बुद्धिष्ट एजुकेशन भवन निर्माणमा लापरबाही, तत्काललाई रोक्न उपप्रमुख डंगोलको निर्देशन

1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन समितिले वडा नम्बर–१५ को किमडोलमा निर्माण भइरहेको धर्मकिर्त विहारको स्वामित्वमा भएको बुद्धिष्ट एजुकेशन भवनको काम तत्काललाई रोक्न निर्देशन दिएको छ ।

अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख सुनिता डंगोलले स्थलगत निरीक्षणका क्रममा यस्तो निर्देशन दिएकी हुन् । विज्ञ टोली लिएर उक्त स्थानमा पुुगेकी डंगोलले सम्झौता अनुसार काम नभएको भन्दै निरीक्षणछि भवन निर्माणको काम रोक्न निर्देशन दिइन् ।

२०८२ भदौ २२ सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको सो भवन ५६ लाख ५८ हजार ३ सय ७२ रुपैँया भ्याट बाहेक निर्माण निर्माण सम्झौता भएको हो । डंगोलले सम्झौता अनुसार काम नभएपछि तत्कालका लागि निर्माणको काम रोक्न निर्देशन दिएको जानकारी दिइन् ।

‘भवन निर्माणका क्रममा भर्याङ नमिलेकाले भत्काउनु पर्ने अवस्था देखियो । त्यसैगरी फर्मामुनि इट्टा राख्नेलगायतका काममा पनि लापरवाही भएको पाइयो,’ उपप्रमुख डंगोलले भने, ‘अनुगमन गर्दा काम सन्तोषजनक नदेखिएपछि अर्को पटक काम सुरु गर्नुभन्दा अगाडि पुनः अनुगमन गर्ने र त्यसपछि मात्रै भवन निर्माणको काम थाल्ने भनेर निर्देशन दिएका छौँ ।’

उनले सम्झौता अनुसार सबै कामहरु सुधार नगरेसम्म रकम निकासा नगर्ने जानकारी दिइन् । ढलान गरेको ठाउँमा पानी हाल्ने लगायतका काममा समेत लापरबाही भएको पाइएको उनले जानकारी दिए ।

सुपरभिजन गर्ने आर्किटेक इन्जिनियर र सिभिल इन्जिनियरले पटक–पटक मौखिक निर्देशन तथा सुझाव दिदा समेत सो बमोजिमको कार्य नगरेको भनिएकोले अव उप्राप्त फोकल पर्सन, आर्किटेक इन्जिनियर र सिभिल इन्जिनियर मार्फत् सम्बन्धित विभागबाट लिखित स्वीकृति नगरी कुनै काम अगाडि नबढाउन पनि निर्देशन दिएको छ ।

डंगोलले पछिल्लो समय महानगरपालिकाले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि पूर्वाधार अनुगमनलाई नियमित गर्दै आएको भन्दै यो अनुगमन पनि नियमित भएको जानकारी दिइन् ।

‘हामी अनुगमनमा पूर्व जानकारी विना नै जाने गरेका छौँ । आज पनि हामी पूर्वजानकारी विना नै त्यहाँ पुगेका थियौँ । प्राविधिक टीमसहित त्यहाँ पुगेर अनुगमन गर्दा कमजोरी पाएपछि रोक लगाएका हौँ,’ उनले भनिन् ।

उनले अनुगमनको काम परियोजनाहरु सम्पन्न भएपछि मात्रै होइन परियोजनाहरु सुरु हुँदै गर्दा पनि गर्नुपर्छ र त्यसले गुणस्तरीय संरचना निर्माणमा सहयोग पुग्छ भनेर निर्माण पूर्व पनि अनुगमन नियमित गर्दै आएको जानकारी पनि दिइनु् ।