एन्टक र अपाचे बेच्ने जगदम्बाको व्यापार एक वर्षमा झन्डै दोब्बरले बढ्यो

168
Shares

काठमाडौं । जगदम्बा अटो ग्रुप प्रालि (जेएपिएल)ले आफ्नो व्यापारलाई एक वर्षमै झन्डै दोब्बर बनाएको छ । सन् २०२३ मा २ अर्ब ७३ करोड ७० लाखको व्यापार गरेको जगदम्बाले सन् २०२४ मा वर्षमा झन्डै दोब्बर कारोबार गरेको हो ।

सन् २०२४ मा जगदम्बाले ४ अर्ब ८५ करोडको व्यापार गरेको छ । जगदम्बाको व्यापार मात्र नभएर सञ्चालन नाफा दर पनि बढेको छ ।

सन् २०२३ मा जगदम्बाको सञ्चालन नाफा दर ८.१६ थियो । त्यसमा यो वर्ष बढेर ८.२२ पुगेको छ । जगदम्बाले सन् २०२२ मा भने उल्लख्य आम्दानी गरेको थियो । उक्त वर्ष जगदम्बाको व्यापार ३ अर्ब ४३ करोड १० लाख रहेको थियो ।

डिसेम्बर २०१४ मा स्थापना भएको जगदम्बा अटो ग्रुप व्यापारका साथै नेपालमा टीभीएस ब्रान्डमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन एसेम्बल गरेर उत्पादन गर्दै आएको छ।

त्यस्तै सवारी साधनका सामग्रीहरु बिक्री गर्ने र मर्मत गर्ने काम पनि यो कम्पनीले गर्दै आएको छ ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा कम्पनीमा शाहिल अग्रवालले नेतृत्व गरिरहेका छन् । जगदम्बाले दीर्घकालीन ऋणका लागि ३ करोड ९६ लाख ७० हजार रूपैयाँ बराबरको रेटिङ गराएको छ ।

इन्फोमेरिकले यसमा कम्पनीलाई ‘बीबी प्लस’ रेटिङ दिएको छ । जगदम्बाले अल्पकालीन ऋणका लागि १ अर्ब ४५ करोड ७० लाखको रेटिङ गराएको छ ।

२०२४ मा जगदम्बाले चारवटा नयाँ शोरूम खोलेको छ जसले व्यापारमा वृद्धि भएको छ । त्यस्तै ५० भन्दा बढी नयाँ सर्भिस स्टेसनहरू स्थापना गरिएका छन् जसले बजार पहुँच बढाएको र ग्राहकहरूको विश्वास जित्न सहयोग गरेको जनाइएको छ ।

विद्युतीय गाडीहरूको माग बढ्दै गएपछि कम्पनीले विद्युतीय सवारी आयात गरेको छ जसले व्यापारमा वृद्धि भएको उल्लेख गरिएको छ । कम्पनीले प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास ७’ नेपाली बजारमा भित्र्याएको छ भने विद्युतीय स्कुटर आई-क्युब इभीको पनि बिक्री वितरण गरिरहेको छ । पछिल्लो समय विद्युतीय सवारीमा आकर्षण बढ्दो छ ।