पाथीभरा केबलकार: सरकार र आन्दोलनरतपक्ष बीच आज विस्तृत वार्ता


काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विषयमा सरकारीपक्ष र आन्दोलनरत ‘नो केबलकार समूह’ बीच आज वार्ता भइरहेको छ ।

सरकार र आन्दोलनरत समूहबीच बिहान ११ बजेपछि वार्ता बसिरहेको हो ।

वार्ता गर्न सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । आन्दोलनरत पक्षले पनि प्राज्ञ अम्बर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

केबलकारको माथिल्लो स्टेसनमा थालिएको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच माघ २२ गते सहमति भएको थियो । सरकारसँगको सहमतिसँगै उक्त समूहले पूर्वका विभिन्न जिल्लामा गरेको चक्काजाम लगायतका कार्यक्रम स्थगित भएको थियो ।

सरकार र आन्दोलनरतपक्षबीच यसअघि ६ बुँदे सहमति हुँदा माघ २७ (आज) पुन: विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो ।

आन्दोलनरत पक्षले पाथीभरामा केबलकार बन्न नहुने अडान राख्दै आएको छ ।