
काठमाडौं । नेपालको निर्यात चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा ४६.५० प्रतिशले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा चालु आवको पहिलो सात महिनामा नेपालले ४० अर्ब ३७ करोड रुपैयाँले निर्यात बढाउन सफल भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आवको माघ महिनासम्मको तथ्यांक अनुसार नेपालले यो अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँको निर्यात गरेको छ । यस्तो निर्यात गत आवको सोही अवधिमा ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात गरेको थियो । यस्तो निर्यात गत वर्षको तुलनामा यो वर्षको पहिलो सात महिनामा ४६.५० प्रतिशतको उत्साहपूर्ण बृद्धि भएको देखिएको छ ।
तथ्यांक अनुसार निर्यातसँगै आयात पनि १० प्रतिशतले बढेको छ । माघ सम्ममा नेपालको आयात ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यस्तो आयात गत वर्षको सोही अवधिमा ८ अर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ मात्रै रहेको पनि तथ्यांकले देखाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालको कुल वैदेशिक व्यापार यो अवधिमा १३ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालको आयात र निर्यातको बजार ११ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । नेपालको कुल वैदेशिक व्यापारमा ११.४० प्रतिशत हिस्सा निर्यातको रहेको छ भने आयातको हिस्सा ८८.६० प्रतिशत रहेको पनि तथ्यांकले देखाएको छ ।
पेट्रोलियम पदार्थको आयात डेढ खर्ब
नेपालमा आयात हुने वस्तुमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ रहेको छ । पछिल्लो सात महिनाको तथ्यांक अनुसार पेट्रोलियम पदार्थको आयातको सबैभन्दा हिस्सा सबैभन्दा बढी छ ।
नेपालमा पछिल्लो सात महिनामा १ खर्ब ५० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तो आयातमा सबैभन्दा बढी डिजेल रहेको छ ।
नेपालमा पछिल्लो सात महिनामा ६६ अर्ब रुपैयाँको डिजेल, ३७ अर्ब रुपैयाँको पेट्रोल ३५ अर्ब रुपैयाँको ग्यास र ११ अर्ब रुपैयाँको हवाई इन्धन आयात भएको देखिएको छ ।








प्रतिक्रिया