४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक, घट्न लागेको हो अधिक तरलताको चाप ?

252
Shares

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले मंगलबार ४० अर्ब रुपैयाँ तलरता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार केन्द्रीय बैंकले २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

गत आइतबार पनि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता प्रशोचन गरेको थियो । आइतबार ४० अर्ब तरलता प्रशोचनको लागि निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा बैंकहरुले ३३ अर्ब १५ करोडको लागि आवेदन दिएका थिए । उक्त उपकरणमा लगानी गर्न बैंकहरुले प्रस्ताव गरेको औसत ब्याजदर २.९९९४ प्रतिशत कायम भएको थियो ।

मंगलबार पुनः ४० अर्बको निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको हो । चालु आर्थिक वर्षको सुरुवातबाट नै अधिक तरलता रहेको बैंकिङ प्रणालीमा पछिल्लो केही महिना यता भने उक्त चाप केही कम हुँदै गएको छ । आर्थिक वर्षको सुरुवातमा साढे ३ खर्ब भन्दा धेरै रकम प्रशोचन गरेर केन्द्रिय बैंकमा मौज्दात रहँदै आएकोमा उक्त रकम २ खर्ब ४० अर्बबाट तल झरेको छ । गत सातासम्म २ खर्ब ४९ अर्ब रहेको त्यस्तो रकम आइतबार घटेर २ खर्ब ३८ अर्ब १५ करोडमा झरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनमार्फत अन्तरबैंक ब्याजदर नीतिगत दरको हाराहारीमा कायम राख्ने घोषणा गरेको थियो । तर, केन्द्रीय बैंकले भारित औसत अन्तरबैंक दरलाई निक्षेप संकलन दरको हाराहारीमा मात्रै कामय राख्न सफल भएको छ ।

केन्द्रीय बैंकले निरन्तर रुपमा निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधामार्फत् तरलता प्रशोचन गरिरहेको छ । त्यसका साथै निक्षेप संकलन बोलकबोलमार्फत पनि तरलता प्रशोचन गरेको छ । तर, निरन्तर अधिक तरलता रहेको अवस्थामा अपेक्षित रुपमा कर्जाको माग नभएको र बैंकहरुसँग वैकल्पिक लगानीका क्षेत्र नहुँदा केन्द्रिय बैंकमा निक्षेप राख्नुपर्ने अवस्था छ । जसले चालु आर्थिक वर्षको सुरुवातबाट नै अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि लाग्न सकेको छैन । जबकी मौद्रिक नीतिमा नीतिगत दर ५ प्रतिशत तोकिएको छ ।

पछिल्ला महिनामा कर्जा विस्तारमा केही सुधार देखिएको र निक्षेप वृद्धि सोही अनुपातमा हुन नसकेको तथा नेपाल सरकारले बढाएको आन्तरीक ऋण परिचालनले अधिक तरलताको चाप केही कम भएको हो । यद्यपी अपेक्षित रुपमा कर्जा विस्तार हुन नसक्दा केन्द्रिय बैंकले अझै पनि निरन्तर तरलता खिच्नुपर्ने अवस्था कायम छ । चालु आर्थिक वर्ष लागेपछि मात्रै केन्द्रिय बैंकले २४४१ पटकमा १५० खर्ब ४५ अर्ब तरलता प्रशोचन गरिसकेको छ ।