तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष

889
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा भएको आक्रमणको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टी पदाधिकारी बैठकले पूर्वराजाको निर्देशनमै प्रदर्शन आयोजना गरिएको र त्यस क्रममा अराजकता फैलाइएको आरोप लगाएको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राजावादीहरूको पूर्वयोजनाअनुसार निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याइएको बताए । उनका अनुसार गृहमन्त्री रमेश लेखकले बैठकमा शुक्रबारको घटनाबारे जानकारी गराएका थिए । गृहमन्त्री लेखकले प्रहरीले राजावादीहरूको सभास्थलमा गोली वा अश्रुग्यास प्रहार नगरेको दाबी गरेका थिए ।

प्रवक्ता महतले भने, “राजावादीहरूले लक्षित आक्रमण गरे । निजी घर, व्यापारिक भवन तथा मिडिया हाउसमा तोडफोड गरे, जुन कांग्रेसले कडा शब्दमा भर्त्सना गर्छ । यो घटना निरंकुश शासन लाद्ने मनसायसहित योजनाबद्ध रूपमा घटाइएको छ । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ ।”

कांग्रेसले पूर्वराजाकै निर्देशनमा तीनकुनेमा हिंसात्मक गतिविधि गराइएको आरोप लगाउँदै तोडफोड र आगजनीमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । साथै, घटनाको विस्तृत समीक्षा गर्न छिट्टै सर्वदलीय बैठक आह्वान गरिने प्रवक्ता महतले जानकारी दिए ।