
काठमाडौं । कोरोना महामारीबाट बच्न आजभन्दा पाँच वर्षअघि अर्थात २०७६ साल चैत ११ गते सरकारले पहिलो पटक देशव्यापी लकडाउन घोषणा गरेको थियो । सुरूमा एक साताका लागि घोषणा गरिएको लकडाउन क्रमशः थप्दै ५ महिना पुग्यो। यसबाट हरेक क्षेत्रमा नराम्ररी असर पर्यो।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले चालेको यो कदमले नेपाली समाज, अर्थतन्त्र र जनजीवनमा गहिरो असर पार्यो ।
नेपालमा पहिलो पटक २०७६ माघ ९ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । चीनको वुहानबाट फर्केका एक विद्यार्थीमा संक्रमण देखिएपछि सरकारले सुरुवाती सतर्कता अपनायो ।
महामारी विश्वभर फैलिरहँदा नेपालले कडा रणनीति अवलम्बन गर्ने निर्णय गर्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लकडाउन घोषणा गरेको थियो । त्यसक्रममा सबै प्रकारका आवागमन बन्द गरिएको थियो । उद्योग, व्यापार, कलकारखाना, होटल तथा पर्यटन क्षेत्र पूर्ण रूपमा बन्द भए ।

विद्यालय, कलेज तथा विश्वविद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएको थियो ।
देशको अन्तर्राष्ट्रिय सीमा अर्थात भारत र चीनसँगको सिमानाहरू सिल गरिएका थिए । अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू बन्द गरिएका थिए ।
मानिसहरु घरभित्र त्रासमा बस्न बाँध्य थिए । मुख्य शहरी क्षेत्रमा बसोबास गर्दै आएकाहरु कयौं दिनको पैदल यात्रामा गाउँ फर्किए ।

लकडाउनको मुख्य उद्देश्य कोरोना संक्रमण रोक्ने भए पनि यसले नेपालको अर्थतन्त्रलाई कमजोर बनायो । लाखौं नेपाली बेरोजगार भए, उद्योगहरू बन्द भए र व्यापार व्यवसायमा ठूलो गिरावट आयो ।
नेपालमा कोभिड-१९ महामारीको बेला सबैभन्दा कमजोर अवस्था स्वास्थ्य प्रणालीमा देखिएको थियो ।
अस्पतालहरूमा आईसीयू बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भयो । अस्पतालमा बेड नपाएर बिरामीहरु सरकारी अस्पतालका चौर र बाहिर पेटीमा उपचार गराउन बाध्य भए । कतिपयले उपचार नपाएरसमेत ज्यान गुमाउने अवस्था बनेको थियो ।
नेपालमा कोभिड-१९ संक्रमणको पहिलो लहर अपेक्षाकृत सामान्य थियो तर दोस्रो र तेस्रो लहर भयावह बन्यो ।
नेपालमा कोरोना महामारीले ११ लाख ३३ हजारभन्दा बढी संक्रमित भए भने १२ हजार २०० भन्दा बढीले ज्यान गुमाएका छन् ।
नेपाल मात्र होइन सारा विश्व नै कोभिड-१९ महामारीबाट प्रभावित बन्यो । विश्वभर करिब ७० करोड मानिस कोरोना संक्रमित भए भने ७० लाखभन्दा बढीले ज्यान गुमाए । विश्वका शक्तिशाली मुलुकहरु पनि कोरोना महामारीले नराम्री प्रभावित भए । अमेरिका, चीन, भारत, ब्राजिल, इटाली, फ्रान्स, रसियाजस्ता देशहरू महामारीबाट सबैभन्दा प्रभावित भए।
महामारीले नेपालमा कृषि, पर्यटन, होटल, बैंकिङ, वैदेशिक रोजगारी, उद्योग, शिक्षा, साना व्यवसायहरूलाई मुख्य प्रभाव पार्यो।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार महामारीका कारण २५ लाख ७० हजार नेपालीले रोजगारी गुमाए । महामारीका कारण ७ प्रतिशतभन्दा बढी आर्थिक संकुचन भयो । कृषि, पर्यटन, होटल व्यवसाय र अन्य उत्पादनमूलक क्षेत्रहरूमा ठूलो गिरावट आयो।

रोजगारीमा गम्भीर असर
संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार लकडाउनका कारण २५ लाख ७० हजार नेपालीले रोजगारी गुमाए । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार कोभिड-१९ को प्रभावले ३७ लाख नेपाली श्रमिक बेरोजगार बने ।
नेपाल राष्ट्र बैंकका अनुसार महामारीका कारण औद्योगिक उत्पादन २.२७ प्रतिशतले घट्न गयो । ६३.७ प्रतिशत घरेलु उद्योग, ६१.८१ प्रतिशत खुद्रा व्यापार, ६३.६९ प्रतिशत साना व्यवसायहरू बन्द भए ।
लकडाउनको समयमा खाद्य आपूर्ति प्रभावित भयो । धान उत्पादनमा कमी आयो ।
नेपालको पर्यटन क्षेत्र लकडाउनपछि धराशायी बन्यो । २०२० लाई ‘पर्यटन वर्ष’ घोषणा गरेको नेपालले २० लाख पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको थियो । तर, कोभिडले यसलाई ध्वस्त पारिदियो । २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएका थिए भने २०२० मा यो संख्या २ लाख ३० हजारमा झर्यो । होटेल, ट्र्याभल एजेन्सी र गाईडहरूको आय शून्य भएपछि ४ लाख श्रमिक बेरोजगार भए ।
हिमालय आरोहण, ट्रेकिङ तथा साहसिक पर्यटन ठप्प बन्न पुग्यो ।
करिब ४३ लाख नेपाली विदेशमा काम गर्ने गरेका अनुमान गरिएको थियो । जसमध्ये ७५.५ प्रतिशत अदक्ष श्रमिक छन् । कोभिडले मध्यपूर्व र मलेसियामा रोजगारी घटाउँदा ६ लाख युवा नेपाल फर्कन बाध्य भए ।
विश्व अर्थतन्त्रमा संकुचन
विश्व बैंकका अनुसार महामारीका कारण सन् १८७० पछिकै सबैभन्दा ठूलो आर्थिक गिरावट २०२० मा भयो । विश्व अर्थतन्त्र ४.९ प्रतिशतले घट्योभने विकसित देशहरूको अर्थतन्त्र ७ प्रतिशतले संकुचित भयो । विकासोन्मुख देशहरूको अर्थतन्त्र २.५ प्रतिशतले घट्यो ।

विश्वभर २२ करोडभन्दा बढी मानिस बेरोजगार हुँदा दक्षिण एसियामा करिब ४ करोड मानिस रोजगारीबाट बाहिरिए । अन्तर्राष्ट्रिय व्यापार २० प्रतितभन्दा बढीले घट्यो ।
लकडाउनका कारण नेपाली समाजमा प्रविधिको प्रयोग भने बढ्यो । डिजिटल भुक्तानी प्रणाली लोकप्रिय बन्न गयो । अनलाइन शपिङ, मोबाइल बैंकिङ र इ-कमर्सको प्रयोग उल्लेखनीय रूपमा बढ्यो । वर्क-फ्रम होम संस्कृति विकास हुन पुग्यो ।
लकडाउनका समयमा तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी






































प्रतिक्रिया