ट्रम्पको विवादित क्रिप्टोकरेन्सी कोष: ‘सुँगुरको ओठमा लाली’

973
Shares

एजेन्सी । डोनाल्ड ट्रम्प अमेरिकामा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएसँगै त्यहाँ क्रिप्टोकरेन्सी व्यवसायीहरु उत्साही बनेका थिए । त्यसो त ट्रम्प स्वयं पनि क्रिप्टोकरेन्सीको पक्षमा उभिँदैआएका थिए ।

विश्वभर धेरैजसो देशमा अवैध मानिएको क्रिप्टोकरेन्सीलाई अमेरिकामा व्यवस्थित बनाएर त्यसबाट उचित कर उठाउनुपर्छ भन्ने धारण ट्रम्पको रहँदै आएको छ ।

यसबीचमा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै क्रिप्टोकरेन्सीको मूल्य पनि अनपेक्षित रुपमा आकासियो । अफसोस, पछिल्लो समय आधिकारिक सरकारी क्रिप्टोकरेन्सी रिजर्भ स्थापना गर्ने ट्रम्पको घोषणलाई लिएर अर्थविदहरुले कडा आलोचना गरिरहेका छन् ।

हालै उनले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसअन्तरगत उनले एक रणनीतिक बिटक्वाइन रिजर्भ (कोष) साथै डिजिटल एसेट स्टकपाइल निर्माण गरेका छन् । र त्यसमा अन्य प्रकारका डिजिटल मुद्राहरु समावेश गरिएको हुन्छ ।

यसैगरी संघ सरकारको रकम अपचलन गरेर आर्जन भएका रकमलाई आपराधिक कारबाही वा अन्य सजायको रुपमा नियन्त्रणमा लिएर उक्त रकमलाई यस्तो क्रिप्टो धनराशिमा राख्ने पनि बताइएको छ ।
ह्वाइटहाउसका विज्ञहरुले भने उक्त रकम वा क्रिप्टो कोषलाई केन्टकी मिलिटरी बेससँग तुलना गरेका छन् । जवकि उक्त मिलिटरी बेसले अमेरिकी सुन भण्डारलाई सञ्चय गर्ने काम गर्दैआएको छ ।

ट्रम्पको कडा आलोचना:

तर कतिपय क्रिप्टो विज्ञहरुले ट्रम्पको यस्तो कदमको कडा रुपमा आलोचना गरिरहेका छन् । विशेषगरी यस्तो प्रक्रिया अपारदर्शी हुने धेरैको चिन्ता छ । ह्वाइटहाउसका उच्च अधिकारीले भने संघीय सरकारको सबै भण्डारको लेखाजोखा गर्न आदेश दिएका छन् । जवकि संघीय सरकारको भण्डारमा २ लाख बिटक्वाइन रहेको आकलन गरिएको छ । जसको आजको मूल्य १७ अर्ब ५० करोड अमेरिकी डलर हुन्छ ।

कतिपय विशेषज्ञहरुले भने ट्रम्पको निर्णयमाथि निर्मम आलोचना गरिरहेका छन् । क्रिप्टो उद्यमी तथा विज्ञ चाल्र्स एडवार्डले ट्रम्पको निर्णयमा आपत्ति जनाउँदै ‘सुँगुरको ओठमा लिपस्टिक’ भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा उक्त निर्णयबारे यस्तो टिप्पणी गरेका हुन् ।

‘कुनै सक्रिय मुद्रा खरिद नगर्नुको अर्थ यो सरकारसँग पहिले नै रहेको बिटक्वाइन होल्डिङहरुको लागि एक बनावटी शीर्षक मात्रै हो,’ एडवार्डले भनेका छन् ।

ट्रम्पको कार्यकारी निर्णयले अमेरिकी सरकारले थप बिटक्वाइन राशि आर्जन गर्ने र करदातालाई थप भार नदिने साथै सरकारको बजेटलाई सन्तुलित बनाउने लक्ष्य रहेको बताइन्छ ।

क्रिप्टो फर्म ब्लकवक्र्सका सहसंस्थापक तथा क्रिप्टो उद्यमी जेसन यानोविजले भने ट्रम्पको निर्णयलाई ‘भयानक र बेकम्मा’ रहेको संज्ञा दिएका छन् । यस्तो निर्णयले बजारलाई बिगार्ने र जनविश्वास गुमाउने खतरा रहेको भन्दै उनले ट्रम्पलाई सचेत गराएका छन् । साथै ट्रम्पको निर्णयले जोखिम निम्त्याउने उनको चेतावनी छ ।

कतिपय विज्ञहरु सकारात्मक

यद्यपि कतिपय विश्लेषकहरु भने ट्रम्पको निर्णयबाट खुसी देखिएका छन् । उनको यो फैसलाले क्रिप्टो पुँजी बलियो बनाउने तर्क सरकार समर्थकहरुको छ ।

क्रिप्टो विज्ञ तथा एजे बेलका लगानी निर्देशक रस मोल्डले क्रिप्टो पुजी खरिद गर्नुभन्दा यसरी भएकै पुँजीलाई व्यवस्थित गर्नु उपयुक्त भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पको फैसलाले अन्तत अमेरिकी करदातालाई लाभ नै मिल्ने सरकार समर्थित उद्यमी तथा विज्ञहरुको तर्क छ । यससँगै अमेरिकी सरकारले बिटक्वाइन खरिद नगर्ने ट्रम्पको भनाइले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बजारमा मूल्य ५ प्रतिशतले गिरावट आएको छ ।

यसैगरी वित्तीय संकटको संकेतका बीच कतिपय देशहरुले राष्ट्रिय पुँजीको सञ्चयलाई कायम राखेका छन् । जवकि ट्रम्पले यसै साताको सुरुमै पाँचवटा क्रिप्टोकरेन्सीलाई राष्ट्रिय पुँजीमा समावेश गर्ने जानकारी दिएका थिए । र उनको घोषणासँगै बिटक्वाइन, एथेरियम, एक्सआरपी, सोलाना र कार्डानोको बजारमा मूल्यमा उछाल आएको छ ।

यही शिलशिलामा विश्लेषक यानोविजले भने सरकारलाई विजेता चयन गरे जस्तो कदम नचाल्न सुझाव दिएका छन् ।