
काठमाडौँ । विश्व पानी दिवस २०२५ को अवसरमा सिद्धार्थ बैंकले पहिलो पटक प्रभातफेरी कार्यक्रम ‘वाकाथन’ आयोजना गरेको छ ।
“पानी बचाऊ, भविष्य जोगाऊ” भन्ने नारासहित नक्साल नारायणचौरबाट सुरु भएको ५ किमि लामो यो कार्यक्रम दरबारमार्ग, रत्नपार्क, बागबजार, पुतलीसडक, हात्तीसार हुँदै पुनः नारायणचौरमै सम्पन्न भएको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलसहित बैंकका कर्मचारी, सरोकारवाला, वातावरणविद्, विद्यार्थी लगायत ६५६ जनाको सहभागिता रहेको थियो । सहभागीमध्ये ३९५ जना पुरुष र २६१ जना महिला थिए ।
सिद्धार्थ बैंकले उक्त वाकाथनमार्फत वातावरण संरक्षण, स्वच्छ पानीको दिगो व्यवस्थापन र जलस्रोतको संवद्र्धनका विषयमा जनचेतना फैलाउने उद्देश्य राखेको जनाएको छ । बैंकले हरित वित्त, डिजिटल बैंकिङ, सामाजिक उत्तरदायित्व र पारदर्शी कारोवारमार्फत दिगो विकास लक्ष्यहरू हासिल गर्ने दिशामा काम गर्दै आएको उल्लेख गरेको छ ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत कडेलले नेपालको हिमनदीहरू पग्लँदै जानु गम्भीर पर्यावरणीय संकट भएको बताउँदै यसको संरक्षण अब राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय अभियानको हिस्सा हुनुपर्ने धारणा व्यक्त गरे । उहाँले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिँदा प्राकृतिक पानी चक्र नै विघटनमा जान सक्ने खतरा रहेको भन्दै स्वच्छ पानीको संकट रोक्न आजैदेखि चेतनाको आवश्यकता रहेको बताए ।
संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसको रूपमा मनाउँदै आएको छ । यस वर्षको मूल एजेण्डा “हिमनदी संरक्षण” रहेको छ, जसअन्तर्गत सिद्धार्थ बैंकले जिम्मेवार बैंकिङ अभ्यासमार्फत पानीको संरक्षणलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरेको हो ।








प्रतिक्रिया