
कास्की । पोखरा महानगरपालिका वडा नम्बर २१ मा पोखरी मिचेर घर बनाउन खोज्ने विषयलाई लिएर स्थानीय भूपेन्द्र गिरीले वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहारको प्रयास गरेका छन् ।
शनिबार वडाध्यक्ष सुवेदी नगर प्रहरीसहित उक्त स्थानमा पुगेका थिए। नगर प्रहरीले पोखरीमाथि बनाइँदै गरेको घर रोक्न खोज्दा गिरीले उनीमाथि रड प्रहार गर्न खोजेको सुवेदीको भनाइ छ ।
एक हप्तादेखि पोखरी नमिच्न आग्रह गर्दै आएको भए पनि गिरीले अटेर गरेर पोखरीमै संरचना बनाउन थालेपछि आफू शनिबार नगर प्रहरीसहित पुग्दा रडले हान्न खोजिएको सुवेदीको भनाइ छ ।
वडाअध्यक्षलाई रड प्रहार गर्न खोजेका गिरीको हात स्थानीयले समातेको उनले बताए ।
उक्त पोखरी पोखरा–२१ निर्मलपोखरीस्थित बाँझी पोखरी हो र जसलाई हिउँदमा गाई–भैंसीलाई पानी खुवाउन प्रयोग गरिन्थ्यो।
घटनापछि वडाध्यक्ष सुवेदीले आइतबार वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका छन् । उनले गिरीविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया