विमानमा पावर बैंक बोक्न किन भइरहेको छ कडाइ ?


एजेन्सी । दक्षिण कोरियाका स्थानीय अधिकारीहरूले एयरबस ए३२१ सीईओमा आगलागी हुनुको कारण पावर बैंक भएको बताएका छन् ।

२८ जनवरी २०२५ मा गिम्हाइ अन्तर्राष्ट्रिय विमानस्थलमा एयर बुसानको यात्रु विमानमा आगलागी भएको थियो । यस घटनामा तीन जना सामान्य रूपमा घाइते भएका थिए ।

दक्षिण कोरियाको यातायात मन्त्रालयले १४ मार्चमा जारी गरेको रिपोर्टअनुसार पावर बैंकमा समस्या देखिएपछि विमानमा आगलागी भएको हो । पावर बैंक विमानको माथिल्लो भागमा रहेको थियो जहाँबाट आगो सुरु भएको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार आगलागी भएको स्थानबाट पावर बैंक भेटिएको छ जसमा डढेका दागहरू देखिएका छन् । तर, अझै पनि पावर बैंकको ब्याट्रीमा खराबी किन आयो भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

महत्त्वपूर्ण कुरा के छ भने यो रिपोर्ट केवल प्राथमिक अनुसन्धान प्रतिवेदन हो । अझै पनि विमानको अन्तिम जाँच रिपोर्ट आउन भने बाँकी छ ।

क्याबिन लगेजमा पावर बैंक प्रतिबन्धित

सुरक्षाका कारण विश्वभरका विमान कम्पनीहरूले आफ्नो उडानमा पावर बैंक बोक्ने सम्बन्धी नियमहरू जारी गरिरहेका छन् ।

पावर बैंकमा लिथियम आयन ब्याट्री हुन्छ । यसले अत्यधिक ताप उत्पन्न गर्न सक्छ । यदि कुनै खराबी भयो भने यसबाट सर्ट सर्किट हुने सम्भावना पनि हुन्छ ।

सन् २०१६ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले यात्रु विमानहरूमा क्याबिन लगेज (बोक्ने ब्याग) मार्फत पावर बैंक लैजान प्रतिबन्ध लगाएको थियो ।

दक्षिण कोरियामा भएको यो घटनापछि एयर बुसानका अधिकारीहरूले पनि सुरक्षा उपायहरूलाई कडा बनाएका छन् ।

अधिकारिहरूले अब यात्रुहरूले आफ्नो झोलामा पावर बैंक लैजान नपाउने घोषणा गरे ।

एक अप्रिलदेखि पावर बैंकमा प्रतिबन्ध

सिंगापुर एयरलाइन्सले एक अप्रिल २०२५ देखि विमानमा पावर बैंकको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसैगरी, चाइना एयरलाइन्स र थाई एयरलाइन्सले पनि यस्तै नियम लागू गर्दैछन् ।

लिथियम ब्याट्रीका कारण जहाजहरूमा आगलागीको घटना यसअघि पनि भइसकेका छन् । मार्च २०१७ मा, अस्ट्रेलियाको मेलबर्नबाट बेइजिङ जाँदै गरेको विमानमा एक महिलाको हेडफोन विस्फोट भएको थियो जसले उनको अनुहार जलेको थियो । महिला हेडफोन पड्केको आवाज सुनेर ब्युँझिएकी थिइन् , अनि त्यसलाई तुरुन्तै फर्शमा फालिदिएकी थिइन्।

पछि अनुसन्धान गर्दा लिथियम आयन ब्याट्रीमा खराबी आएका कारण यो घटना भएको पुष्टि भएको थियो ।

यसअघि सिड्नी विमानस्थलमा पनि एउटा जहाज रोकिएको थियो । त्यहाँको सामान राख्ने डिब्बाबाट धुवा निस्किरहे पति विमान रोकिएको थियो । पछि थाहा भए अनुसार सामानमा राखिएको लिथियम ब्याट्रीमा आगलागी भएको रहेछ।

आगलागीका घटना किन बढिरहेका छन् ?

सन् २०२२ मा यूकेको वातावरण सेवा सङ्घले प्रकाशन गरेको रिपोर्टअनुसार हरेक वर्ष ७०० भन्दा बढी आगलागीका घटनाहरू फोहोरको थुप्रो वा कचरा व्यवस्थापन केन्द्रहरूमा हुने गर्छन् । यीमध्ये अधिकांश घटनाहरू लिथियम ब्याट्रीका कारण हुने गर्छन्।

लिथियम आयन ब्याट्रीहरू कुनै खराबी वा भाँचिएमा विस्फोट हुन सक्छन् । यी ब्याट्रीहरू केवल पावर बैंकमै नभई टुथब्रस, खेलौना, मोबाइल फोन, ल्यापटप आदि उपकरणहरूमा पनि प्रयोग गरिन्छ ।

लिथियम ब्याट्रीहरू दुई इलेक्ट्रोडहरूले बनेका हुन्छन् जसमा लिथियम आयन कणहरू रहन्छन् । जब ब्याट्री चार्ज गरिन्छ, आयनहरू आफ्नै पुरानो अवस्थामा फर्किन्छन् ।

यदि ब्याट्री बिग्रिएको छैन भने, यसको प्रयोग सुरक्षित हुन्छ । तर, यदि ब्याट्रीका दुई इलेक्ट्रोडहरू आपसमा जोडिए भने विस्फोट हुन सक्छ र ब्याट्रीभित्रको रसायन आगलागीको कारण बन्न सक्छ ।