विमानस्थलमा दुई पांग्रे सवारीले प्रतिघण्टा ४० रुपैयाँ तिर्नुपर्ने गरी पुनः ठेक्का आह्वान

1.4k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गर्ने यात्रुले पुनः चर्को शुल्क तिर्नु पर्ने गरी पार्किङको ठेक्का लाग्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पांग्रे सवारी साधनलाई नै प्रतिघण्टा ४० रुपैयाँ तिर्नुपर्ने गरी पार्किङको ठेक्का लगाउने भएको छ ।

प्राधिकरणले लगाएको ठेक्का गत भदौमा सकिएको थियो । नयाँ ठेक्का नलागेकोले प्राधिकरणले यस अघिकै ठेकेदार सिद्धगढी मारुती जेभी प्रालिलाई निरन्तरता दिएको छ । अब भने प्राधिकरणले नयाँ ठेकेदार छनोट गर्ने र जसले बढी रकम कबोल गर्छ उसैलाई दिने तयारी गरेको छ ।

प्राधिकरणले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल अगाडि र विमानस्थलको अपरेसन/एयरलाइन्स भवन अगाडिको ७ हजार ७५५ वर्गमिटरमा पार्किङ गर्न पाउने गरी ठेक्का आह्वान गरेको छ । प्राधिकरणले आइतबार मागेको ठेक्का लागि ३० दिनको समय दिएको छ ।

प्राधिकरणले मागेको यो पार्किङको ठेक्काको लागि न्यूनतम १२ करोड ९८ लाख रुपैयाँ कबोल गर्नुपर्ने छ । सो भन्दा बढी रकम जुन कम्पनीले दिन्छ उसैलाई दिने तयारी भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले अहिलेको कम्पनीको ठेक्का अवधि सकिएकोले नयाँ ठेकदार छनोट गर्न सार्वजनिक आह्वान गरिएको जानकारी दिए । उनले प्राधिकरणको आम्दानीको स्रोत बढाउन विमानस्थल सेवा शुल्क नियमावली २०७८ संशोधन गरेर शुल्क बढाएको पनि बताए ।

प्राधिकरणले २ वर्ष अगाडि नै शुल्क वृद्धिको निर्णय गरेर चालु आवको भदौबाट मात्रै कार्यान्वयन गरेको थियो । प्राधिकरणले १ मंसिर ०७९ देखि विमानस्थलको पार्किङ शुल्क बढाउने निर्णय गरेको भए पनि अस्वभाविक रुपमा वृद्धि गरेको र वायुसेवाका कर्मचारीलाईसमेत अनिवार्य पार्किङ शुल्क असुल गर्ने व्यवस्था गरेको हो । सोही बढेको शुल्कमा पुनः ठेक्का गरेर नयाँ कम्पनी छनोटको तयारी उड्डयन प्राधिकरणले गरेको हो ।

नयाँ पार्किङ शुल्कअनुसार त्रिभुवन विमानस्थलमा मोटरसाइकल तथा स्कुटर पार्किङ गरेको प्रतिघण्टा ४० र प्रतिदिन २४० रुपैयाँ तोकिएको छ । यही शुल्क अब आउने ठेकेदारले पनि लिन पाउँछन् ।

कार जिप, भ्यानले प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४८० रुपैयाँ तिर्नुपर्छ । हल्का सवारी साधानले प्रति घण्टा एक सय रुपैयाँ, प्रति दिन ६८० रुपैयाँ, बस ट्रकले प्रति घण्टा १५० रुपैयाँ र प्रति दिन नौ सय रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने छ । शुल्कलाई आधार बनाएर प्राधिकरणले नयाँ ठेकेदार छनोट गर्दै छ ।

Skip This