पार्टी सभापतिको जिम्मेवारीमा फर्किँदै रवि लामिछाने

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको जिम्मेवारीमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टी गतिविधिबाट अलग भएका थिए ।

सोमबार दिउँसो बसेको केन्द्रीय समितिको विशेष बैठकले लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी फर्काउने तयारी गरेको छ।

कार्यवाहक प्रवक्ता मनिष झाले घण्टीघरस्थित पार्टी कार्यालयमा निरन्तर दुईवटा बैठक बस्ने जनाएका छन् ।

पहिलो बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले धन्यवाद ज्ञापन गर्ने र दोस्रो बैठकको सभापतित्व लामिछानेले सम्हाल्ने छन् ।

बैठकमा पार्टी र संसद्‌का गतिविधिबारे समीक्षा गरिनुका साथै सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ प्रस्तुत गरिएको छ ।

बैठकमा लिडरसिप एकेडेमीको फ्लोचार्ट, देशव्यापी जनजागरण तथा बहस कार्यक्रम, जनयात्रा योजना, अधिवेशन/महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुने छ ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अभियोगपत्र दायर भएपछि उनले पुस ८ गते पार्टी जिम्मेवारीबाट अलग भएका थिए । त्यसपछि पार्टी सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।