
काठमाडौं । राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार राजावादी प्रदर्शन हिंसात्मक बन्दा ठूलो क्षति पुगेको छ । संविधानिक राजतन्त्र पुनःस्थापनाको माग गर्दै सुरु भएको प्रदर्शन लुटपाट, आगजनी र तोडफोडमा परिणत हुँदा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । कयौं घर र सवारी साधनमा आगजनी भएको छ भने नीजि सम्पतिमा क्षति पुर्याइएको छ ।
राजावादीहरुको हिंसात्मक समूहले तीनकुनेस्थित कान्तिपुर र अन्नपूर्ण पोस्टमा आक्रमण गरे । उनीहरुले तीनकुने, कोटेश्वर, जडिबुटी क्षेत्रका विभिन्न भागमा पार्किङ गरिएका गाडीहरूमा आगो लगाएका छन् ।
राजावादीको निशानामा ठूला व्यवसायी र भवनसमेत परेका छन् । भाटभटेनी सुपरमार्केटमा राजावादीको अराजक समूहले लुटपाट मच्चाएको छ । भिडियो फुटेजहरुमा मानिसहरु महँगा सामग्रीहरु लगिरहेका छन् । पार्किङमा राखिएका सवारीमा तोडफोड गरिएको छ । तोडफोड र चोरीमा संलग्नहरुको भिडियो विभिन्न सामाजिक सञ्जाल र सिसीटीभी फुटेजमा स्पष्ट देखिएको छ ।
यस हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये एक जना प्रदर्शनकारी हुन् भने अर्का एक पत्रकार रहेका छन् । झडपमा परि करिब ३० जना घाइते भएका छन् ।
राजावादी आन्दोलनका कमाण्डर विवादित व्यवसायी दुर्गा प्रसाईं थिए । उनले भीडलाई उक्साएपछि र प्रहरीलाई गाडीले ठोक्ने उद्देश्यले सवारी चलाएको भिडियो सार्वजनिक भएको छ । अश्लिल शव्दहरुले प्रहरीमाथि गाली गर्दै उनले भीडलाई थप हिंसात्मक बनाएका थिए । उनले भीडलाई सुरक्षाकर्मीहरूसँग भिड्न र सम्पत्ति तोडफोड गर्न उत्तेजित गरेका थिए । जसको परिणाम तीनकुने क्षेत्रले भोगेको छ ।
घटनापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा कर्फ्यु नै जारी गरेको छ ।
त्यसपछि पनि जडिबुटी क्षेत्रमा औषधि उद्योगमा तोडफोड गरिएको भने सवारी कयौं सावरी साधनमा आगो लगाइएको छ । त्यहाँका कर्मचारीले भागेर ज्यान जोगाउनु पर्ने अवस्था आयो ।
तीनकुनेको भित्रिभाग र कोरिडोर क्षेत्रमा समेत रोकिएका गाडीहरु जलाउने काम राजावादी अराजक समूहले मच्चाएको छ ।
प्रतिक्रिया