रघुजी पन्तले राजाको आलोचना गर्दा ज्ञानेन्द्र शाहीले बिरोध गरेपछि

1.8k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्त र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच भनाभन भएको छ। पन्तले विशेष समय लिएर बोल्दै गर्दा शाहीले उठेर विरोध जनाएपछि सभामुखले हस्तक्षेप गरेका थिए ।

आफ्नो सम्बोधनमा पन्तले इतिहास कोट्याउँदै नेपालको राजतन्त्रको नकारात्मक चित्रण गरेका थिए । पृथ्वीनारायण शाह हुँदै राजा त्रिभुवनको प्रसङ्ग उठाउँदा शाहीले उठेर प्रतिवाद गरे । पन्तले राजा त्रिभुवन भारत प्रवासमा रहेका बेला विभिन्न ठाउँमा ‘रसरंग मच्चाएको’ र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नै आलोचना गरेको दाबी गरे ।

शाहीले भने बिनाप्रमाण आधारहीन कुरा संसद्मा नबोल्न चेतावनी दिए । उनले राजाहरूको विषयमा जथाभावी बोल्न नपाइने बताए । जवाफमा पन्तले भने, ‘के बोल्न पाइन्छ मलाई थाहा छ । इतिहास पढेर आउनुस् महोदय, जुम्लामा हा हु गरेजस्तो होइन’

सभामुख देवराज घिमिरेले शाहीलाई बोल्न समय नदिएको भन्दै बस्न आग्रह गरे । शाही नबसेपछि सभामुखले केहीबेर सम्झाए । पन्तले आफूलाई बोल्न डिस्टर्व गरिएको भन्दै समयको हिसाब गर्न माग गरे, जसअनुसार सभामुखले उनलाई थप समय प्रदान गरे ।

पन्तले विश्वभर राजतन्त्र षडयन्त्रको उपज भएको टिप्पणी गरे । उनले राजतन्त्र इतिहास भइसकेको भन्दै संसद्मा यसबारे बहस नगर्न सभामुखको ध्यानाकर्षण गराए । ‘त्रास खडा गरेर वातावरण बिगारिन्छ भने प्रतिपक्ष त सडकमा गइसक्यो, सत्तापक्ष सडकमा आउने दिन आउन सक्छ,’ पन्तले चेतावनी दिए ।