्ण बनाउने योजना रहेको शाक्यले बताए ।

‘हामीले भक्तपुरमा पर्यटकको नयाँ गन्तव्य विकास गर्न र लामो सयम पर्यटकलाई रोक्न रिसोर्टले भूमिका खेल्छ,’ शाक्यले क्लिकमान्डुसँग ने, ‘यहाँबाट स्वनिग: अर्थात काठमाडौं, भक्तपुर र ललितपुरको मनोरम दृश्यावलोकन समेत गर्न सकिन्छ । यी तीनै सहर झल्कने गरि रिसोर्ट बन्ने छ ।’

उनले रिसोर्टको लागि जग्गा खोजी गर्ने, डिजाइन बनाउनेदेखि निर्माण सुरु गर्नेसम्ममा २/३ वर्ष नै लाग्ने बताए । रिसोर्ट बनाउन आवश्यक तयारी पूरा भएकोले अब भूमिपूजा गरेर अगाडि बढ्न लागिएको हो । दुई दशक अघि नै किनिएको १ सय रोपनी क्षेत्रफलको जग्गामा ६० वटासम्म भिल्ला रहने यो रिसोर्टमा ६ अर्ब रुपैयाँसम्म खर्च लाग्ने अनुमान शाक्यको छ ।

रिसोर्टको निर्माणसँगै अन्तर्राष्ट्रिय चेन भित्र्याउने तयारी लगानीकर्ताहरुको छ । यसका लागि विभिन्न नाम चलेका होटल ब्राण्डसँग कुरा भइरको छ । केही होटलको चेनसँग डिजाइनमै प्रतिस्पर्धा भएको छ । उत्कृष्टमध्येबाट एउटालाई छानेर रिसोर्ट व्यवस्थापनको जिम्मा दिइने भएकोले अहिले नै कुन हुन्छ भनेर भनिहाल्न नसकिने उनले बताए ।

वेलनेस, लाइफस्टलाई ध्यान दिँदै, योगा, साइक्लिङ, हाइकिङ, सेमिनारसहितको पर्यटकीय गतिविधिलाई दृष्टिगत गरेर रिसोर्ट ल्याउन खोजिएको शाक्यले बताए । उनका अनुसार नेपाली कला, संस्कृति, संगीत संस्कृतिलाई समेत प्रवद्र्धन गर्ने गरी रिसोर्ट बन्ने छ ।

एमआईटीसँग आईईजीसँगको पहिलो सहकार्य गरेका शाक्यले थप योजनामा लगानी गर्दै जाने पनि बताए।

हाल रिसोर्ट सञ्चालनका लागि चार जनाको बराबार हिस्सेदारीमा काम सुरु गरेको र यसले काम गरेर देखाउँदै थप योजना अगाडि सार्ने योजना समेत बनाएको शाक्यले बताए ।

नेपाली कला, संस्कृति, संगीत, रीति, रिवाज, वेलनेससहितलाई प्रवद्र्धन गर्ने मुख्य गन्तव्य यो रिसोर्ट हुने हुने छ । ह्युमेन आर्ट अर्थात मान्छेले मन पराउने कला संस्कृति रिसोर्टमा हुने उनले बताए । यो रिसोर्ट बनाउन सुरु गरेको ३ वर्षसम्ममा संरचाना तयार पारिसक्ने तयारी भएको शाक्यले बताए ।

घलेले केशरमहलमा पाँचतारे होटल शेराटन काठमाडौं बनाइरहेको छन् । होटलको संरचना तयार भइसकेको भए पनि लागत अधिक बढ्दै गएका कारण यो होटल अझै सञ्चालनमा आउन भने सकेको छैन ।